मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ १९ शुक्रबार २१:५८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालको विदेशनीतिबारे भारत र चीनका विज्ञ के भन्छन् ?

माधव नेपाल भन्छन् : भारतसँग शीर्ष तहमा सम्बाद गरौं

Read Time : > 2 मिनेट
२०७७ भदौ १९ शुक्रबार २१:५८:००

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शीर्ष तहमा संवादमार्फत नेपाल र भारतको सीमा विषय टुंग्याउनुपर्ने बताएका छन् । नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्सद्वारा आयोजित नेपालको विदेशनीतिसम्बन्धी वेबिनारमा शुक्रबार सम्बोधन गर्दै नेपालले राजनीतिक तहमा संवाद हुनुपर्नेमा जोड दिएका छन् । नेपालले छिमेकी मुलुकसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको र एक–अर्काविरुद्ध भूमि प्रयोग हुन पनि नदिने र कुनै पनि गठबन्धनमा सहभागी नहुनेसमेत उनले स्पष्ट पारेका छन् । 

भारत र चीनका विदेश मामिलाविज्ञसमेत सहभागी वेबिनारमा नेपालले  भने, ‘भारतसँग शीर्ष तहमा संवाद गरेर नक्सालगायत कालापानीको विषय टुंग्याउनुपर्छ ।’ नेपालले भारत र चीन दुवैसँग समदूरी नभएर समनिकटता कायम गर्न खोजेको पनि उनको भनाइ थियो । नेपालले चीनसँग कोभिडविरुद्धको खोपको अपेक्षा गरेको पनि उनले बताए । 

नेकपा वरिष्ठ नेतासमेत रहेका  नेपालले आपसी हितमा आधारित भएर संसारका सबै मुलुकसँग नेपालको विदेश नीति सञ्चालन गरिरहेको पनि बताए । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नेपाली जनताले मन नपराउने भन्दै उनले नेपालको संवेदनशीलताको सम्मान गर्न आग्रह गरे । भारत र चीनबीचको असमझदारी संबादबाट टुंग्गाउनुपर्नेमा जोड दिँदै नेपालले भारत र चीनलाई नेपालले आफ्नै आँखाबाट हेर्ने बताए । उनले भने, ‘हामी छिमेकीहरू र विश्वलाई आफ्नै आँखाले हेर्छौँ, अरू कसैको आँखाले हेर्दैनौँ ।’

नेपालसँग वार्ता गर्नुपर्छ : प्राध्यापक लामा
जवाहरलाल नेहरू विश्वविद्यालयका प्रोफेसर एवं नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)का सदस्य रहेका डा. महेन्द्र पी. लामाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इपिजीको प्रतिवेदन बुझ्ने आशा रहेको बताए । उनले भने, ‘हामी प्रतिवेदन बुझाउने पखाईमा छौँ । इपिजीमा विहंगम छलफल भएर सर्वसम्मतिको दस्ताबेज तयार भएको छ । २१औँ शताब्दी अनुकूल हुने गरी दुई देशको सम्बन्ध रूपान्तरण गर्ने गरी प्रतिवेदन तयार छ ।’ 

दक्षिण एसियामा चिनियाँ प्रभाव र उपस्थिति बढेको यथार्थलाई भारतले स्वीकार गरेको उनको भनाइ थियो । ‘कसैले माने पनि नमाने पनि यो यथार्थ भइसक्यो र यसलाई भारतले पनि आत्मसात् गरेको छ भन्ने मलाई लाग्छ,’ लामाले भने, ‘सन् १९५० देखि १९९० सम्म नेपालको विकासमा भारत र चीनले सँगै काम गरेका थिए ।  सकारात्मक प्रतिस्पर्धा थियो । अहिले पनि यही अवस्था आउनुपर्छ ।’ नेपालले पनि छिमेकीहरूलाई सन्तुलनमा राख्दै सार्वभौम अधिकारको भरपूर प्रयोग गर्नुपर्ने लामाको सुझाब थियो । ‘सर्प पनि मरोस्, लठ्ठी पनि नभाँच्चियोस् भन्ने हिसाबले नेपालले भूमिका निर्वाह गर्नुपर्छ । नेपालमा भारतको प्रमुख प्राथमिकता सुरक्षा हो भन्ने कुराको ख्याल नेपालले राखिदियो भने भारतसँग सम्बन्धमा समस्या हुँदैन,’ लामाले भने । 

भारत सरकारले नेपालसँग शीघ्र वार्ता नगरेकोमा लामाले आश्चर्य व्यक्त गरे । उनले भने, ‘नेपाल र भारतबीच समयमै वार्ता हुनुपर्नेमा किन भएन मैले बुझ्न सकेको छैन । यसको कारण भविष्यमा थाहा होला । तर, सीमाका सन्दर्भमा तुरुन्तै वार्ता गर्नुपर्छ र विषय सुल्झाउनुपर्छ ।’

केरुङमा रेलवे स्टेसन र पावर ग्रिड बन्दै छ : चिनियाँ विज्ञ हु 
चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स (सिआइसिआइआर) अन्तर्गत इन्स्टिच्युट फर साउथ एसियन स्टडिजका निर्देशक हु सिसेंगले नेपाल, चीन र भारतबीच आर्थिक साझेदारी हुनुपर्नेमा जोड दिएका छन् । चीनले भारतलाई लक्षित गरेर हाल सीमावर्ती केरुङसम्म रेल ल्याउन लागेको र केरुङमा रेलवे स्टेसन बन्न लागेको उनले जानकारी दिए । 

गत वर्ष उनी केरुङ भ्रमणमा जाँदा रेल्वे स्टेसन र हाइभोल्टेड पावर ग्रिडको विषय छलफल भएको हुले बताए ।  ‘सिगात्सेबाट केरुङसम्म चिनियाँ पक्षबाट सम्भाव्यता अध्ययनको काम भइरहेको छ, पावर ग्रिड र रेल्वे स्टेसनको काम हुँदै छ,’ हुले भने ।  उनले पाकिस्तानसँग सिपेक (चाइना पाकिस्तान इकोनोमिक कोरिडोर) म्यानमारसँग सिमेक (चाइना म्यानमार इकोनोमिक कोरिडोर)जस्तै नेपालसँग पनि चाइना नेपाल इकोनोमिक कोरिडोर बन्ने सम्भावना रहेको हुको भनाइ थियो । नेपाल र चीनबीच केरुङ काठमाडौं रेलमार्गका लागि चिनियाँ पक्षले सम्भाव्यता अध्ययन गर्ने सहमति गत वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा भएको थियो । 

अर्को प्रसंगमा उनले चीन तिब्बतको सुरक्षामा गम्भीर रहेको त्यस सन्दर्भमा नेपालसँगको सम्बन्धलाई चीनले हेरेको पनि हुले बताए । ‘चीन दक्षिण एसियाको अर्थतन्त्रमा सहकार्य गर्न चाहन्छ । भारतीय बजारसँग चीनको अर्थतन्त्र एकाकार गर्न चाहन्छौँ,’ हुले भने, ‘तिब्बतको सुरक्षा, द्विपक्षीय सम्बन्ध र दक्षिण एसियासँग क्षेत्रीय कनेक्टिभिटीका सन्दर्भमा नेपालसँग सम्बन्धलाई हामीले हेरेका छौँ ।’

हुले नेपालमा चीन र भारतबीच कुनै पनि प्रतिस्पर्धा नभएको बताए । ‘चीन र भारतबीचको सीमा विवाद ऐतिहासिक असमझदारीको परिणाम हो, यसलाई अमेरिका र चीनबीचको असमझदारीका सन्दर्भमा वा अन्य सन्दर्भमा हेर्न मिल्दैन,’ हुनले भने, ‘नेपालका सन्दर्भमा त म स्पष्ट भन्छु चीन र भारत प्रतिस्पर्धा गर्दैनन् । बरु भविष्यमा सहकार्य गर्नेछन् ।’ भविष्यमा चीन र भारतबाट आउने रेल काठमाडौंमा भेटिने परिस्थितिलाई सहकार्यको नमुनाका रूपमा हुले परिभाषित गरे । 

नेपाल, भारत र चीनबीच सहकार्यको मोडालिटी पनि उनले प्रस्तुत गरे । ‘चीन र भारत पहिला आउने त्यसपछि नेपाललाई साथमा लिने, नेपाल र चीन आउने अनि भारतलाई साथमा लिने अथवा नेपाल र भारत एक ठाउँमा आउने र चीनलाई साथ दिने, तीनै मोडालिटीलाई चीनले समर्थन गर्छ,’ हुले भने । नेपालको समृद्धिका लागि आन्तरिक राजनीतिक एकता सुदृढ हुनुपर्ने उनको जोड थियो ।