मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ १७ बुधबार १६:४५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘कोरोनाको मार अनि मलको अभाव’ झेल्दै धादिङका किसान : पीडा सुन्ने कसले ? (तस्बिरसहित)

Read Time : > 2 मिनेट
२०७७ भदौ १७ बुधबार १६:४५:००

नीलकण्ठ नगरपालिका– ३ धादिङका चेतनाथ रिजाल बिहान पौने ३ बजे नीलकण्ठ सहकारीको मूल ढोकामा भेटिए । धानमा राख्नका लागि मल लिन कोरोनाको डरका बीच पनि रातिराति उनी त्यहाँ पुगेका हुन् । 

‘करिब १० रोपनी जग्गामा धान बाली लगाएको छु,’ उनले भने, ‘जसोतसो धानको बिउ त रोप्यौँँ, गोडमेलको वेला पनि भयो । बजारमा मल पाइँदैन ।’

मल लिन आउनेको भिडले मल पाउनेका लागि ठूलै युद्ध जितेबराबर बनेको छ । उनले थपे, ‘हिजो–अस्ति धेरै भिडका कारण मल लिन सकिनँ । त्यसैले आज उज्यालो नहुँदै मल लिन सहकारी आइपुगेको हुँ । धन्न म चाँडै आएको थिएँ । मल पाएँ । तर, यो भिड हेर्दा अचम्मै लाग्यो । यत्तिका मानिस त गाउँमा मेला तथा जात्रामा पनि मुस्किलले जम्मा हुन्छन् ।’

अँध्यारोमै मल लिन लाइन बसिरहेकाहरूको सबैभन्दा अगाडि रहेकी नीलकण्ठ– ४ धादिङकी ७० वर्षीया कृष्णकुमारी गिरीलाई मल लिन हतारो छ । 

बिहान ६ नबज्दै आएकी उनलाई ‘बुढी मानिस’ भनेर सबैभन्दा अगाडि राखिदिएका हुन् । यस अर्थमा उनले ढिलो आए पनि चाँडै आएकाहरूभन्दा अघि बस्न पाइन् । 

उनी भन्छिन्, ‘लाइन बसेर मल लिनुपर्ने भएको भए म खालीहात घर फर्कनुपर्थ्याे । कोरोना लाग्छ भनेर घरबाहिर ननिस्कने भन्थ्यो । यहाँ त जात्रै रहेछ । खेती गरेर हातमुख जोर्ने दिन गएछ ।’

नीलकण्ठ नगरपालिका– १३ का ६० वर्षीय सेते श्रेष्ठ तेस्रोपटक आउँदा मल पाएकोमा दंग छन् । धादिङबेसीबाट झन्डै एक घन्टा हिँड्नुपर्छ । 

‘अरूले मल लगेपछि थाहा हुन्छ, आउँदा सकिइसक्छ । आउँदै फर्कँदै गर्दा बुधबारचाहिँ मल पाएँ । १५ केजी मल लिन तीन दिन धाएँ । ८-१० रोपनी जग्गामा धान तथा कोदो खेती गरेको छु,’ उनले भने ।

उनले भने, ‘कोरोनाको महामारी यस्तो भिडले कतिलाई सर्ला । मल उपलब्ध गराउने निकायले आवश्यक मल दिन नसक्दा यस्तो समस्या भयो, हाम्रो समस्या कसले सुन्ने हो ?’

बढ्दो कोरोना संक्रमणको डरले जिल्लामा निशेधाज्ञा जारी गरिएको छ । तर, मल पाउने आशाले अँध्यारोमै हातमा नाम्लो र बोरा बोकेर सदरमुकामस्थित नीलकण्ठ सहकारी कार्यालय भवनपरिसरमा आइपुग्नेहरूको भिड नै लाग्ने गरेको छ । 

मल बाँड्ने दिन गेटभित्र तथा गेटबाहिर ठूलो संख्यामा किसानको भिड हुने गरेको छ । 

किसानलाई भौतिक दूरी, मास्क तथा स्यानिटाइजर अनि साबुनपानीले मिचिमिची हात धोएर कोरोनाबाट सुरक्षित रहने भन्दा मल नपाइने चिन्ताले सताएको देखिन्छ । 

स्थानीय प्रशासनलाई जानकारी गराएर बुधबार चार सय २० बोरा मल वितरण गरिएको नीलकण्ठ सहकारी संस्थाका अध्यक्ष बलराम श्रेष्ठले बताए । 

हालसम्म्म युरिया आठ सय ४० बोरा तथा गेडेमल एक हजार बोरा वितरण भइसकेको छ । उनले भने– हामीले साल्ट ट्रेडिङ र कृषि सामग्री संस्थानबाट मल ल्याउने हो । 

तर, दुवै ठाउँमा मल अभाव छ । मलकै लागि भनेर ३० लाख रकम मौज्दात राखेका छौँ । समन्वय तथा सहकार्य गरिरहेका छौँ । तर, भदौ अन्त्यतिर मात्र मल आउने सम्भावना छ । किसानहरू मारमा परेको उनले बताए । मल वितरण गर्ने भन्ने खबर पाएर बिहानै किसानको भिड लागेको थियो । 

‘हामीले तीनजनाबराबर एक बोरा मल वितरण गरेका हौँ,’ श्रेष्ठले भने, ‘सीमित मात्रामा मल आएका कारण धेरै किसान खालीहात फर्कनुपऱ्याे । कोरोना कहरको समयमा भिडभाड धेरै नहोस् भन्नका लागि प्रहरीसमेत परिचालन गरिएको र सकेसम्म भौतिक दूरी कायम गर्न खोजे पनि सम्भव देखिएको छैन ।’

वितरण प्रणाली व्यवस्थित नगरिदिँदा उपस्थित सबैले मल पाउन नसकेको किसानको गुनासो छ । 

रासायनिक मल आयो रे भन्ने सुनेका किसान मल पाउनेमा ढुक्क हुँदै सदरमुकाम आइपुग्छन् । 

तर मल नपाउँदा किसान निराश हुँदै घर फर्किन बाध्य छन् ।