मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ १८ बिहीबार १८:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वाञ्चल विश्वविद्यालयले विद्यार्थीको परीक्षा घरघरबाटै लिने

हुबहु सारेको पाइएमा परीक्षा रद्द हुन्छ : परीक्षा नियन्त्रक

Read Time : > 1 मिनेट
२०७७ भदौ १८ बिहीबार १८:५५:००

पूर्वाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहका सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षा वैकल्पिक विधि प्रयोग गरी घरबाटै (टाइम–बाउन्ड होम एक्ज्याम) लिने भएको छ । विश्वविद्यालयले कोभिड– १९ का कारण असहज परिस्थिति उत्पन्न भएपछि आगामी असोजमा घरबाटै परीक्षा लिने भएको हो । 

पूर्वाञ्चल विश्वविद्यालय प्राज्ञिक परिषद्को बैठकले निर्णय गरी आगामी असोज पहिलो साताबाट नियमिततर्फका सम्पूर्ण विद्यार्थीको परीक्षा लिने निर्णय गरेको हो । सीमित कर्मचारीबाट एकैपटकमा सबै विद्यार्थीको परीक्षा लिन कठिन हुने भएकाले आंशिक विद्यार्थीलाई भने असोज पहिलो साताबाट सुरु हुने परीक्षामा सहभागी नगराउने भएको छ । वार्षिकतर्फका नियमित तथा आंशिक र सेमेस्टरतर्फका आंशिक परीक्षाहरूबारे पछि निर्णय गर्ने पूर्वाञ्चल विश्वविद्यालयले जनाएको छ । 

विश्वविद्यालयका कर्मचारीका अनुसार विद्यार्थीले एउटा सेमेस्टरको नतिजा नआउँदै माथिल्लो सेमेस्टर अध्ययन नगर्ने अडान राखेपछि विश्वविद्यालयले वैकल्पिक विधि प्रयोग गरी परीक्षा लिने निर्णय गरेको हो । केही विषयमा ४ असोजदेखि नै परीक्षा सञ्चालन गर्ने गरी तालिकासमेत सार्वजनिक गरेको छ । विद्यार्थीलाई परीक्षाको समयमा इमेलमार्फत प्रश्नपत्र उपलब्ध गराउने र घरमै उत्तर लेखेर निश्चित समयभित्र फोटो खिचेर विश्वविद्यालयमा पठाउनुपर्नेछ । स्नातक तहमा पहिलो, तेस्रो, छैटौँ र सातौँ सेमेस्टरको परीक्षा लिँदै छ । 

पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले नेपालमा महामारीको समयमा शैक्षिक सत्र खेर जान नदिन पहिलोपटक यस्तो अभ्यास गर्न लागेको बताए । प्रा.डा. संग्रौलाले भने, ‘दशैँअघिसम्म सेमेस्टरको परीक्षा सक्ने गरी तयारी भएको छ ।’ कुनै पनि तहको अन्तिम परीक्षा भने यो प्रक्रियाबाट तत्काल नगर्ने भएको छ । अहिलेको विधिबाट लिएको परीक्षाको विश्वसनीयतालगायतका पक्ष विश्लेषण गरी अन्तिम सेमेस्टरको परीक्षा के गर्ने भन्ने निर्णय लिने पक्षमा विश्वविद्यालयका पदाधिकारी छन् ।

कक्षा अपग्रेड गर्नका लागि विश्वविद्यालयले यस्तो व्यवस्था गरेकाले वार्षिक र आंशिकका विषयमा पछि निर्णय गर्ने पदाधिकारीको भनाइ छ । परीक्षा नियन्त्रक संग्रौलाले भने, ‘सबै पक्षले समन्वय गरेर सफलतापूर्वक सम्पन्न भएमा बाँकी परीक्षालाई पनि राम्रो हुन्छ, यसमा सबै आ–आफ्नो स्वार्थमा लागेमा महामारी सकिएर परिस्थिति सहज भएपछि परम्परागत हिसाबले लिन्छौँ ।’ विद्यार्थीले इमेलमा प्रश्न प्राप्त गरी घरमै बसेर लेख्न सक्ने भए पनि कसैले हुबहु सारेको पाइएमा परीक्षा रद्द हुन सक्नेलगायतका विषयमा विद्यार्थीलाई सचेत गराएको उनले बताए । 

यस्तो छ परीक्षाको प्रक्रिया
परीक्षाको निर्णयसँगै क्याम्पसहरूले आफ्ना विद्यार्थीको इमेल लिएर विश्वविद्यालयमा पठाउनुपर्नेछ । सम्बन्धित क्याम्पस÷कलेजको चिफ केन्द्राध्यक्ष हुनेछ वा चिफले अर्को व्यक्तिलाई केन्द्राध्यक्षको जिम्मेवारी दिन सक्नेछ । यसरी केन्द्राध्यक्ष तोकिएका क्याम्पसका व्यक्तिलाई विश्वविद्यालयले ३० मिनेटअघि प्रश्नपत्र पठाउनेछ ।

केन्द्राध्यक्षले परीक्षा तोकिएको समयभन्दा १५ मिनेटअघि विद्यार्थीको इमेलमा प्रश्नपत्र पठाउनेछन् । विद्यार्थीले तोकिएको समयभरि लेख्नेछन् । यदि तीन घन्टाको समय तोकिएको छ भने उसले पाँच घन्टा समय पाउनेछ ।

तीन घन्टाभित्र लेखिसकेर फोटो खिचेर परीक्षा सुरु भएको पाँच घन्टाभित्रमा क्याम्पसको इमेलमा पठाइसक्नुपर्नेछ । त्यसपछिको चार घन्टाभित्र क्याम्पसले विद्यार्थीको फाइल व्यवस्थित गरी विश्वविद्यालयको इमेलमा पठाउनुपर्नेछ । विद्यार्थीको उत्तरपुस्तिका विश्वविद्यालयले प्रिन्ट गरी पहिलेकै प्रक्रियाअनुसार परीक्षण, संपरीक्षण गरी नतिजा प्रकाशित गर्ने व्यवस्था गरेको नियन्त्रक संग्रौलाले बताए ।