मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ भदौ १४ आइतबार २०:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वइन्स्पेक्टर हाछेथू ललितपुरको महानगर प्रहरी प्रमुखमा नियुक्त

Read Time : < 1 मिनेट
२०७७ भदौ १४ आइतबार २०:१२:००

पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथूलाई ललितपुर महानगरपालिकाले महानगरको नगर प्रहरी बल प्रमुखमा नियुक्त गरेको छ । नगरप्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार उनलाई नियुक्त गरेको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाका नगरप्रहरीको क्षमतालाई अझै चुस्त बनाउन सीतारामलाई ल्याएको बताए । महर्जनले, ‘उहाँको कार्यक्षमता, शैलीबाट जनता प्रभावित हुनुहुन्छ, त्यसैले ल्याएका हौँ ।’ पूर्वट्राफिक प्रहरीको अनुभवले ललितपुर महानगरका नगरप्रहरी अझै दक्ष हुने बताउँदै नमुना नगर प्रहरी बनाउन हाछेथूको भूमिका महत्वपूर्ण हुने बताए ।

महानगरभित्रको ट्राफिक व्यवस्थापन गर्दै महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापनसँग सम्बन्धित योजना कार्यान्वयन गर्न विज्ञका रूपमा सीतारामलाई ल्याएको उनको भनाइ छ । हाछेथूले महानगरको नीति र निर्देशनअनुसार ललितपुर महानगरलाई व्यवस्थित सहर बनाउन काम गर्ने बताए ।

उनले भने, ‘ललितपुरका मेयर चिरिबाबु महर्जनले विश्वास गरेर यो जिम्मेवारी दिनुभएको छ, यो जिम्मेवारी पूरा गर्छु ।’ उनले ललितपुर महानगरलाई नमुना नगर बनाउने प्रतिबद्धता व्यक्त गर्दै ट्राफिक व्यवस्थापन, सरसफाइ र फुटपाथ व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । ०७५ साल मंसिर महिनामा अवकाश पाएका हाछेथू लामो समय ट्राफिक व्यवस्थापनमा खटिएका थिए । कुशल ट्राफिक व्यवस्थापनका कारण उनी लोकप्रिय बनेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरका नगरप्रहरीको क्षमतालाई चुस्त बनाउन हाछेथूलाई नियुक्त गरेको बताए । 

हाछेथूले महानगरको नीति र निर्देशनअनुसार ललितपुर महानगरलाई व्यवस्थित सहर बनाउन काम गर्ने बताए ।