मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ १७ बुधबार १४:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लकडाउनमा लुटपाट गर्ने नेपाल र भारतका संगठित गिरोह पक्राउ

Read Time : > 1 मिनेट
२०७७ भदौ १७ बुधबार १४:३४:००

लकडाउनको समयमा विराटनगरमा हतियार देखाएर लुटपाट गर्ने गरेकाे आराेपमा नेपाल र भारतका युवाहरूको संगठित गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरू भारत बिहार राज्यको सीतामढीका २७ वर्षीय राजु साह, मोरङ कटहरी गाउँपालिका– २ का २६ वर्षीय किसन साह, २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षीय अभिषेक राय र  सप्तरी बोदेबर्साइन नगरपालिका–  ८ का २७  वर्षीय नन्दु भन्ने नन्दकिशोर साह छन् । 

सबैलाई उनीहरू बस्दै आएको डेराबाट लुटपाटमा प्रयोग भएको पेस्तोल र बन्दोबस्तीका सामान अनि नगदसहित पक्राउ गरेर प्रहरीले बुधबार सार्वजनिक गरेको हो । 

पक्राउ परेका सबैलाई प्रहरीले हातहतियार खरखजाना, आपराधिक लाभ, चोरी तथा संगठित अपराधमा मुद्दा दर्ता गराएको छ ।   

मोरङका एसपी सन्तोष खड्काका अनुसार प्रहरीले  गिरोहका सदस्य नन्दकिशोर साहको विराटनगर– ३ कञ्चनबारीस्थित  डेराबाट  ४९ हजार चार सय ५० भारतीय र नाै हजार २० नेपाली रुपैयाँसहित अटोमेटिक पेस्तोल एक थान र तीन थान गोली बरामद गरेको छ । 

त्यसैगरी उनीबाट विभिन्न कम्पनीको मोबाइल, दुई थान भारतीय बैंकको चेक, एक थान चक्कु र दुई थान मोटरसाइकल बरामद गरेको उनले जानकारी दिए ।

सप्तरीको बोदेबर्साइन घर भई विराटनगर– ३ कञ्चनबारीमा डेरा लिएर बस्दै आएका नन्दकिशोर साह र मोरङ कटहरी घर भएका अभिषेक साह लामो समयदेखि चोरीमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ । 

उनीहरूले नै  संगठित गिरोह तयार गरेर भारतबाट  ६ राउन्ड गोलीसहितको पेस्तोल मगाएर लुटपाट गर्न थालेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

प्रहरीका अनुसार गिरोहका सदस्यहरू कोही काठ मिस्त्रीको त कोही ग्यारेजमा मेकानिक अनि कोही फैन्सी पसलमा काम गर्दथे ।  

११ लाख डकैतीपछि खुल्यो पोल 
१५ भदौमा विराटनगर जलजला मोडस्थित चाइना बजारका सञ्चालक नरेश साहको घरमा संगठित गिरोहले हतियार र चक्कु देखाएर ११ लाख रुपैयाँ लुटेर लगेको थियो । 

प्रहरीेले त्यही पसलमा सेल्समेनको काम गर्ने भारतीय युवा राजु साहलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा संगठित गिरोह बनाएर लुटपाट गर्ने गरेको पोल खुलेको थियो ।  

त्यसपछि प्रहरीले  गिरोहलाई सक्रियतापूर्वक खोजी गरेर  सबैलाई  पक्राउ गर्न सफल भएको थियो । 

एसपी खड्काका अनुसार व्यापारीहरूको कारोबारको अवस्था र उनीहरूको कमजोरी पत्ता लगाएर यो समूहले पहिले कतै एसएमएसमार्फत हतियार देखाएर पैसा माग्ने गरेको थियो ।  

पैसा नपाएमा कसैलाई प्रत्यक्ष हतियार देखाएर त कसैको घरमा गोली चलाएर धम्की दिने गर्दथ्यो । प्रहरीका अनुसार यो समूहले २५ असारमा  विराटनगरका एक व्यापारीलाई एसएमएसमार्फत ज्यान मार्ने धम्की दिएर पाँच लाख रुपैयाँ लिएको थियो । 

पैसा लिनुअघि गिरोहले व्यपारीको घरमा गएर राति तीन राउन्ड गोली चलाएर धम्क्याएको थियो । 

यो गिरोहले १३ साउनमा अर्का एक व्यापारीलाई पनि त्यसैगरी एसएमएसमार्फत घरमा गएर एक थान गोली चलाएर धम्की दिँदै १० लाख मागेको थियो । तर, असुल्न भने पाएको थिएन ।