मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
मुना कुँवर काठमाडाैं
केदार दाहाल काठमाडाैं
२०७७ भदौ १७ बुधबार ०९:२१:००
Read Time : > 6 मिनेट
अर्थ प्रिन्ट संस्करण

नियमित उडानका नाममा मजदुरमाथि अर्को ज्यादती : मलेसियाबाट फर्कन सात गुणा र युएईबाट ४ गुणा महँगो टिकट

Read Time : > 6 मिनेट
मुना कुँवर, काठमाडाैं
केदार दाहाल, काठमाडाैं
२०७७ भदौ १७ बुधबार ०९:२१:००

सामान्य समयमा २२ हजारसम्म लाग्ने मेलसियाबाट नेपाल फर्कन नेपाल एयरलाइन्सको टिकट दर १ लाख ४१ हजारसम्म छ भने २५ हजारसम्म पर्ने दुबईबाट नेपाल आउन पनि ८० हजार रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता

.............  ............... 

सरकारले नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेसँगै विदेशमा निःशुल्क उद्धारको पर्खाइमा रहेका बेखर्ची श्रमिकहरूले सात गुणासम्म महँगो हवाई टिकट किन्नुपर्ने अवस्था सिर्जना भएको छ । विदेशमा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउन १७ भदौदेखि केही मुलुकहरूबाट नियमित उडान गर्न सरकारले स्वीकृति दिएको छ ।

तर, एयरलाइन्स कम्पनीहरूको टिकट दर चार्टर उडानभन्दा दुई गुणा तथा सामान्य अवस्थाको दरभन्दा सात गुणासम्म महँगो रहेको छ । सरकारले युएई, मलेसिया, जापान, चीन, हङकङ, टर्की, कोरिया र कतारबाट नियमित उडान गर्ने भएको थियो । 

सामान्य समयमा मलेसिया उडानमा एकतर्फी उडानको १६ हजारदेखि २२ हजार रुपैयाँ थियो । तर, सरकारले हालै खोलेको नयाँ नियमित उडानमा भने नेपाल फर्कन १ लाख ४१ हजारसम्म तिर्नुपर्ने भएको छ । सामान्य अवस्थामा बढीमा २५ हजार रुपैयाँमा नेपाल फर्कन पाउने युएईमा काम गर्ने मजदुरले ८० हजारसम्म तिर्नुपर्ने भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिनामा ५५ उडान गर्ने तालिका सार्वजनिक गरेको छ । जसमा विदेशी एयरलाइन्सलाई २९ वटा, नेपाल वायुसेवा निगमलाई १७ वटा, हिमालय एयरलाइन्सलाई १२ वटा उडान तोकिएको छ । चार्टर उडानतर्फ २७ वटा उडानतालिका सार्वजनिक गरेको छ । तर, पिसिआर र आरटिडी परीक्षण सहज नभएका र अन्तर्राष्ट्रिय उडान नखुलेका खाडी मुलुकमा भने चार्टर उडान नै गर्ने भएको छ । 

सरकारले शुरु गरेको अहिलेको नियमित उडानमै पनि मलेसियाबाट चार्टरभन्दा टिकट मूल्य अत्यधिक चर्को भएको नेपाली समाज मलेसियाका अध्यक्ष वीरेन्द्रकुमार नेगीले बताए । मलेसियाबाट नेपाल फर्कन नेपाल एयरलाइन्सको दर सेप्टेम्बर ३० मा १ लाख ४१ हजार रुपैयाँ (५,०४० रिंगेट) सम्म रहेको मलेसियामा रहेको ट्राभल एजेन्सी स्काई होम ट्राभल एन्ड टुरले जनाएको छ ।

त्यस्तै, मलेसियन एयरलाइन्सले ९२ हजार ३ सय १७ रुपैयाँ (३,२९० रिंगेट) रहेको छ भने मलिन्दो एयरलाइन्सको ३० सेप्टेम्बरका लागि १ लाख ३८ हजार ८ सय ९७ रुपैयाँ (४,९५० रिंगेट) रहेको छ । मलेसियाबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, मलिन्दो एयरलाइन्स र मलेसिया एयरलाइन्सले नियमित उडानको अनुमति पाएका छन् । यी एयरलाइन्सहरूको टिकट दर उडान मितिअनुसार फरक रहेको छ ।

सबैभन्दा कम मलिन्दो एयरलाइन्सको बुधबारको उडानको टिकट दर ५१ हजार ६ सय ३० रुपैयाँ (१,८४० रिंगेट) रहेको छ । त्यस्तै, हिमालय एयरलाइन्सको दर ९२ हजार ३ सय १७ रुपैयाँ (३,२९० रिंगेट) सम्म रहेको छ । यसअघि चार्टर उडानमा ४४ हजार ६ सय ४० रुपैयाँ भाडा तोकिएको थियो । 

दुबईबाट नेपाल आउन हिमालय एयरलाइन्समा ८५ हजार लाग्ने भएको छ । नेपाली एयरलाइन्सले भन्दा पनि विदेशी एयरलाइन्सले झनै महँगो भाडा तय गरेका छन् । एयर अरेबिया र फ्लाई दुबईले १ लाख २ हजार रुपैयाँ (३,२०० दिराम) सम्ममा टिकट बिक्री गरिरहेका छन् ।

नेपाल वायुसेवा निगममै दुबईबाट नेपाल आउन ८० हजार रुपैयाँसम्म तिर्न बाध्य भएका छन् । सामान्य अवस्थामा युएईबाट आउने टिकटको मूल्य भनेको २५ हजार रुपैयाँ हो । चार्टर उडानमा ४४ हजार ६ सय ४० रुपैयाँ मात्रै रहेको थियो । कुवेतबाट नेपाल आउन पनि नेपालीहरूले ६५ हजार रुपैयाँसम्म तिर्न बाध्य भएका छन् । कुवेतबाट आउनका लागि चार्टर उडानमा ४९ हजार ९ सय रुपैयाँ तोकिएको थियो । 

नियमित उडानमा पनि सीमित एजेन्सीकै दबदबा

सरकारले नियमित भनेको उडानमा सीमित एयरलाइन्स मात्रै सहभागी छन् । त्यस्तै, केही ट्राभल एजेन्सीलाई मात्रै टिकट काट्ने जिम्मा दिएर कार्टेलिङ गरी टिकट दर महँगो बनाइएको आरोप सरोकारवालाले नै लगाएका छन् । ‘चार्टर नै महँगो भाडा तोकिएको थियो, अहिले सीमित एजेन्सीलाई मात्रै टिकेट काट्ने जिम्मा दिएर श्रमिकबाट महँगो भाडा असुल गरिएको छ,’ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले भने ।

सबै एयरलाइन्सले सरकारी निकायको मिलेमतोमा कार्टेलिङ गरेकाले समस्या आएको उनको भनाइ छ । तर, नियमित उडानमा माग र आपूर्तिको नियमअनुसार टिकट दर केही महँगो पर्न गएको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्का बताउँछिन् ।

‘चार्टरमा भन्दा महँगो पर्न गएको छ, डिमान्ड र सप्लाईको नियमअनुसार यस्तो भएको हो,’ उनले भनिन्, ‘एकतर्फी मात्रै यात्रु हुन्छन्, चार्टरमा भन्दा खर्च नियमितमा बढी हुन्छ ।’ युएईको टिकट खुलेको केही समयमै ९० प्रतिशत सकिएको थियो । सबै गन्तव्यमा सीमित उडान खोल्नुपर्दा समस्या आएको उनले बताइन् ।  

दैनिक ५ सय यात्रु ल्याउन पाउने कोटा तोकेको सरकारले मंगलबारको मन्त्रिपरिषद् बैठकमार्फत ८ सय पु¥याएको छ । तर, सीमित एजेन्सीलाई मात्र एयरलाइन्स कम्पनीहरूले टिकट काट्न दिएका कारण श्रमिकहरू अत्यधिक महँगो शुल्क तिर्नुपर्ने बाध्यतामा छन् ।

चार्टर उडानमा पनि सीमित ट्राभल एजेन्सीले मात्र लाभ लिएको तथा भाडा महँगो भएको आरोप लागेको थियो । सरकारले नियमित उडान खुलाए पनि आएटामा २ सय २३ सदस्य रहेका एजेन्सीहरूले टिकट काट्न पाएका छैनन् । एयरलाइन्ससँग साँठगाँठ गरेका केही ठूला एजेन्सीहरूले मात्रै टिकटको जिम्मा पाएका कारण पनि भाडा महँगो भएको हो ।

एयरलाइन्सहरूले प्रेसिडेन्ट ट्राभल, हार्बेस्टमुन ट्राभल, मोगाबाइट ट्राभल र सोसाइटी ट्राभलले सबै एयरलाइन्सको टिकट होल्ड गरेको अरोप व्यवसायीहरूलाई लगाएका छन् । आएटाको डाइरेक्ट डाटा सोलुसन (डिडिएस) खुला गर्नुपर्नेमा एयरलाइन्सहरूले केही सीमित एजेन्सीलाई दिएको आरोप व्यवसायीको छ । 

श्रमिकहरू झन् मारमा  

कोभिडका कारण भएको लकडाउनपछि बेरोजगार भएका युवाहरू बेखर्ची हुँदा नियमित उडानको प्रतीक्षामा थिए । सरकारले नियमित उडान सुरु गरेसँग खुसी भएका श्रमिकहरू एयरलाइन्सको टिकट दर सुनेर झन् पीडामा परेको नेपाली समाज मलेसियाका अध्यक्ष वीरेन्द्रकुमार नेगीले बताए । ‘मलेसिया आउने गरिबका छोराछोरी हुन् । उनीहरूले यति महँगो टिकट काट्न सक्दैनन्,’ उनले भने ।

सरकारले निःशुल्क उद्धार गरी लैजानुपर्नेमा नियमित उडानको नाममा श्रमिकहरूलाई झनै बिचल्लीमा पार्न थालेको युएईमा रहेका पीडित श्रमिक चिरञ्जीवी राईले बताए । उनले भने, ‘हामीसँग खाने पैसा त छैन । यति महँगो टिकट कसरी खरिद गर्ने ?’

ओभरस्टेको चार्जमा श्रमिकहरू

 भिसा सकिएका श्रमिकहरूलाई नेपाल फर्कने पहिलो प्राथमिकतामा राखिएको छ । तर, कार्यान्वयन नहुँदा श्रमिकहरूले ओभरस्टेको जरिवाना तिर्नुपर्ने अवस्था आएको छ । १५ भदौमा युएईबाट चार्टरमा नेपाल फर्कंदै गरेका ६९ श्रमिक यस्तै जरिवानामा परेका छन् ।

जरिवाना भुक्तानी नगरी नेपाल फर्कन नपाइने भएपछि नेपाल एयरलाइन्स नै ४ घन्टा ढिलो उडेको थियो । धेरै जरिवाना तिर्नुपर्ने भएका १७ जना श्रमिकलाई एयरलाइन्सले मलेसियमा नै छोड्नुपरेको थियो । मलेसियामा नेपाली श्रमिकले ओभरस्टे चार्ज मासिक २ हजार ८ सय (१०० रिंगेट) भुक्तानी गर्नुपर्छ । त्यस्तै, युएईमा भने भिसा सकिएको पहिलो दिन ९ हजार रुपैयाँ (२८५ दिराम) लाग्छ भने त्यसपछि प्रत्येक दिन ८ सय रुपैयाँ (२५ दिराम) थपिँदै जान्छ ।

भिजिट भिसामा जानेको हकमा भने प्रत्येक दिन ३ हजार १ सय ६५ (१ सय दिराम) लाग्छ । कतारमा भिसा अवधि सकिएको प्रतिदिन ३ सय १९ रुपैयाँ (२५ रियाल) जरिवाना लाग्छ । भिजिट भिसाका लागि भने प्रतिदिन ६ हजार ३ सय ८४ (२ सय रियाल) लाग्छ । अध्ययनअनुसार खाडी र मलेसियामा गएका श्रमिकहरूमध्ये प्रतिदिन १५ सय कामदारको भिसा अवधि सकिन्छ ।

श्रमिकलाई रुवाउनु रुवायो सरकारले चिरञ्जीवी राय : उदयपुर, हाल युएई

म युएईमा ४ वर्षदेखि बर्जर डेलपर्ट कम्पनीमा प्लम्बर टेक्निसियनका रूपमा काम गरेँ । सरकारले १७ भदौदेखि नियमित उडान गर्ने भनेदेखि टिकट काट्न धेरै प्रयास गर्दा पनि पाएको छैन । नेपालबाट नियमित उडान सुरु भएको समाचार सुनिन्छ, यता ट्राभलले टिकट खुलेको छैन भन्छ ।

हिमालय एयरलाइन्सको अनलाइनमा २६ तारिखको टिकट रहेछ । टिकटको २५ सय २९ र २८ सय दिराम (८० हजार ७ सय ५० र ८९ हजार ४ सय ४) रहेछ । त्यही पनि पाइएन । चिनजानका मानिसले मात्रै टिकट पाउँछन् रे । हामीजस्तोले टिकट नपाउने रे । मेरो गत जुलाई २७ तारिखमा भिसा सकिएको छ । कम्पनीले क्यान्सिल पेपर पनि दिइसक्यो । अब मैले यहाँ बसेको जरिवाना पनि तिर्नुपर्छ । फर्कन टिकट पाइँदैन । हामीलाई त सरकारले रुवाउनु रुवायो । 
पैसा छैन, आरडिटी पनि गरेको छैन राजु मुरमु : झापा, साउदी जेद्धा

कोरोनाका कारण बेरोजगार भएँ । नेपाल फर्कन मैले ६ तारिखको टिकट लिएको छु । साउदीबाट नियमित उडान छैन । त्यसैले चार्टर उडानबाट नै आउँदै छु । टिकटका लागि नेपालमा नै रहेको ट्राभलमा मेरो परिवारमार्फत पैसा बुझाएको छु । मसँग नेपाल फर्कने पैसा नभएर घरबाट टिकट किन्न लगाएको हो ।

ट्राभलले सात दिनका लागि होटेल क्वारेन्टाइनसहित ८४ हजार १ सय रुपैयाँ लिएको छ । टिकटको ७१ हजार ५ सय र क्वारेन्टाइनका लागि १२ हजार ६ सय रुपैयाँ भनेको छ । मसहित अन्य ५ जना साथीहरूले यसरी नै टिकट काटेका छाँै । हामीसँग पैसा छैन । आरडिटी पनि गरेको छैन । आरडिटी नगरेको भन्दै एयरपोर्टबाटै फर्काउने चिन्ता छ । 

रोजगारदाता पनि महँगो शुल्क तिर्न तयार छैनन् : वीरेन्द्रप्रसाद नेगी, अध्यक्ष, नेपाल समाज मलेसिया

सरकारले नियमित उडान त भन्यो, तर एयरलाइन्स कम्पनीहरूले चर्को मूल्य तोकेका छन् । यो मूल्यमा श्रमिकले टिकट किन्न सक्दैनन् । एकाध होलान्, जसलाई जानैपर्ने बाध्यताले जालान् । तर, अधिकांश श्रमिक जान सक्दैनन् ।

चार्टर उडानको मूल्य महँगो भएपछि सबै श्रमिक नियमित उडानको पर्खाइमा थिए । कतिपय रोजगारदाताहरू पनि नियमित उडान भएपछि श्रमिक फर्काउने योजनामा थिए । तर, अब रोजगारदाता पनि यति धेरै शुल्क तिर्न तयार छैनन् ।

एघार सय नेपालीलाई निःशुल्क ल्याउने इत्तेहादको प्रस्ताव, अनुमति दिन सरकारको आनाकानी

युएईमा अलपत्र परेका ११ सय नेपालीलाई निःशुल्क चार्टर उडानमार्फत ल्याउन इत्तेहाद एयरलाइन्सले अनुमति मागेको छ । एयरलाइन्सले नेपालस्थित युएई दूतावासमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १४ भदौमा निवेदन दिएको हो । सेप्टेम्बर ४ देखि ८ वटा उडानमार्फत ११ सय २० नेपाली निःशुल्क ल्याउने प्रस्ताव गरेको भए पनि हालसम्म सरकारले अनुमति दिएको छैन ।

दूतावासले सिसिएमसीले जारी गरेका नियमअनुसार ७२ घन्टाको पिसिआर परीक्षणसमेत निःशुल्क गराएर नेपालीलाई ल्याउने प्रस्ताव गरेको छ । एयरलाइन्सले युएईको रोजगारदाता कम्पनीसँग सहकार्य गरेर नेपाली श्रमिकहरूलाई निःशुल्क ल्याइदिने प्रस्ताव गरेको हो । तर, एयरलाइन्सको प्रस्तावको विषयमा आफूलाई केही जानकारी नभएको पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए । बुधबार कार्यालय गएर बुझ्ने उनको भनाइ छ । सरकारले ८ सय कोटा तोकेको र सोहीअनुसार प्रस्ताव अध्ययन गरेर मात्रै निर्णय लिने सचिव अधिकारीले बताए । 

एयरलाइन्सले ४ सेप्टेम्बरदेखि १८ सेप्टेम्बरसम्म चार्टर उडान प्रस्ताव गरेको हो । उडानमा आउने कुनै पनि नेपालीले पिसिआर परीक्षण र टिकटको शुल्क तिर्नुनपर्ने प्रस्तावमा उल्लेख छ । युएईस्थित नेपाली दूतावासले सिफारिस गरेका नेपालीलाई मात्र ल्याउनेछ । प्रत्येक चार्टर उडानमा १ सय ४० जना नेपाली कामदार मात्रै ल्याइनेछ । भिसा अवधि सकिएकाहरूका लागि सेप्टेम्बर ११ पछि अतिरिक्त शुल्क लाग्ने भएकाले पनि अनुमति दिन माग गरिएको हो ।

सरकारले १७ भदौदेखि नियमित उडानसमेत खुला गर्दै छ । जसमा नागरिक उड्डयन प्राधिकरणले चार्टर र नियमित दुवै उडानका सेड्युलसमेत सार्वजनिक गरिसकेको छ । जसमा दैनिक एक चार्टर र दुई नियमित उडान गर्ने गरी सेड्युल सार्वजनिक गरेको छ । सरकारले १७ भदौदेखि २९ दिनको तालिका सार्वजनिक गरिसकेको छ ।