१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
झापाको बुद्धशान्ति–५ मा टिमाई नदीमा भएको तीव्र अवैध नदी दोहनका कारण कटान सुरु गरेको छ । जसरका कारण टिङरिङडाँडाको सिंगो बस्ती नै जोखिममा छ । तस्बिर : चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका
२०७७ भदौ १७ बुधबार १७:५०:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

चुरेको चरम दोहन, बस्ती नै जोखिममा

Read Time : > 2 मिनेट
२०७७ भदौ १७ बुधबार १७:५०:००

निरन्तरको चुरे दोहनले झापाको उत्तरी क्षेत्रका एक दर्जनभन्दा बढी बस्ती जोखिममा परेका छन् । नदीको अवैध दोहनले चुरेका बस्ती नदी कटानका कारण उच्च जोखिममा परेका हुन् । झापाको मेची, निन्दा, टिमाई, बिरिङ, टाङटिङ, कन्काई माई, रतुवा र मावा नदीको चुरे क्षेत्रमा चरम दोहन हुँदै आएको छ । जसका कारण नदी आसपासका बस्ती कटानका कारण उच्च जोखिममा छन् ।

सरकारले नदी उत्खनन रोकेको वर्षाको समयमा पनि अवैध नदी उत्खननले झापाको बुद्धशान्ति– ५ टिङरिङडाँडाको बस्ती जोखिममा परेको छ । नदीजन्य सामग्री तस्करीका कारण टिमाई नदीको कटानले पहिरो जान सुरु गरेको छ । स्थानीयले पटकपटक आवाज उठाउँदा पनि सम्बन्धित निकायको बेवास्ताका कारण सिंगो बस्ती जोखिममा परेको हो । 

नदी उत्खनन रोकिएको वर्षाका वेला पनि रातको समयमा नदीजन्य सामग्री उत्खनन भइरहेका कारण बस्ती बचाउन मुस्किल भएको स्थानीयको गुनासो छ । ‘जनप्रतिनिधिले वास्तै गर्दैनन् । बस्ती पहिरोले लानै आँट्यो । गाउँमा खाने पानी सुक्यो,’ स्थानीय सीमा गदालले भनिन्, ‘तस्करहरू दिनभर सुत्छन् । राति भएपछि २०–२५ वटा ट्र्याक्टर लिएर आउँछन् । हामीले गाउँ बचाउन नसक्ने भयौँ ।’ 

अवधै उत्खनन गर्न आएकालाई उत्खनन गर्न नदिँदा स्थानीयमाथि नै जाई लाग्ने गरेका छन् । ‘साह्रै गरे । हामी युवा मिलेर खोलामा गयौँ । तर, हामीलाई उल्टै हातपात गरे,’ स्थानीय गोपाल मास्कीले भने, ‘हाम्रो टर्चलाइट नै खोसेर लगिदिए ।’ 

यस्तै, टिमाईको बगरछेउमा खेती गर्नेका लागि खेत बिराउने भन्दै तस्करहरूले गाउँपालिकाबाट अनुमति लिएर छेउको नदीजन्य सामग्री तस्करी गरेको पाइएको छ । उनीहरूले खेत बनाउने नाममा नदी चरम दोहन गरेर नदीजन्य सामग्री बेचबिखन गरेको पाइएको हो । अहिले पनि त्यहाँ नदीजन्य सामग्री बगरमै ‘स्टक’ गरेर राखेका छन् । ‘हामीले किन यसो गरेको भन्दा गाउँपालिकाको सिफारिस देखाउँछन् । हाम्रो भन्न के रह्यो र !’ स्थानीय शिवलाल चापागाईंले भने, ‘जनप्रतिनिधिको पनि मिलेमतोमा नदीको ढुंगा, बालुवा तस्करी भइरहेको छ ।’  

 टिमाई नदीको बगरमा खेत बनाउने भन्दै तस्करहरूले उत्खननका लागि गाँपालिकाबाट स्वीकृति लिएर नदीको अवैध उत्खनन गरेर राखेको ‘स्टक’ ।

विकासको नाममा भएको चुरे दोहनले निकट भविष्यमा नै तराईमा खतरा उत्पन्न भएको झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्रकुमार कार्कीले बताए । ‘विकासको नाममा भएको विनाशले संकट निम्त्याउँदै छ । चुरे दोहन हुँदा तराई रहँदैन भन्ने पनि सोच्नुपर्छ,’ खोला अनुगमनका लागि पुगेका उनले भने, ‘सरकारी निकाय कर्तव्यबाट च्युत हुँदा खतरा निम्तिएको छ ।’ 

निरन्तर दश वर्षदेखि दोहन हुँदा चुरे नराम्रोसँग प्रभावित भएको झापा १(ख) का प्रदेश सभा सदस्य गोपाल बुढाथोकीले बताए । यसरी नै दोहन हुने हो भने केही वर्षभित्र शान्तिनगर नै नदी कटानका कारण बाढी र पहिरोको उच्च जोखिममा पर्ने उनको भनाइ छ । 

जनप्रतिनिधिबीच आरोप–प्रत्यारोप
वर्षाको समयमा पनि नदी उत्खनन नरोकिएपछि जनप्रतिनिधिकै संलग्नतामा नदी दोहन भएको स्थानीयले आरोप लगाएका छन् । दोहनको अवस्था हेर्न पुगेका जनप्रतिनिधि भने एक–अर्कालाई आरोप लगाएर पन्छन खोजेका छन् । 

नदी ठेक्का लगान मिलेमतो गर्ने जनप्रतिनिधि संरक्षणमा भने एक–अर्कालाई दोषारोपण गर्ने गरेका छन् । जिल्ला समन्वय समिति र बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधि एक–अर्कालाई आरोप लगाउने गरेका छन् । ‘खोला संरक्षणको जिम्मा स्थानीय तहलाई हुन्छ । उहाँहरूले नसके हामीले पनि सहयोग गर्ने गरेका छौँ,’ जिसस झापा प्रमुख सोमनाथ पोर्तेलले भने, ‘तर, उहाँहरूले समस्या भयो भन्नुभएको छैन ।’ 

उनले स्थानीय तहले लगाएको ठेक्काभन्दा धेरै ठूलो क्षेत्रमा उत्खनन् भएका कारण बाढी, पहिरोको खतरा बढेको बताए । उनले केही स्थानीय तहका जनप्रतिनिधिको मिलेमतोमा अवैध उत्खनन भइरहेको आरोप लगाए । 
बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले गाउँपालिकाले मात्र अवैध उत्खनन गर्न नसक्ने बताए । उनले अर्को स्थानीय तहमा पनि अवैध उत्खनन भइरहेको बताउँदै बुद्धशान्तिलाई मात्र नहेर्न आग्रह गरे । 

अध्यक्ष भुजेलले स्थानीय तहमा पाएको अधिकारले मात्र नदी नियन्त्रण गर्न नसकिने बताए । ‘हामी त लाठ्ठीविनाको हल्दारजस्तो भएका छौँ । लाठ्ठी दिएन नियन्त्रण गर्न सकिन्छ । केन्द्र र प्रदेश सरकार नै कमजोर छ हामीले के गर्ने ?’ उनले भने, ‘प्रहरी हामीलाई चलाउन दिओस् हामी नियन्त्रण गरेर देखाउँछौँ ।’