मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ १६ मंगलबार ११:३३:००
Read Time : > 5 मिनेट
खेलकुद डिजिटल संस्करण

बार्सिलोनामा किन रहँदैैनन् स्टार फुटबलर ?

Read Time : > 5 मिनेट
२०७७ भदौ १६ मंगलबार ११:३३:००

यति वेला विश्व फुटबल नै बार्सिलोनाको वरिपरि घुमिरहेको छ । अन्तर्राष्ट्रिय मिडियादेखि सामान्य फुटबल समर्थकको नजर बार्सिलाेनामै अड्किएको छ ।

लगभग सबैका एकै प्रश्न छन्– बार्सिलोनाले लियोनल मेसीको हकमा के निर्णय लिन्छ ? हो यही प्रश्नको उत्तर सबैले चाहेका छन् । गत साता अचानक अर्जेन्टिनी खेलाडी मेसीले बार्सिलोना छाड्ने घोषणा गरेपछि फुटबल क्षेत्रमै ठूलो हलचल आयो । एक किसिमले भनौँ बार्सिलोनामा ठूलो रेक्टर स्केलकै भूकम्प आयो नै । 

मेसीको यस निर्णयले अहिलेसम्म पनि उनका समर्थकलाई राम्रोसँग निद्रा नै लागेको छैन होला पनि । नाउ क्याम्पका समर्थक यति विश्वास र आस्थाका साथ भन्छन्, ‘मेसीको फुटबलर करिअर बार्सिलोनामै समाप्त हुन्छ, योबाहेक हामी अन्य क्लबबाट मेसीले फुटबल सकाएको हेर्न सक्दैनौँ ।’ यसले मेसीप्रति बार्सिलोनाका समर्थकको कस्तो भावना छ भन्ने स्पष्ट पार्छ । 

अब भावना र आस्थाले केही चल्नेवाला छैन । मेसीले एउटा निर्णय लिइसकेका छन्, बार्सिलोनाबाट सहज रूपमा बाहिरिने । यदि मेसी आफ्नो  निर्णयमा सफल भए, सम्भवतः बार्सिलोनाले एक इतिहास बोकेको खेलाडी सधैँको लागि गुमाउनेछ । भनिन्छ पनि एक जुनीमा एक व्यक्ति । 

मेसीका समर्थक यही मान्छन् । मेसीविना बार्सिलोना र बार्सिलोनाविना मेसी टाढिन सक्दैन । यो नङ र मासु बराबर नै हो । यी दुईमध्ये एक नहुँदा कस्तो होला, कल्पना पनि गर्न नसकिने अवस्था छ । तर, अवस्था जे भए मेसीले बार्सिलोना छाड्ने योजना बुनिसकेका छन् । यहाँ मेसी मात्र एउटा पात्र होइन । अक्सर बार्सिलोनामा समय–समयमा यस्तै घटना हुने गरेको छ । विश्वकै उत्कृष्ट खेलाडी भनिएका खेलाडी बार्सिलोनामा लामो समय बस्न सकेका छैनन् । मेसी मात्रै अपवादमा पर्छन् । 

सन् १९८० देखि २००८ सम्मको तथ्यांक हेर्ने हो भने बार्सिलोनामा स्टार खेलाडीको बहिर्गमन त्यत्तिकै भएको देखिन्छ । कोही प्रशिक्षकसँगको सम्बन्ध राम्रो बनाउन नसक्दो, कोही स्टार डमले बिग्रँदा, कोही भने बढी रुपैयाँ कमाउन बार्सिलोना त्याग्ने गरेका छन् । यद्यपि उनीहरूको सम्झौता रहँदारहँदै पनि अन्य क्लबमा गएका देखिन्छन् । बार्सिलोनामा धेरैजसो नाम चलेका खेलाडी विवादबीच नै बाहिरिएका छन । 

१. रिभाल्डो 
सन् १९९९ मा ब्राजिलियन फुटबल रिभाल्डो विश्वकै उत्कृष्ट खेलाडी थिए । यसै वर्ष उनले बालोन डिअर उपाधि जितेका थिए । अघिल्लो वर्ष ब्राजिलले चौथोपटक विश्वकप उपाधि जित्दा उनको प्रदर्शन अतुलनीय थियो । युवा अवस्थामा विश्व फुटबलमा राम्रो छाप राखेका रिभाल्डो त्यसताका स्पेनिस क्लब बार्सिलोनाका सबैभन्दा डरलाग्दो एट्याकिङ स्ट्राइकरसमेत थिए । 

बार्सिलोनाले केही समयअघि मात्र चर्चित प्रशिक्षक लुइस भान गाललाई जिम्मेवारी दिएको थियो । यता स्टार खेलाडीले भरिएको बार्सिलोनालाई भान गालले कसरी सन्तुलनमा राख्ने कुरा थियो । प्रशिक्षकका अनुसार खेलाडीको पोजिसन परिवर्तन हुन्छ । भान गालले खेलाडीलाई मैदानमा धेरै पोजिसन परिवर्तन गरे । 

जुन रिभाल्डोलाई पटक्कै मन परेको थिएन । रिभाल्डो जुन स्थानमा जमेका थिए, त्यस स्थान अब प्याट्रिक क्लुभेर्टले पाए । भान गालले रिभाल्डोको स्थानमा प्याट्रिकलाई महत्व दिए । ब्राजिलियन खेलाडी रिभाल्डोले आफूलाई जिम्मेवारीविहीन पाउँदा प्रशिक्षकसँगको सम्बन्ध बिगार्दै लगे । 

भान गालले पनि उनलाई बिस्तारै बेन्चम राखे । खेलाडी र प्रशिक्षकबीचको सम्बन्ध राम्रो भएन । बार्सिलोनाले एकैपटक भान गाललाई बर्खास्त गर्‍यो । रिभाल्डोले केही समयपछि बार्सिलोनामा राम्रो स्थान पाए । तर, सन् २००२ मा भान गाल पुन बार्सिलोनामा फर्किए । यसपटक उनले तीन वर्ष क्लब सम्हाले । यसपटक प्रशिक्षकका रूपमा भान गालले थप ‘पावर’ आफ्नो साथमा राखे । 

उनले गरेको निर्णयमा क्लबले हस्तक्षेप गर्न नपाउने उल्लेख थियो । भान गालको दोस्रो कार्यकालमा रिभाल्डोले बार्सिलोनामा उचित स्थान पाउने पूर्वअनुमान गरे । उनले क्लबसँग एक वर्षको सम्झौता बाँकी रहँदा सम्बन्ध विच्छेद गरे । रिभाल्डोले बार्सिलोना छाड्नुकाे कारण भान गाल नै रहेको मिडियामा बताए । ‘नाउ क्याम्पबाट बाहिरिनुको पछाडि भान गाल नै थियो, मलाई उनी मन पर्दैन, मलाई पनि त्यत्तिकै विश्वास छ, भान गाल पनि मलाई मन पराउँदैनथे,’ यी थिए रिभाल्डोले क्लब छाडने वेला भनेका शब्द । त्यसलगत्तै रिभाल्डो एसी मिलानसँग आबद्ध भए । त्यही नै वर्ष एसी मिलानले युरोपियन च्याम्पियन्स लिग जित्यो । 

२. डिएगो म्याराडोना
अर्जेन्टिनी डिएगो म्याराडोनाले सन् १९८० को दशकमा आफ्नो जादुमयी खेलबाट विश्वलाई नै मोहित पारेका थिए । जसरी पछिल्लो दशकमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोका खेलजस्तै । 

असीको दशकमै स्पेनको चर्चित क्लब बार्सिलोनाबाट म्याराडोनाले खेलिसकेका थिए । उनको आगमनमा बार्सिलोनाको खेल्ने शैली नै परिवर्तन भयो । त्यसवेला उनका साथी लाबो कारास्को भन्थे, ‘मैदानमा म्याराडोनासँग गोल गर्ने जादु नै हुन्थ्यो, विपक्षी खेलाडीलाई बच्चाहरूलाई जस्तै छलाउन सक्थ्यो ।’
 
त्यसवेला प्रशिक्षणको क्रममा म्याराडोनाको खेल हेर्दै अन्य खेलाडी दंग पर्थे । सानो कदको भए पनि म्याराडोना सहजै डिफेन्स छकाउँथे । ‘मैदानमा भन्दा पनि प्रशिक्षणको वेला म्याराडोनाको खेल हेर्नुपर्थ्यो, हामीसँग त्यो क्षणको बयान गर्न शब्द नै छैन,’ लाबोले भने, ‘इतिहासकै एक महान् खेलाडीसँग एउटै क्लबबाट खेल्न पाउँदा हामीलाई गर्व लाग्छ ।’

सन् १९८३ को एउटा घटनाले बार्सिलोनामा म्याराडोनाको सम्बन्ध बिग्रियो । रियल म्याड्रिडविरुद्धको खेलमा म्याराडोनाले डिफेन्डर जुआन जोसे तथा गोलरक्षक अगस्टिनलाई छलाएर गोल गरेका थिए । रियलको घरेलु मैदान सान्टिएगो बर्नावेउमा बार्सिलोनाका सबै खेलाडीसँगै म्याराडोनाले खुसी मनाए । त्यसपछि रियलका समर्थक पूरै म्याराडोनाका विरोधी भएर निस्किए ।

बार्सिलोनामा कीर्तिमानी सम्झौता तथा बलियो पोजिसन माझ बसेका म्याराडोनाको भविष्य बिस्तारै धमिलो हुँदै गयो । सन् १९८३–८४ को सिजनमै म्याराडोनाले बार्सिलोना छाडे । केवल एउटै खेलका कारण बार्सिलोना छाड्न उनी विवश भए । कोपा डेल रेको फाइनल म्याड्रिडमा भएको थियो ।

बार्सिलोनाले उपाधि भिडन्तमा एटलेटिको बिल्बाओविरुद्ध प्रतिस्पर्धा गरेको थियो । म्याड्रिडका समर्थकहरूलाई म्याराडोनासँग पछिल्लो बदला लिने सुनौलो अवसर यही थियो । सान्टिएगो बर्नावेउमा म्याराडोनाको ध्यान भंग गर्न रियलका समर्थकले ‘रंगभेद’ नीति अपनाए । 

रियलका समर्थकले मैदानमा ‘म्याराडोनाको बुबा अमेरिकन होइन, बुबा ननअमेरिकन हुन्’ भनी ब्यानर राखे, साथै यस्तै शब्दमा म्याराडोनालाई गिज्याए । एउटा नराम्रो ट्याकलमा म्याराडोना मैदानबाट बाहिरिए, खेल बार्सिलोनाले १–० को नतिजामा गुमायो ।

यस खेल हेर्न स्पेनिस राजा जुआन कार्लोस पनि रंगशालामा उपस्थित भएका थिए । स्पेनिस जनता र समर्थकले बेइज्जत गरेको भनी म्याराडोनाले क्लबमा रिपोर्ट राखे । तर, क्लबका अध्यक्ष जोसेप नुनेजले म्याराडोनाप्रति कुनै सदभाव देखाएनन् । जोसेपले सीधै सिरिए क्लब नेपोलीलाई म्याराडोना बेचे । एउटा सामान्य घटनाका कारण म्याराडोनाले बार्सिलोना त्याग्नुपरेको थियो ।

३. रोनाल्डिन्हो
आधिकारिक रूपमा बार्सिलोनाबाट रोनाल्डिन्हो २००८ मै बाहिरिएका थिए । पाँच वर्षको सम्झौतामा रोनाल्डिन्होले धेरै पाए । तर, सम्झौताको अन्तिम वर्षमा बार्सिलोनाले जुन रोनान्डिन्हो देखेको थियो, त्यो पाउन सकेन । विश्वप्रसिद्ध खेलाडीको स्तर एकाएक घटेपछि बार्सिलोनाले रोनाल्डिन्होलाई वास्ता गर्न छाड्यो । 

बिस्तारै युवा अर्जेन्टिनी लियोनल मेसी बार्सिलोनामा चम्किरहेका थिए । बार्सिलोनाको पूरै जिम्मेवारी प्रशिक्षक पेप ग्वार्डिओलाको हातमा थियो । पेप मेसीप्रति मोहित भइसकेका थिए । मेसी भविष्यकै सुपरस्टार हुन सक्ने अनुमान पेपले लगाइसकेका थिए । त्यसताका स्टार खेलाडी भनिएका रोनाल्डिन्होको दिन सकिन लागेको सबैले अनुमान गरे । 

काम नलाग्ने खेलाडी क्लबमा राखेर फाइदा नहुने प्रशिक्षकको भनाइ थियो । पेप बार्सिलोनामा आउनुअघिको सिजनमा रोनाल्डिन्होले २९ खेलमा नौ गोल मात्र गरेका थिए । दुई वर्षमा रोनाल्डिन्होले क्रमशः ४९ खेलमा २४ तथा ४५ खेलमा २६ गोल गरे । यसै तथ्यांककै आधारमा बार्सिलोनाले स्टार ब्राजिलियन खेलाडीलाई नाउ क्याम्पमा नराख्ने निधो गऱ्याे । यसमा प्रशिक्षक पेपको पनि समर्थन थियो । रोनाल्डिन्होले बार्सिलोनाबाट बाहिरिनुको पछाडि पेप नभएको जनाए ।

‘मेरो बर्हिगमनमा प्रशिक्षकको हात छैन,’ रोनाल्डिन्होले भने । रोनाल्डिन्होले बार्सिलोनाबाट बिदा लिनुको एउटै कारण थियो, उनको स्वभाव । स्टारडमले मात्तिएका रोनाल्डिन्होको दैनिक डिस्को जाने, महिलासँग घुमफिर गर्ने र दिनदिनै हजारौँ डलर खर्च गर्नु नै थियो । यसको एउटै कारण थियो– उनले आफ्नो करिअरमा फिफा विश्वकप, दुईपटक युरोपियन च्याम्पियन्स लिग, कोपा अमेरिका र फिफा बालोन डिअर उपाधि जितेका थिए । एक खेलाडीले राष्ट्रिय तथा क्लब टोलीबाट प्रतिनिधित्व गरी प्राप्त गर्ने सबै उपाधि जितेका कारण पनि रोनाल्डिन्होसँग स्टारडम चढेको बताइन्छ । यसलाई नियन्त्रणमा राख्न नसक्दा नै उनले बार्सिलोनामा राम्रो करिअर नै समाप्त परे । 

प्रशिक्षक पेप खेलाडीलाई अनुशासनमा राख्थे । अनुशासनबाहिर रहेका स्टार खेलाडीलाई उनी कारबाही गर्थे, दिन प्रतिदिन रोनाडिन्होको व्यवहार बार्सिलोनामा परिवर्तन हुँदै गयो । 

रात्रिकालीन जीवनमा बढी समय बिताएपछि पेपले भित्री रूपमै उनलाई बाहिर पठाउने योजना बनाएका थिए । फेरि प्रशिक्षणको समयमा डेको रो र डोनाल्डिन्हो रक्सी पिएरै आउँथे । धेरै भएपछि पेपले यी दुवै खेलाडीलाई बेचे । 

४. लुइस फिगो
यदि बार्सिलोना त्याग्नु छ, विवाद सिर्जना गर्ने, बार्सिलोनलाई तल देखाउने कार्य गर्नुपर्छ । त्यसपछि उसैको ठूलो शत्रुको क्लबसँग नाता गाँस्नुपर्छ । त्योभन्दो ठूलो उपाय अरू केही हुनेछैन । थोरै खेलाडी यस्तो भावना राखी बाहिरिएका छन् । धेरैजसो खेलाडी राम्रो सम्न्धब बनाएर बाहिरिने गर्छन् । 

नराम्रो भावनाका साथ बाहिरिनेमध्येमा पोर्चुगलका लुइस फिगो पर्छन् । बार्सिलोनाभन्दा महान् क्लब देखाउन उनी चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडसँग अनुबन्ध भए । २००० को जुलाईमा लुइस फिगोले बार्सिलोना छाडी रियल म्याड्रिडसँग सम्बन्ध जोड्दा समर्थकबीच झडप नै भएको थियो । 

त्यही सिजन एल क्लासिकोमै फिगोले रियलको प्रशंसा गरेका थिए । खेलका नायक फ्रान्सिसे अर्नाउले निर्णायक गोल गरेका थिए । सो खेलपछि फिगोले भने, ‘आजको खेलमा अर्नाउले अचम्मको खेल प्रदर्शन गरे, हामी सबै अचम्मित भएका छौँ ।’ धेरैकाे उनको बोली किन रियलप्रति गएको भन्ने थियो । 

केही दिनपछि फिगोले एउटा खुलासा गरे । ‘केही साताअघि मात्र म र रियलबीच सम्झौता भएको थियो,’ बार्सिलोनाकै जर्सीमा उनले भने । फिगोको भनाइमा कति सत्यता थियो वा थिएन, उनले नै जानुन् । तर बार्सिलोनाको सडकमा उनीविरुद्ध नाराबाजी सुरु भइसकेको थियो । क्लबका अध्यक्ष जोआनले फिगोलाई क्लबमै राख्ने योजना बनाए । तर, रियलको सम्झौता रकममा लोभिएका फिगो बार्सिलोनाको कुरा सुन्न नै तयार भएनन् । 

उनले अध्यक्ष जोसेपलाई भने, ‘खेलजीवनमा धेरै पैसा कमाउनुपर्छ, बार्सिलोनामा रहँदा मैले केही कमाउन सकिनँ, अव रियलमा थुप्रै पैसा कमाउन जाँदै छु ।’ यो भनाइपछि बार्सिलोनाका समर्थकले स्टार खेलाडी पैसामा बिकेको ट्याग भिराए । 

एजेन्सीको सहयोगमा