मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी लण्डन
२०७७ भदौ १४ आइतबार १०:५६:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

आर्सनलले जित्यो कम्युनिटी सिल्डको १६औँ उपाधि

Read Time : > 2 मिनेट
एजेन्सी लण्डन
२०७७ भदौ १४ आइतबार १०:५६:००

पिइरे–इमेरिक औबामेयाङले पहिलो हाफमा उत्कृष्ट गोल गरेसँगै टाइब्रेकरमा पनि निर्णायक गोल गरेपछि आर्सनलले कम्युनिटी सिल्डको १६औँ उपाधि जितेको छ । उपाधिका लागि आर्सनलले इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुललाई टाइब्रेकरमा ५–४ ले पराजित गर्‍यो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमार्फत खेलको निर्णय लिइएको थियो । 

यो उपाधिसँगै आर्सनलले नयाँ सिजनको सुखद सुरुवात गरेको छ । कम्युनिटी सिल्डलाई इंग्लिस फुटबलको नयाँ सिजनको सुरुवात मानिन्छ । गत सिजनको घरेलु प्रिमियर लिग र एफए कपको विजेता टोलीबीच हुने यो प्रतिस्पर्धापछि इंग्लिस फुटबलको नयाँ सिजन सुरु भएको मानिनेछ ।

दर्शकविनाको वेम्बली स्टेडियममा भएको टाइब्रेकरमा लिभरपुलका स्ट्राइकर ह्रियन ब्रेइस्टरले मात्रै गोल गर्न सकेनन् । उनको प्रहार क्रस बारमा लागेर फर्किएको थियो । 

औबामेयाङको कर्लिङ सट गोलमा परिणत भएपछि एफए कप विजेता आर्सनल पहिलो हाफमै १–० ले अघि बढेको थियो । यद्यपि, परिवर्तित खेलाडीको रूपमा मैदान प्रवेश गरेका ताकुमी मिनामिनोले गोल गरेपछि लिभरपुलले खेलको दोस्रो हाफमा खेल १–१ को बराबरीमा फर्काएको थियो ।

उनले मोहमद सलाहलाई पास दिएको बल फेरि उनीतर्फ नै फर्किएर आएको थियो । त्यही अवसरमा उनले गोल गरेका थिए । लिभरपुलले लगातार दोस्रो वर्ष टाइब्रेकरमा उपाधि गुमाएको हो । गत वर्ष म्यानचेस्टर सिटीसँग पनि लिभरपुल टाइब्रेकरमै पराजित भएको थियो ।

औबामेयाङको नेतृत्वमा सफलतातर्फ आर्सनल

लगातार दुई प्रतियोगिताको उपाधि दिलाएका स्ट्राइकर औबामेयाङ आर्सनलको महत्वपूर्ण खेलाडीको रूपमा स्थापित भइसकेका छन् । औबामेयाङले यसै महिनाको सुरुवातमा आर्सनललाई एफए कपको उपाधि दिलाउन पनि फाइनलमा दुई गोल गरेका थिए । 

त्यसपछिको पहिलो फाइनल खेल कम्युनिटी सिल्डमा पनि शनिबार उनको महत्वपूर्ण भूमिका रह्यो । निर्धारित ९० मिनेटको खेलमा नियमित रूपमा लिभरपुलको रक्षापंक्तिलाई दुःख दिएका उनले टाइब्रेकरमा पनि निर्णायक भूमिका निर्वाह गरे । 

टाइब्रेकरमा ४–४ गोलको अवस्थामा उनी अन्तिम प्रहारका लागि अघि सरेका थिए । उनको यो प्रहार असफल भएको भए उपाधि निश्चित गर्न अझै अरू प्रहार गर्नुपर्ने थियो । यो अवस्थामा उपाधि लिभरपुलको पक्षमा पनि जान सक्थ्यो । 

तर, निर्णायक प्रहारमा गोल गर्दै उनले आर्सनललाई आफ्नो नेतृत्वमा दोस्रो उपाधि दिलाए । उनले आर्सनलका लागि ११० खेलबाट ७१ गोल गरेका छन् । उनको यो प्रदर्शनपछि प्रशिक्षक मिकेल अर्टेटाले औबामेयाङले क्लबसँग आगामी सिजनका लागि नयाँ सम्झौता गर्नेमा आफू विश्वस्त रहेको बताए  ।

लिभरपुल फेरि असफल

लिभरपुल आफ्ना महत्वपूर्ण दुई खेलाडी ट्रेन्ट एलेज्यान्डर आर्नेल्ड र जोर्डन हेन्डर्सनविना नै मैदानमा उत्रिएको थियो । सुरुवातमा लिभरपुलले केही सशक्त प्रदर्शन गऱ्याे । मैदानको देब्रे साइडबाट साडियो मानेले नियमित प्रयास गरिरहे । यद्यपि, उनीहरूको प्रयासमा गोल सम्भव भएन । भिर्जिल भान डिज्क, जर्जिन्हो विज्नाल्डम र फबिन्होले नियमित रूपमा मिडफिल्डमा बल फुत्काइरहे । 

त्यसको तुलनामा आर्सनलका खेलाडीले धेरै सशक्त प्रदर्शन गरे । आर्सनलका आश्ले मेइटल्याड निल्सको प्रदर्शन निकै प्रशंसनीय रह्यो । 

त्यसका बाबजुद लिभरपुलले पनि अवसर नपाएको हाेइन । तर, कसैको पनि निगरानीमा नरहेका जेम्स मिल्नरको हेडिङ क्रस बारभन्दा माथिबाट बाहिरियो । त्यसबाहेकका अरू धेरै अवसरमा पनि लिभरपुल चुकेको थियो ।

लिभरपुलले खेलको दोस्रो हाफमा खेलमा केही पकड बनाएको थियो । झन्डै १५ मिनेट मैदानमा खेल्ने अवसर पाएका मिनामिनोको उपस्थितिमा लिभरपुल अझ सशक्त देखिएको थियो ।

तथ्य

-आर्सनलले कम्युनिटी सिल्डको १६औँ उपाधि जितेको हो । आर्सनलले १५ पटक उपाधि जितेको लिभरपुललाई पछि पारेको छ । कम्युनिटी सिल्डको उपाधि जित्ने प्रतिस्पर्धामा आर्सनल म्यानचेस्टर युनाइटेडभन्दा मात्रै पाँच उपाधिले पछि छ । म्यान युनाइटेडले २१ पटक उपाधि जितेको छ ।
 
-लिभरपुल लगातार दोस्रो सिजन टाइब्रेकरमा कम्युनिटी सिल्डको उपाधि गुमाउने पहिलो टोली बनेको छ । लिभपरपुलले उपाधिविना लगातार दोस्रो सिजन कम्युनिटी सिल्डमा सहभागी भएको पनि यो पहिलो अवसर हो ।

-आर्सनलले एफए कप विजेताको रूपमा कम्युनिटी सिल्डको सातपटक उपाधि जितेको हो ।

-आर्सनल टाइब्रेकरमा उपाधि जित्ने दोस्रो टोली बनेको छ । आर्सनलले भन्दा बढी म्यानचेस्टर युनाइटेडले टाइब्रेकरमा पाँचपटक उपाधि जितेको छ ।