१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ भदौ १५ सोमबार २०:४९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संगठित रूपमा ठगी धन्दा चलाउँदै आएका शिवजीलाई कारबाही गर्न माग 

Read Time : > 1 मिनेट
२०७७ भदौ १५ सोमबार २०:४९:००

राजनीतिको आडमा ठगी धन्दा चलाउँदै आएका औरही गाउँपालिका– ५ का शिवजी यादव र उनको गिरोहलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न संयुक्त दलित संघर्ष समिति सिराहाले माग गरेको छ । समितिले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

समितिका संयोजक राजु विश्वकर्मासहितको टोलीले प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलमार्फत ज्ञापनपत्र बुझाउँदै ठगी धन्दाको छानबिन गरी शिवजीसहित संलग्न सम्पूर्ण व्यक्तिलाई पक्राउ गरी कारबाहीको माग गरेको छ । ‘दलितहरूको हत्या, कुटपिट, शोषण, उत्पीडन जारी रहे नारा–जुलुस गरेर मात्र  गरेर बस्दैनौँ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘राज्यले दलितविरुद्ध भएका घटनालाई गम्भीर ढंगले नलिए कडा आन्दोलन गर्न बाध्य हुनेछौँ, त्यस्तो अवस्थामा हुने सबै खालको परिणामको जिम्मेवार सरकार हुनेछ ।’

शिवजीले जिल्लाका विभिन्न ठाउँका विशेषगरी मुसहर समुदायका किशोरदेखि प्रौढ व्यक्तिलाई भारतको पन्जाब, हरियाणालगायतका स्थानमा लगेर मजदुरी गराउने, तर ज्याला भने आफैँले लिइरहेकोप्रति ध्यानाकर्षण भएको समितिले जनाएको छ । उनको अगाडि बोल्न नसक्ने मुसहर युवाहरू वर्षौं काममा जोतिएर घर फर्किंदा खालीहात फर्किन बाध्य हुनुपर्ने अवस्था छ । पन्जाब जानुअघि घरखर्चका लागि लिएको थोरै पेस्की रकमको चक्रवर्ती ब्याज जोडेर जबर्जस्ती कपाली तमसुक बनाउँदै शिवजीले ठगी गर्दै आएको ज्ञापनपत्रमा उल्लेख छ । 

पार्टीभित्रबाट कारबाहीको दबाब
रोजगारीको नाममा सोझा मुसहरमाथि चरम शोषण गरी ठगीधन्दा चलाउँदै आएका शिवजी यादवलाई पार्टीबाट तत्काल कारबाही गर्न पार्टीसम्बद्ध दलित अगुवाहरूले दबाब दिन थालेका छन् । 

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा दलित मुक्ति महासंघका केन्द्रीय सहइन्चार्ज चन्देश्वर पासवानले वर्षौंदेखि मुसहरहरूमाथि शिवजीले रोजगारीको नाममा शोषण गरेर पार्टीको आडमा सामाजिक अपराध गरेको बताए । ‘पीडितहरूसँग भेटेर गरिएको कुराकानीको आधारमा तयार गरिएको प्रतिवेदन पार्टीलाई बुझाउँदैछौँ, पार्टीले आनाकानी गरे विद्रोह गर्छौँ,’ सहइन्चार्ज पासवानले भने, ‘जसको लागि राजनीति गर्ने हो, त्यही समुदायमाथि नै अत्याचार गर्ने व्यक्तिलाई पार्टीले संरक्षण गर्यो भने विद्रोह र आन्दोलनको विकल्प छैन ।’