१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ १५ सोमबार १३:२८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिका समाचार प्रभाव : सिराहाका जनप्रतिनिधिले कोरोना नियन्त्रणमा खटिएको नाममा लिएको जोखिम भत्ता फिर्ता गर्न थाले 

Read Time : > 1 मिनेट
२०७७ भदौ १५ सोमबार १३:२८:००

काेरोना महामारी रोकथाम नियन्त्रणमा खटिएको भन्दै ‘जोखिम भत्ता’ बुझेका सिराहाका स्थानीय तहका जनप्रतिनिधिहरूले भत्ता फिर्ता गर्न थालेका छन् । 

नयाँ पत्रिकाले काेरोना महामारी रोकथाम नियन्त्रणको नाममा सिराहा नगरपालिका र अर्नामा गाउँपालिकाका जनप्रतिनिधिले भत्ता लिएको समाचार प्रकाशन गरेको थियो । त्यसपछि सो क्षेत्रका जनप्रतिनिधिले भत्ता फिर्ता गर्न सुरु गरेका हुन् । 

अर्नामा गाउँपालिकाका जनप्रतिनिधिले जोखिम भत्ता फिर्ता गर्न कार्यपालिका बैठकबाट निर्णय गरेको छ । अर्नामा गाउँपालिकाले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्य गरी १३ जनालाई वितरण गरिएको ‘जोखिम भत्ता’ फिर्ता गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष ठक्कु महतोले बताए । 

अर्नामा गाउँपालिकाको ८ भदौमा बसेको कार्यपालिका बैठकबाट जोखिम भत्ता फिर्ता गर्ने निर्णय गरेको अध्यक्ष महतोले बताए । 

पाँच वडा रहेको अर्नामा गाउँपालिकाले अध्यक्ष ठक्कु महतोलाई ६५ हजार ६ सय ५०, उपाध्यक्ष सियावती मुखियालाई २४ हजार, वडाध्यक्षहरूलाई जनही १७ हजार र ६ जना कार्यपालिका सदस्यलाई जनही नाै हजारका दरले दुई लाख ६९ हजार जोखिम भत्ता पाएको प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द सिंहले बताए ।

सिराहा नगरपालिकाका ३२ मध्ये आठले फिर्ता गरे
सिराहा नगरपालिकाका ३२ जना जनप्रतिनिधिमध्ये नेपाली कांग्रेसतर्फका आठजना जनप्रतिनिधिले रकम बुझेको जोखिम भत्ता फिर्ता गरिसकेका छन् । 

सिराहा नगरपालिकाले ३२ जना जनप्रतिनिधिलाई जोखिम भत्ताको नाममा २७ लाख २२ हजार चार सय रुपैयाँ खर्चिएको छ । 

औरही गाउँपालिकाले फिर्ता गर्न चिट्ठी काट्यो
औरही गाउँपालिकाले ११ लाख ९६ हजार ६ सय रुपैयाँ जनप्रतिनिधिलाई जोखिम भत्ताको नाममा खर्चिएको छ । 
२९ जना जनप्रतिनिधिलाई औरही गाउँपालिकाले कोरोना महामारीमा खटिएको भन्दै जोखिम भत्ता वितरण गरेको हो । 
गाउँपालिकाले जोखिम भत्ता फिर्ता गर्न जनप्रतिनिधिलाई पत्र काटिसकेको छ । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहले जनप्रतिनिधिलाई वितरण गरिएको जोखिम भत्ता फिर्ता गर्न पत्र पठाइएको नयाँ पत्रिकालाई बताए ।

जिल्ला समन्वय समितिले स्थानीय तहलाई निर्देशन दियो 
जिल्ला समन्वय समिति सिराहाले जोखिम भत्ता फिर्ता गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ । 

जिसस सिराहा सभापति रामचन्द्र ठाकुरले जनप्रतिनिधिले कोरोना नियन्त्रण रोकथामका नाममा बुझेका जोखिम भत्ता फिर्ता गर्न साउन ३२ मा पत्राचार गरिएको बताए । 

पत्रमा जाोखिम भत्ता ‘अवैधानिक तथा नियमसंगत’ नभएकाले फिर्ता गर्न निर्देशन दिएको छ ।

अख्तियारको छानबिन जारी 
सिराहा नगरपालिका र औरही गाउँपालिकाले कोरोना रोकथाम, नियन्त्रणमा गरिएको खर्चबारे अख्तियारले छानबिन गरिरहेको छ । 

सिराहा नगरपालिका र औरही गाउँपालिकाको कोरोना नियन्त्रण रोकथाममा गरिएको खर्चसम्बन्धी कागजातको प्रतिलिपि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले अनुसन्धानका लागि लिएर गएको छ ।

कोरोना भाइरसको नाममा स्थानीय तहहरूमा भ्रष्टाचार मौलाएको अर्नामा  गाउँपालिकाका नेकपाका युवा नेता अरबिन्द यादवले बताए । 

सेवा गर्न निर्वाचित जनप्रतिनिधिहरू विभिन्न वहानामा सुविधा लिन तल्लीन भएको उनले बताए ।