१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ १९ शुक्रबार २०:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लाको खलंगामा आगलागी हुँदा डेढ करोडको क्षति

Read Time : < 1 मिनेट
२०७७ भदौ १९ शुक्रबार २०:२६:००

जुम्ला सदरमुकाम खलंगा बजारस्थित चन्दननाथ नगरपालिका– ५ देवेन्द्र शर्माको घरमा आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ । शुक्रबार बिहान भएको आगलागीले शर्मा र उनको छिमेकी लविनध्वज खाँणको घरमा क्षति पुगेको छ । 

प्रहरीको प्रारम्भिक प्रतिवेदनअनुसार आगलागीबाट घरधनी शर्माको ३८ लाख ८२ हजार र सोही घरमा रहेको राष्टु कठायतको आस्था जनरल स्टोरको गोदाम जल्दा ५० लाखबराबरको क्षति भएको छ । गोदाममा राखिएको खाद्यान्न सामग्री, ल्यापटप, कम्प्युटर, फर्निचर, प्रिन्टरलगायतका सबै सामान जलेर नष्ट भएका छन् ।

प्रहरी सहायक निरीक्षक देवराज भट्टराईका अनुसार शर्माका छिमेकी खाँणको घरमा समेत आगलागीबाट दुई लाखबराबरको क्षति भएको छ । सोही घरमा भाडामा रहेको प्रकृति सपिङ सेन्टरमा पनि ६ लाखबराबरको सामान जलेर नष्ट भएको छ । यस्तै जनकध्वज खाँणको घरमा ५० हजार, सोही घरमा भाडा रहेको अनुपम कपडा पसलको एक लाख, आसिप खान र रेस्मा जोलाको २६ हजारबराबरको सामग्री जलेर नष्ट भएको छ । 

चन्दननाथ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा लिएको डिएसपी लालबहादुर धामीले बताए । सोलार ब्याट्री सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । 

नगरपालिकाद्वारा आलगागीपीडितलाई राहत 
चन्दननाथ नगरपालिकाले आगलागीपीडितलाई राहत वितरण गरेको छ । नगरपालिकाले आगलागीपीडित आठजनालाई चामल र प्रतिव्यक्ति १० हजारका दरले राहत उपलब्ध गराएको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् ।