मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दिवंगत अधिकारकर्मी इब्रु टिमटिक
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १५ सोमबार ०४:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सत्ताको अत्याचारविरुद्ध २३८ दिनदेखि आमरण अनशनमा रहेकी टर्कीकी वकिलको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १५ सोमबार ०४:०५:००

आफू र साथीहरूको मुद्दाको निष्पक्ष सुनुवाइ हुनुपर्ने माग गर्दै दुई सय ३८ दिनदेखि आमरण अनशनरत टर्कीकी मानवअधिकारवादी वकिल इब्रु टिमटिकको मृत्यु भएको छ । ४२ वर्षीया कुर्दिस वकिल इब्रुको इस्तानबुलस्थित अस्पतालमा बिहीबार निधन भएको टर्कीको प्रोग्रेसिभ लयर्स एसोसिएसनले जानकारी दिएको छ । बिहीबार नै मृत्यु भए पनि उनको मृत्युको जानकारी भने शुक्रबार मात्र सार्वजनिक गरिएको थियो । इब्रुको मृत्युलाई अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठनहरूले टर्किस न्यायप्रणाली र सरकारले गरेको हत्याको आरोप लगाएका छन् ।

इब्रुसहित थप १७ जनालाई टर्किस सरकारले आतंकवादी समूहको सदस्य रहेको आरोपमा पक्राउ गरेको थियो । उनीहरूलाई गैरकानुनी घोषित रिभोलुसनरी पिपुल्स लिबरेसन पार्टी­­­– फ्रन्ट (डिएचकेपी–सी) समूहसँग सम्बद्ध भएको आरोप लागेको थियो । यो संगठनलाई टर्की सरकारले आतंकवादी संगठन घोषित गरेको छ । यो संगठनलाई टर्की, संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनले आतंककारी घोषणा गरेका छन् ।

सेप्टेम्बर सन् २०१७ मा उनलाई पक्राउ गरिएको थियो । इब्रु र उनका साथीहरूलाई अदालतले सुरुमा रिहा गर्ने फैसला गरेको थियो । रिहा गर्ने फैसला गरेको २४ घन्टा नबित्दै बेनामी साक्षीको बयानका आधारमा उनीहरूलाई फेरि पक्राउ गरियो । गत वर्ष २०१९ को मार्चमा उनीहरूलाई १७ वर्ष ६ महिना जेल सजाय सुनाइएको थियो । यसरी आफू र आफ्ना साथीमाथि अन्यायपूर्ण फैसला गरिएकोे भन्दै निष्पक्ष सुनुवाइ हुनुपर्ने माग गर्दै इब्रुले २ जनवरी २०२० मा आमरण अनशन सुरु गरेकी थिइन् ।

टर्कीमा राष्ट्रपति रेसेप तैयप एर्दोगनको शासनकाल सुरु भएसँगै टर्किस अदालतको निष्पक्षता र स्वतन्त्रातमाथि विपक्षी राजनीतिक दल र मानवअधिकारकर्मीहरूले निरन्तर प्रश्न उठाइरहेका छन् । इब्रुको मृत्युपछि शुक्रबार इस्तानबुल बार एसोसिएसनबाहिर अदालत र सरकारको विरोधमा ठूलो विरोध प्रदर्शन भएको छ । उक्त प्रदर्शनमा प्रहरीले अश्रुग्यास र रबरको गोली चलाएको थियो । आन्दोलनमा सहभागी केही वकिललाई प्रहरीले पक्राउसमेत गरेको छ । 

इब्रुको अन्तिम संस्कारमा सहभागी हुन पुगेका मानिसमाथि पनि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । समर्थकले ‘इब्रु अमर छिन्, हत्यारा सरकार, इबु्रको हत्या भुल्ने छैनौँ’लगायतका नारा लगाएका थिए । इब्रुको मृत्युप्रति युरोपियन कमिसन र युरोपियन मानवअधिकार काउन्सिलले दुःख व्यक्त गरेका छन् । टर्कीको सरकार तथा त्यहाँको न्यायप्रणालीले पत्रकार, अधिकारकर्मीलाई न्यायको पक्षमा बोल्न नदिने वातावरण सिर्जना गरेकोप्रति उनीहरूले खेद व्यक्त गरेका छन् ।

१ जुनमा इब्रु र उनका १७ जना साथीको रिहाइका लागि इन्टरनेसनल एसोसिएसन अफ डेमोक्रेटिक लयर्सका तीन सय ६५ जना वकिल र टर्कीका चार सयजना वकिलले हस्ताक्षरसहित टर्कीको सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

यसअघि पिपुल्स लिबरेसन पार्टी फ्रन्ट (डिएचकेपी–सी) समूहसँग सम्बद्ध भएको आरोप लागेका दुईजना संगीतकर्मीको पनि गत अप्रिल र मे महिनामा मृत्यु भएको थियो । उनीहरू पनि आमरण अनशन बसेका थिए । 

न्यायिक अधिकारको माग गरिरहेका व्यक्तिको लगातार मृत्यु हुन थालेपछि टर्की सरकार बहिरो भएको भन्दै त्यहाँका प्रगतिशील वकिलहरूले आलोचना गरेका छन् । ‘निष्पक्ष सुनुवाइ मानिसको आधारभूत अधिकार हो । आधारभूत मानवअधिकार माग गर्दागर्दै वकिलको मृत्यु हुने अवस्था टर्कीको न्यायप्रणालीका लागि गम्भीर चेतावनी हो,’ मानवअधिकारवादी वकिल एर्डल डोगनले भने ।

अदालतमाथि राजनीतिक छाया परेकै कारण इब्रुको मृत्यु भएको भन्दै एमनेस्टी इन्टरनेसनलले टर्किस अदालतलाई निष्पक्ष बनाउनुपर्ने माग गरेको छ । न्यायका नाममा टर्किस अदालतले अन्याय गरिरहेको एमनेस्टीले आरोप लगाएको छ ।

इब्रुको मृत्यु भए पनि उनीसँगै जेल परेका उनका साथी अयातक अनसुलले भने अनशन जारी राखेका छन् । इब्रुसँगै अनशन सुरु गरेका अयातकले अस्पतालमै अनशन जारी राखेका हुन् ।

टर्कीमा हालसालै भएको सर्वेक्षणअनुसार सरकारी वकिलहरूले आतंकवादविरोधी कानुनको दुरुपयोग गरिरहेका छन् । पछिल्ला चार वर्षमा मात्र सरकारी वकिलले दुई लाख २० हजार मानिसमाथि आतंकवादी संगठनको सदस्य भएको आरोप लगाएर मुद्दा दायर गरेका छन् । (एजेन्सीको सहयोगमा)