१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
जर्मनीको बर्लिनमा तीन दिनअघि भएको मास्कविरोधी प्रदर्शन । तस्बिर : एजेन्सी
२०७७ भदौ १८ बिहीबार ०४:०४:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ट्रम्पको सिको गर्दै मास्क र भौतिक दूरीविरुद्ध प्रदर्शनमा युरोपका दक्षिणपन्थी

नागरिक स्वतन्त्रता कुण्ठित भएको नारालाई शक्ति आर्जन गर्ने मौकाका रूपमा उपयोग गर्दै छन् दक्षिणपन्थी शक्तिहरू

Read Time : > 3 मिनेट
२०७७ भदौ १८ बिहीबार ०४:०४:००

१५ अप्रिलमा अमेरिकामा लकडाउनविरुद्ध भएको प्रदर्शनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै समर्थन गरेपछि चर्चामा रह्यो । रिपब्लिकन पार्टीसहित विभिन्न समूहले त्यसयता अमेरिकामा निरन्तर लकडाउनविरुद्ध प्रदर्शन गर्दै आएका छन् । मिचिगन राज्यमा ५ अप्रिलमा खोलिएको फेसबुक ग्रुप ‘अपरेसन ग्रिडलक’ले विरोध प्रदर्शनको संयोजन गरिरहेको छ । आधाभन्दा बढी अमेरिकी राज्यमा स्वतःस्फूर्त लकडाउनको विरोध हुँदै आएको छ ।

अमेरिकामा मास्क लगाउने र नलगाउने बहसले सामाजिक÷राजनीतिक विभाजनको रूप पाएको छ । राष्ट्रपति ट्रम्प र रिपब्लिकन पार्टीका समर्थकले सुरुदेखि नै मास्कको विरोध गर्दै आएका छन् । विपक्षी डेमोक्रेटिक पार्टीका समर्थक भने कोरोना प्रसार रोक्न मास्क लगाउनुपर्ने पक्षमा उभिएका छन् । राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा मास्क लगाउने र नलगाउने विषय पेचिलो मुद्दाका रूपमा स्थापित भएको छ । यही विवादबीच राष्ट्रपति ट्रम्प आफ्नो जिद्दी त्याग्दै मास्क लगाएरै सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् ।

राजनीतिक विश्लेषकहरू यस्ता प्रदर्शनलाई अतिदक्षिणपन्थी शक्तिहरूले भरथेग गरिरहेको बताउँछन् । नागरिक स्वतन्त्रताका लागि अमेरिका र युरोपेली मुलुकका बासिन्दा बढी जागरुक र उत्सुक देखिन्छन् । त्यही उत्सुकतालाई आफ्नो शक्ति आर्जनको मौकाका रूपमा अतिदक्षिणपन्थी शक्तिले उपयोग गरिरहेको विश्लेषकहरूको ठम्याइ छ ।

अमेरिकामा राष्ट्रपति ट्रम्प समर्थकजस्तै युरोपमा पनि सोही प्रकारका समूह र दलहरू प्रदर्शनमा अग्रपंक्तिमा देखिन्छन् । मास्क पहिरिन लगाएर राज्यले नागरिक स्वतन्त्रता नियन्त्रण गर्न थालेको आरोप उनीहरूले लगाउँदै आएका छन् । जर्मनी सरकारले त दक्षिणपन्थी समूहहरू लकडाउनविरुद्ध उत्रेको आरोप नै लगाएको छ । उदारवादी खेमाकी जर्मन चान्सलर एन्जेला मर्केल प्रशासनले कोरोना प्रसार रोकथाममा प्राप्त गरेको सफलतालाई नजरअन्दाज गर्दै प्रदर्शनहरू भइरहेका छन् ।

जर्मनीमा चान्सलर मार्केल र १६ वटा संघीय राज्यका प्रमुखले मास्क नलगाई बाहिर निस्कनेलाई ५९ अमेरिकी डलर जरिवाना गर्ने घोषणा गरेपछि २६ अप्रिलमा बर्लिनबाट प्रदर्शन सुरु भएको हो । बर्लिनसिटीका अधिकारीले सुरुमा प्रदर्शन रोक्ने निर्णय गरे, तर लगत्तै फिर्ता लिए ।

स्वतन्त्रता कुण्ठित गरेको आरोप

३० अगस्टमा करिब ३८ हजार प्रदर्शनकारी बर्लिनमा भेला भएर लकडाउनको विरोध गरे । त्यस क्रममा भौतिक दूरी उल्लंघन गर्दै मास्क नलगाएका करिब तीन सय प्रदर्शनकारी पक्राउ परे । ‘रिच सिटिजन मुभमेन्ट’का नाममा भइरहेको प्रदर्शनको नारा छ, ‘डे अफ फ्रिडम’ । बिबिसीका अनुसार प्रदर्शनकारीले ढुंगा र पानीका बोतल सुरक्षाकर्मीमाथि प्रहार गर्छन् । कोरोनाका नाममा सरकारले लागू गरेको नियमनले जर्मनीको संविधानप्रदत्त आधारभूत अधिकार र स्वतन्त्रता कुण्ठित भएको प्रदर्शनकारीको दाबी छ । सार्वजनिक रूपमा ३० जनाभन्दा बढी जम्मा हुन नदिने सरकारी निर्णयबीच हजारौँ संख्याका नागरिकले प्रदर्शन गरेको बिबिसीले जनाएको छ ।

जर्मनीमा हालसम्म करिब पौने दुई लाख मानिस संक्रमित भएका छन् । तीमध्ये नौ हजारजनाको मृत्यु भएको छ । तथापि, रुस, बेलायत, फ्रान्स र इटलीको तुलनामा जर्मनीमा कोरोनाका कारण मृत्युदर कम छ ।

युरोपभर फैलिँदै प्रदर्शन

लन्डन, पेरिस, भियना, जुरिचलगायत युरोपका महानगरमा पनि यसबीचमा लकडाउनविरुद्ध ठूला प्रदर्शन भए । लन्डनको ट्रफाल्गर स्क्वायरमा कोरोना तथा चिनियाँ फाइभ–जीविरुद्ध प्रदर्शन भयो । ३० अगस्टमा लन्डनमा भएको प्रदर्शनका सहभागीले कोरोना भाइरस छल भएको दाबी गरे । र, भौतिक दूरीको बन्देज हटाउन र मास्क प्रयोग अन्त्य गर्न माग गरे । म्यान्चेस्टरलगायत बेलायती सहरमा पनि प्रदर्शन हुँदै आएको छ ।

प्रदर्शनकारीलाई सरकारले जरिवाना तिराउने गरेको छ, तर प्रदर्शन रोकिएको छैन । बेलायती प्रदर्शनकारीले लकडाउनविरोधी प्रदर्शनका लागि आर्थिक संकलनसमेत गरेका छन् । ‘जस्टगिभिङ डटकम’ नामक अनलाइन प्लेटफर्ममार्फत हालसम्म १४ हजार पाँच सय ९७ पाउन्ड स्टर्लिङ संकलन भएको छ । २९ अगस्टको प्रदर्शनका सहभागीको दाबी थियो– ‘पाँच लाख मानिसको ज्यान जाने प्रक्षेपण गलत हो, लकडाउन अनावश्यक हो र पिसिआर परीक्षण नक्कली हो ।’ विनाकारण दशौँ लाख नागरिकले रोजगारी गुमाएको उनीहरूको दाबी थियो ।

सरकारले नागरिक स्वतन्त्रता हनन गरेको आरोप पनि प्रदर्शनकारीको थियो । प्रदर्शनमा लेबर पार्टीका नेता जेरेम कोरब्यानका दाजु पियर्स कोरब्यान, वरिष्ठ स्वास्थ्य पत्रकार डा. भेरनोन कोलम्यानलगायतले सम्बोधन गरेका थिए । कोेरब्यानले बेलायतको पत्रिका द गार्जियनसँग भनेका छन्, ‘कोरोना सामान्य रुघाखोकी भएकाले लकडाउन, नागरिकमाथि कडाइ र नियमन कुनै हालतमा न्यायोचित छैन ।’

लकडाउन र मास्कविरुद्ध आयरल्यान्डको डब्लिनमा भएको प्रदर्शनमा ‘एल्लो भेस्ट आयरल्यान्ड’ नामक संस्थाको सहयोग र ‘हेल्थ फ्रिडम आयरल्यान्ड’को ब्यानर प्रयोग भएको थियो । प्रदर्शनकारीले मास्क लगाएनन्, भौतिक दूरी कायम गरेनन् । यस्तै, लकडाउनका नाममा अन्तिम संस्कार गर्न नपाएको बताउँदै इटलीमा गिर्जाघरका पादरीहरूले विरोध गरे । रुस र पोल्यान्डसम्म पनि प्रदर्शन फैलिँदै गएको छ ।

पछिल्ला दिनमा यस्ता प्रदर्शन अफ्रिकी मुलुकसम्म पुगेको छ । पश्चिम अफ्रिकी मुलुक आइभरिकोस्टमा त ८ मेमा प्रदर्शनकारीले कोरोना भाइरस टेस्टिङ सेन्टर नै तोडफोड गरे । अफ्रिकाकै रुवान्डा, नाइजेरिया, जिम्बाबे र दक्षिण अफ्रिकामा पनि लकडाउनको विरोध हुन थालेको छ ।

खुकुलो हुँदै लकडाउन

फ्रान्सले १७ मार्चदेखि लागू गरेको लकडाउन ११ मेयता खुकुलो बनाउँदै लगेको छ । जुलाईमा कोरोना संक्रमितको संख्या बढेपछि सरकारले मास्क लगाएर मात्रै सार्वजनिक स्थलमा जान पाइने नियम लागू गरेको छ ।

यस्तै, स्पेनले ४ मेदेखि लकडाउन खुकुलो बनाएको थियो । जुलाईमा केही स्थानमा पुनः संक्रमित देखिएपछि दुई हजार सैनिक परिचालन गरेर सरकारले कन्ट्याक्ट ट्रेसिङ गरेको थियो । भौतिक दूरी र मास्क अनिवार्य गरिएको छ भने विद्यालय खोल्ने कि नखोल्ने भन्ने बहस जारी छ । क्याटलेनिया, म्याड्रिडलगायत सहरमा मास्क र भौतिक दूरीमा कडाइ गरिएको छ ।

जर्मनीमा पनि लकडाउन क्रमशः खुकुलो हुँदै छ । अप्रिलदेखि लकडाउन खुकुलो भएको जर्मनीमा मेदेखि भौतिक दूरीसहितका सावधानी अपनाएर विद्यालय खोलिएको छ । फुटबल प्रतियोगिता आयोजना भइरहेका छन्, तर खेल मैदानमा दर्शकलाई निषेध गरिएको छ । सार्वजनिक यातायात÷स्थलमा मास्क नलगाए जरिवाना तिर्नुपर्छ ।

इटलीमा ७ मार्चदेखि सुरु लकडाउन मेदेखि खुकुलो भएको छ । भौतिक दूरी र फेस मास्क अनिवार्य गर्दै रेस्टुराँ, संग्रहालय, सैलुन र पर्यटकीय क्षेत्र खुला गरिएको छ । तर, संक्रमित संख्या पुुनः बढेपछि १७ अगस्टदेखि रेस्टुराँ, क्लब र सार्वजनिक स्थल मध्यरातदेखि बन्द हुन थालेका छन् । बिहान ६ देखि साँझ ६ बजेसम्म सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ ।

बेल्जियममा स्कुल, बजार, संग्रहालय र चिडियाखाना खुला छन् । तर, मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ । खेलकुद र धार्मिक गतिविधि खुला भएका छन् । सैलुन, ब्युटिपार्लरलगायत व्यवसाय खुलेका छन् । कुनै पनि कार्यक्रममा दुई सयजनाभन्दा बढी सहभागी हुन रोक लगाइएको छ । ब्रसेल्समा १२ अगस्टदेखि मास्क अनिवार्य गरिएको छ ।

नेदरल्यान्ड्स जुलाईदेखि क्रमशः खुल्दै गएको छ । सेप्टेम्बरदेखि खोल्ने भनिएका सार्वजनिक स्थलहरू जुलाईदेखि नै खुला भएका छन् । उत्तरी नेदरल्यान्ड्सका विद्यालयहरू १७ अगस्टदेखि खुला भएका छन् । कोरोना संक्रमितको संख्या बढेमा स्थानीय अधिकारीहरूले सिनेमा हल, संग्रहालय र क्याफे १४ दिनका लागि बन्द गर्न र आवश्यक परे कफ्र्यु लगाउन सक्ने अख्तियारी सरकारले दिएको छ । पोर्चुगल र ग्रिसमा पनि लकडाउन खुकुलो हुँदै छ ।

(एजेन्सीहरूको सहयोगमा)