१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ भदौ १८ बिहीबार ०८:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाग्लुङमा बाढी : १३ जना बेपत्ता, चारको शव फेला (अपडेट)

Read Time : > 1 मिनेट
२०७७ भदौ १८ बिहीबार ०८:५०:००

बाग्लुङको ढोरपाटन नगरपालिका– ९ को बोबाङ सुकुर्दुङ खोलामा आएको बाढीले तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । अविरल वर्षासँगै आएको बाढीमा परेर १३ जना बेपत्ता भएका छन् भने चारजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।  

बाढीले स्वास्थ्य चौकीसहित १३ घर पूर्ण रूपमा नष्ट गरेको रेग्मीले बताए । उनका अनुसार मृतकको अहिलेसम्म पहिचान हुन सकेको छैन । बाढीले ढोरपाटन नगरपालिकाको वडा नं. ५, ६, ७, ८ र ९ मा ठूलो क्षति पुर्‍याएको छ । बाढीले दुईवटा विद्युतगृह, झोलुंगेपुल र दुईवटा विद्यालयसमेत बगाएको छ ।

रातको समयमा आएको बाढीका कारण ठूलो धनजनको क्षति भएको स्थानीय जीवन घर्तीमगरले जानकारी दिए । घर्तीका अनुसार तटीय क्षेत्रका झन्डै ३० घर बगाएको अनुमान गरिएको छ ।  

‘हामी उद्धारमा खटिएका छौँ,’ घर्तीले भने, ‘हालसम्म यस क्षेत्रमा बसोवास गर्ने मानिसहरूको खोजी गर्दा २९ जना बेपत्ता भएको पाइएकाे छ । बेपत्ता हुनेकाे संख्या अझै थपिने सम्भावना छ ।’

अहिले घटनास्थलमा प्रहरी पुगेर स्थानीयको सहयोगमा उद्धार थालेकाे जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । ‘घटनास्थलको दूरी र क्षेत्र निकै लामो भएकाले पनि उद्धारमा समस्या भएको छ,’ डिएसपी रेग्मीले भने, ‘अहिले थप सुरक्षाकर्मीसहित घाइतेहरूको उद्धार र बेपत्ता भएकाहरूको खोजी सुरु गरिसकेका छौँ ।’

ढोरपाटन नगरपालिका वडा नम्बर ९ को लाँकुरीबोटका १५ घर, दुनेपँधेराका पाँच घर, घट्टबोटका आठ घर र सुप्राङका दुई घर बाढीले बगाएको छ । यसैगरी सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राथमिक विद्यालयसमेत बाढीले बगाएको छ ।

बेपत्ता हुने अधिकांश सालझण्डी-ढोरपाटन सडक खण्डअन्तर्गत खोला किनारमा व्यवसाय गरेर बस्नेहरू रहेकाे प्रहरीले जनाएकाे छ ।