मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ १९ शुक्रबार १२:४४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पर्यटकले खचाखच हुने कञ्चनजंघा क्षेत्र यतिवेला सुनसान

Read Time : > 1 मिनेट
२०७७ भदौ १९ शुक्रबार १२:४४:००

अघिल्ला वर्षहरूमा भदौ महिना सुरु नहुँदै कञ्चनजंघामा विदेशी पर्यटक आइसक्थे । कञ्चनजंघा संरक्षण क्षेत्रका होटेलहरू पनि सरसफाइ गरेर पर्यटकलाई सेवा दिन तयार पारिन्थ्यो । 

यतिवेला त्यस क्षेत्रका होटेलहरू पर्यटकले भरिन्थे । तर, यसपटक दैनिक ५० देखि दुई सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने कञ्चनजंघा क्षेत्र सुनसान छ । 

विश्वभर फैलिएको कोरोना भाइरस कोभिड– १९ को महामारीका कारण कञ्चनजंघा संरक्षण क्षेत्र सुनसान बनेको हो । कञ्चनजंघा मात्र होइन, देशका पर्यटकीय गन्तव्य अहिले पर्यटकको पर्खाइमा रहेका छन् । 

विश्वको तेस्राे तथा देशको दोस्राे अग्लो हिमाल कञ्चनजंघाले पर्यटकलाई पर्खिरहेको छ । विगतका वर्षहरूमा विदेशी पर्यटक आउने यो समयमा अहिले पर्यटक देख्न नपाएको त्यसक्षेत्रका होटेल व्यवसायीहरू बताउँछन् ।

कोभिडको संक्रमणबाट जोगिन विभिन्न देशले अर्को देशमा आवतजावतमा  रोक लगाएपछि विश्वभरका पर्यटक घुमफिर आएका छैनन् । 

पर्यटक आउजाउ पूर्ण रूपमा रोकिँदा कञ्चनजंघा संरक्षण क्षेत्रका व्यवसायीहरू  रोजीरोटीका लागि संघर्ष गर्नुपरेको बताउँछन् । 

सरकारले १७ भदौदेखि सीमित संख्यामा नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । तर, यी उडानमा विदेशी पर्यटक नेपालमा घुमफिर गर्न आउन पाउनेवाला छैनन् ।

ताप्लेजुङमा भने कोरोना संक्रमित अहिलेसम्म फेला परेका छैनन् । विदेशबाट आएकाहरूलाई करेन्टिनमा राखेर मात्र समाजमा जान दिने व्यवस्था गरेकाले पनि अहिले कोरोना संक्रमणबाट जिल्ला बचेको छ । 

अवस्था सहज हुने पर्खाइमा व्यवसायी 
कञ्चनजंघा संरक्षण क्षेत्रका अधिकांश बासिन्दाको रोजीरोटी नै पर्यटन व्यवसाय हो । कहिले कोरोनाको औषधि आउँछ अनि सहज वातावरण हुन्छ र पुनः पर्यटकको चहलपहल होला भन्ने पर्खाइमा छन् घञ्चनजंघा संरक्षणवासी ।

गत वर्ष यही समयमा होटेलका बेडहरू भरिभराउ हुने गरेका थिए । घुन्सामा शेर्पा गेस्टहाउस सञ्चालन गरेर बसेका छेतेन ठण्डु शेर्पा पर्यटक नआएर अहिले गेस्टहाउस खाली भएको बताउँछन् । 

होटेल व्यवसायी शेर्पा भन्छन्, ‘यतिवेला सिजन हो, कोरोना संक्रमणका कारण सबै होटेल खाली छन् ।’

कञ्चनजंघा संरक्षण क्षेत्र विकास समिति(केक्याप) का अध्यक्ष खगेन्द्र फेम्बूका अनुसार यो सिजनमा दैनिक आन्तरिक तथा बाह्य गरी दुई सय पर्यटक संरक्षण क्षेत्र पुग्ने गर्थे ।

संरक्षण क्षेत्रको घुन्सामा ४५ घरमध्ये १२ वटा होटेल, घुन्सादेखि माथि रोनार्कमा ६, सेलेलेमा दुई, ग्याब्ला , फलोन पाँच होटेल रहेको होटेल व्यवसायी छेतेन डण्डु शेर्पाले बताए ।