- २४ घन्टामा १,३५९ नयाँ संक्रमित : धेरै संक्रमित रहेको काठमाडौं अति उच्च जोखिममा
- हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, सोलुखुम्बु र ताप्लेजुङ कोरोनामुक्त
देशभर कोरोना संक्रमितको संख्या ४४ हजार दुई सय ३६ पुगेको छ । ७७ वटै जिल्लामा फैलिएको संक्रमणबाट राजधानी काठमाडौं सबैभन्दा धेरै प्रभावित बनेको छ । संक्रमणबाट देशभर ज्यान गुमाउनेको संख्या दुई सय ७१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म काठमाडौंमा संक्रमितको संख्या ६ हजार १० पुगेको छ । तीमध्ये २९ जनाको मृत्यु भएको छ भने आठ सय ५६ जना निको भएका छन् । पाँच हजार एक सय २५ संक्रमित उपचाररत छन् । सरकारले काठमाडौंलाई अति उच्च जोखिमको सूचीमा राखेको छ ।
त्यस्तै, पर्सामा संक्रमितको संख्या दुई हजार चार सय ८८ पुगेको छ । तीमध्ये एक हजार ६ सय २५ जना निको भएका छन् भने आठ सय २५ जनाको उपचार भइरहेको छ । संक्रमणबाट पर्सामा सबैभन्दा धेरै ३८ जनाको मृत्यु भएको छ । तेस्रो नम्बरमा धेरै संक्रमित सर्लाहीमा देखिएका छन् । यहाँ देखिएका दुई हजार ६७ संक्रमितमध्ये एक हजार एक सय ८३ निको भइसकेका छन् । आठ सय ८० संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सर्लाहीमा चारजनाको मृत्यु भएको छ ।
पर्सा र काठमाडौंपछि संक्रमणबाट मोरङमा धेरैको मृत्यु भएको छ । यहाँ १८ संक्रमितको मृत्यु भइसकेको छ । शुक्रबारसम्म जिल्लामा एक हजार आठ सय १२ जनामा संक्रमण देखिएको छ । तीमध्ये आठ सय ९७ निको भइसकेका छन् भने आठ सय ९७ को उपचार भइरहेको छ । त्यस्तै, धनुषा, बारा र रुपन्देहीमा १४–१४ तथा महोत्तरीमा १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।
संक्रमण देखिए पनि हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, सोलुखुम्बु र ताप्लेजुङले नियन्त्रण गरिसकेका छन् । मुस्ताङमा एक, हुम्लामा पाँच, मुगु र सोलुखुम्बुमा १३–१३ तथा ताप्लेजुङमा १८ संक्रमित देखिएका थिए । उनीहरू सबै निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, डोल्पामा देखिएका ६ संक्रमितमध्ये पाँच निको भएर घर फर्किएका छन् भने एकजनाको मृत्यु भएको छ ।

म्याग्दी र मनाङमा दुई–दुई तथा रुकुम पूर्वमा तीन संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मनाङमा तीनजनामा संक्रमण देखिएको थियो । तीमध्ये एकजना निको भइसकेका छन् भने दुईजना उपचाररत छन् । म्याग्दीमा संक्रमण देखिएका ५१ जनामध्ये ४८ निको भएका छन् भने एकजनाको मृत्यु भएको छ । दुईजना उपचार गराइरहेका छन् । त्यस्तै, रुकुम पूर्वमा अहिलेसम्म २७ जनामा संक्रमण देखिएको थियो । तीमध्ये २४ जना निको भइसकेका छन् भने तीनजना उपचाररत छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पहाड र हिमालका २६ जिल्लामा एक सयभन्दा कम संक्रमित देखिएका छन् । सुरक्षाका उपायहरू भरपूर उपयोग गरे यी जिल्लामा संक्रमण फैलन नपाउने चिकित्सकहरूको भनाइ छ ।
संक्रमितको संख्या सयभन्दा कम भए पनि यी जिल्लामा पाँचजनाको मृत्यु भएको छ । दोलखामा ६९ संक्रमित हुँदा दुई तथा रसुवामा १८, म्याग्दीमा ५१ र डोल्पामा ६ संक्रमित हुँदा एक–एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।
सरकारी तथ्यांकअनुसार एक हजारभन्दा माथि संक्रमित भएका १३ जिल्ला छन् । बाँकी ३८ जिल्लामा भने सयभन्दा बढी र एक हजारभन्दा कम संक्रमित छन् । सरकारले एक हजारमाथि संक्रमित भएका जिल्लालाई उच्च जोखिममा राखेको छ ।
२४ घन्टामा थपिए १,३५९ संक्रमित
पछिल्लो २४ घन्टामा देशभर एक हजार तीन सय ५९ संक्रमित थपिएका छन् । त्यस्तै, थप १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै देशभर संक्रमितको संख्या ४४ हजार दुई सय ३६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभर १८ हजार चार सय चार सक्रिय संक्रमित छन् । २५ हजार पाँच सय ६१ जना निको भइसकेका छन् ।
सक्रिय संक्रमितमध्ये सात हजार चार सय ६२ जना घरमै र दश हजार नौ सय ४२ जना विभिन्न अस्पताल तथा सरकारले तय गरेका आइसोलेसनमा छन् । संक्रमितमध्ये एक सय ५१ जना सघन उपचार कक्षमा र २६ जना भेन्टिलेटरमा उपचाररत छन् ।