१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ भदौ १६ मंगलबार १२:१२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पको पाँच वर्ष बित्यो, जोखिममा परेको बस्ती अझै स्थानान्तरण भएन

Read Time : > 1 मिनेट
२०७७ भदौ १६ मंगलबार १२:१२:००

विनाशकारी भूकम्पबाट जोखिमयुक्त बस्तीमा परेका विस्थापित पाँच वर्ष बित्दा पनि सुरक्षित स्थानमा बस्ती स्थानान्तरण हुन नसकेपछि समस्यामा परेका छन् । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार लमजुङका ६९ घरपरिवार पहिरोको उच्च जोखिममा छन् । तीमध्ये जिल्लामा पाँच परिवारको मात्र बस्ती स्थानान्तरण भएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको अध्ययनअनुसार ०७२ को भूकम्पबाट लमजुङको क्व्होँलासोथर गाउँपालिका– ७ भोजेको २९ घर पहिरोको उच्च जोखिममा छन् ।

भोजेको दुई घर स्थानान्तरण भए पनि बाँकी स्थानान्तरण नभएको क्व्होँलासोथर गाउँपालिका– ७ का वडाध्यक्ष डिलकुमारी गुरुङले बताइन्  । उनका अनुसार १४ घरपरिवारले आफ्नो जग्गा नभएकाले जग्गा खरिद गरी घर बनाउने क्रममा छन् । क्व्होँलासोथर गाउँपालिका– ७ का वडासचिव तक्मा विकले गाउँका पहिरो प्रभावित पानी पर्न साथ गाउँमाथि गएर बस्ने गरेको बताए । 

उनी भन्छन्, ‘जब पानी पर्छ मानीसहरू पहिरोको डरले घर छोड्न बाध्य छन् ।’ प्राधिकरणले घर निर्माणमा चासो नदिँदा पहिरोको डरले स्थानीय डरैडरमा बस्नुपरेको वडासचिव विक बताउँँछन् । आकाशमा कालो बादलसँगै वर्षा सुरु हुन थालेपछि कुन वेला पहिरोमा परिने हो भन्ने त्रासले रातभर झिमिक्क निदाउन नसकेको भोजेको स्थानीय टेकबहादुर गुरुङ बताउँछन् । 

उनी भन्छन्, ‘पानी नपर्दा त दिनरात डर हुन्थ्यो । बर्खामा त सुत्ने कुरै भएन ।’ त्यस्तै क्व्होँलासोँथर गाउँपालिका– ८ मपिङका आठ घरपरिवार पनि उच्च जोखिममा छन् । ती परिवारको पनि बस्ती स्थानान्तरण हुन सकेको छैन । यस्तै, मर्स्याङ्दी गाउँपालिका– ५ घेर्मु उपल्लो चिप्लाका २२ घर पनि पहिरोको उच्च जोखिममा छन् । 

हालसम्म उक्त क्षेत्रमा आठ घरपरिवारले जग्गा खरिद गरेका छन् भने २० घरपरिवारले पहिलो किस्ता लिएका छन् । अनुसन्धानकर्ता तथा विज्ञले उक्त गाउँ सार्न सिफारिस गरे पनि बस्ती स्थानान्तरण नभएको स्थानीय कुमिरजंग गुरुङले बताए । पहिरोले घर बगाउन लागेपछि रामबहादुर गुरुङ घेर्मुफाँटमा बसाइँ सरेका छन्। सरकारबाट स्थानान्तरणको काम नभएपछि आफ्नै खर्चले घर बनाएको उनको भनाइ छ ।

 स्थानीय आइतसरी गुरुङ भन्छिन्, ‘पहिरोले घर लाने समस्या भएपछि डराइडराई बस्नुपरेको छ ।’ जाने ठाउँ नभएका स्थानीय पहिरोकै त्रासमा यहीँ बस्न बाध्य छन् । कुल ८५ घरधुरी रहेको चिप्लामा पहिरो बढ्दै गएपछि बसाइँ सरेर जानेको सङ्ख्या बढ्दो छ । अहिले सिंगाे गाउँमा ४१ घर मात्र बाँकी छन् । दूधपोखरी गाउँपालिका– १ पिप्राउका ६ घर पहिरोको उच्च जोखिममा छन् । प्रिपाउका तीन घरपरिवारले तेस्रो किस्ता लिएका छन् भने दुई घरले जग्गा खरिद गरेका छन् ।

दोर्दी गाउँपालिका– ७ फलेनी तल्लो माझखर्कका चार घर उच्च जोखिममा छन् । माझखर्कका भूकम्प प्रभावितले पहिलो किस्ता लिए पनि बस्ती स्थानान्तरण भएको छैन । हाल उनीहरू पुरानै घरमा बसेका छन् । 

जिल्लामा भिरालो जमिन रहेको र बस्ती स्थानान्तरणका लागि उपयुक्त जग्गा खोज्न कठिनाइ भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय लमजुङका प्रमुख जगदीश मिश्रले बताए । 

भूकम्पपछि पहिरोको जोखिममा रहेको परिवारको स्थानान्तरण कार्यालयमार्फत हुने उनको भनाइ छ । जोखिममा रहेको बस्तीको पहिचान गरे पनि धेरै परिवारको बस्ती स्थानान्तरण प्रक्रिया अघि बढ्न नसकेको प्रमुख मिश्रले बताए ।