मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ १४ आइतबार ०८:५०:००
Read Time : > 8 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एक रेडियो, जसले रुवान्डा नरसंहार गरायो 

Read Time : > 8 मिनेट
२०७७ भदौ १४ आइतबार ०८:५०:००

-रेडियो रुवान्डाले तटस्थता अपनाउन थालेको चार महिनापछि अर्थात् सन् १९९३ जुलाई ८ बाट एक निजी रेडियोको प्रसारण सुरु भयो । फ्रेन्च भाषामा रेडियो टेलिभिजन लिब्रे डे मिले कोलिन्स (आरटिएलएम) नाम रहेको उक्त रेडियो स्टेसन मुख्यतः तुत्सी तथा सरकारविरोधी विरुद्ध घृणा
_____________________________

अढाई दशकअघि अफ्रिकी मुलुक रुवान्डामा ठूलो जातीय नरसंहार मच्चियो । एक सय दिनभित्र आठ लाखभन्दा बढी मानिस मारिए, हजारौँ महिला यौनदासी बनाइए । टेलिभिजन, टेलिफोन एवं इन्टरनेटको प्रयोग सुरु भइसकेको समयमा समेत यत्रो नरसंहार घटिरहँदा अधिकांश विश्व अन्जान रह्यो । नरसंहारबारे जानकार फ्रान्स, अमेरिका र संयुक्त राष्ट्रसंघले पनि नरसंहार रोक्ने कुनै हस्तक्षेपकारी भूमिका खेलेनन् । यसले गर्दा रुवान्डाको अतिवादी हुतूहरूलाई रोक्ने कोही भएन र सय दिनसम्म रुवान्डा नर्कमा परिणत भयो । रुवान्डा नरसंहार देशको सबैभन्दा ठूलो जाति (जनसंख्याको ८५ प्रतिशत) हुतूभित्रको अतिवादी हिस्साले त्यहाँको दोस्रो ठूलो जाति तुत्सी (१४ प्रतिशत)माथि चलाएको सामूहिक हत्या शृंखला थियो । यद्यपि, नरसंहारमा जातीय मेलमिलापका पक्षमा रहेका केही हुतूमाथि पनि आक्रमण भएको थियो ।

लामो समय सँगसँगै बसोवास गरिरहेका दुई जातिबीच अचानक साम्प्रदायिक द्वन्द्व भड्किँदैन । जाति–जातिबीच कायम असमझदारी र विभेद वर्षौंसम्म समाधान गरिएन भने जातिबीचको वैमनस्य बढ्दै जान्छ । रुवान्डाका दुई प्रमुख जाति हुतू र तुत्सीबीचको धेरै पहिलेदेखि वैमनस्य सम्बन्ध थियो । अतिवादी समूहले त्यही वैमनस्यलाई भड्काएर जातीय नरसंहार गरेका थिए । सन् १९९४ को तुत्सी नरसंहारको पृष्ठभूमि केही वर्षदेखि बनिरहेको पछिल्ला अध्ययनहरूले देखाउँछन् । यसै तयारीअन्तर्गत हुतू समुदायमा तुत्सीहरूप्रति नकारात्मक भावना फैलाउन हुतू अतिवादीहरूले सञ्चारमाध्यमलाई उपयोग गरेका थिए । यसमा विशेषतः रेडियो र पत्रिकाको सबैभन्दा ठूलो भूमिका रह्यो । 

रुवान्डामा औपनिवेशिक कालअघिदेखि नै देशका दुई प्रमुख जाति हुतू र तुत्सीबीच वैमनस्यपूर्ण सम्बन्ध थियो । उन्नाइसौँ शताब्दीको अन्त्यतिर जर्मनीले रुवान्डामा औपनिवेशिक शासन चलाउनुअघि नै हुतू जातिमाथि अल्पसंख्यक तुत्सीले शासन गर्थे । राजा र प्रशासनको उच्च ओहोदामा तुत्सीको पकड थियो । यस अवधिमा बनेका अधिकांश नियम कानुन हुतूहरूका लागि अत्यन्त विभेदजनक थिए । जर्मनीले राजालाई नहटाई रुवान्डामाथि औपनिवेशिक शासन चलाएको थियो । राजा र जर्मनीबीचको गठबन्धनमा चलेको औपनिवेशिक शासनमा देशका स्रोतलाई जर्मनीले निर्बाध उपभोग गर्न पाउने भयो र तुत्सी राजाले पनि जर्मनीको सहयोगले आफ्नो शासन झन् बलियो बनाउने अवसर पाए ।

जर्मनीले रुवान्डाभित्रको हुतूमाथि तुत्सीको आधिपत्यलाई खासै परिवर्तन गरेन, बरु त्यसलाई प्रोत्साहन नै गरेको थियो । पहिलो विश्वयुद्धमा जर्मनीको हारपछि यो क्षेत्र बेल्जियमको कब्जामा आयो । बेल्जियमले जर्मनीले पछ्याएको राजासँगको सहकार्यको नीति पछ्याएर रुवान्डामाथि शासन ग¥यो । बेल्जियमको शासनमा तुत्सी, हुतूबीचको विभेद र वैमनस्य झनै गहिरियो । बेल्जियमले नाक र आँखाको आकार तथा उचाइलाई हेरेर तुत्सी र हुतूलाई प्रस्ट छुट्याउने गरी परिचयपत्र नै बाँड्नेसम्मका काम ग¥यो ।

सन् १९५९ मा हुतू जाति तुत्सी जातिको अल्पसंख्यक शासनविरुद्ध आन्दोलनमा उत्रिए । आन्दोलन तीन वर्षसम्म चल्यो । यस अवधिमा राजनीतिक तथा समाजिक रूपमा धेरै परिवर्तन भए । सन् १९६१ मा गणतन्त्र स्थापना भयो र लगत्तै अर्को वर्ष बेल्जियमले रुवान्डा छाड्यो । शासनसत्तामा तुत्सीको पकड निकै कमजोर हुन पुग्यो, त्यो स्थान हुतू जातिले लिए । यी परिवर्तन तुत्सीमाथि व्यापक आक्रमण गरेर आएको थियो । कैयौँ तुत्सीको घर जलाइए । कैयौँ मारिए । यस परिस्थितिबाट बच्न दशौँ हजार तुत्सी छिमेकी देशमा शरण लिन पुगे । आन्दोलन सकिएपछि पनि हुतूबहुल सरकारले तुत्सी जातिमाथि दमन अभियान सञ्चालन गरिरह्यो । थप साढे तीन लाख तुत्सी ज्यान जोगाउन निर्वासित हुन पुगे ।

तुत्सीहरू बसोवास रहेका शरणार्थी शिविरमा आक्रोशको स्थिति बढिरहेको थियो । त्यहीबीच, केही सशस्त्र समूह गठन भए र तिनले रुवान्डा पसेर देश फर्कन पाउनुपर्ने माग राख्दै विद्रोह सुरु गर्ने प्रयास पनि गरे । जवाफमा सरकारले कडा कारबाही ग¥यो । विद्रोही समूहका अतिरिक्त रुवान्डामा बसोवास गरिरहेका तुत्सीमाथि समेत थप दमन भयो । सन् १९६३ मा उठेको यो विद्रोह दबिएर सकियो । एउटा विद्रोह अन्त्य भए पनि आक्रोश अन्त्य भएको थिएन । पुनः विद्रोही समूहको गठन हुन केही दशक लाग्यो । रुवान्डाको छिमेकी युगान्डाका शरणार्थी क्याम्पहरूमा आकार लिँदै गएको प्रतिरोधी समूह सन् १९८७ मा रुवान्डा पेट्रोटिक फ्रन्ट (आरपिएफ)को रूपमा उदायो ।

आरपिएफका संस्थापक सदस्यमा रुवान्डाका वर्तमान राष्ट्रपति पल कगामे पनि थिए । सुरुमा अध्ययन समूहका रूपमा गठन भएको संगठन पछि सैन्य दस्तासहितको राजनीतिक पार्टीका रूपमा विकसित भयो । शरणार्थी तुत्सीलाई देश फर्काउनुपर्ने मुख्य माग रहेको पार्टीलाई युगान्डा सरकारले प्रत्यक्ष आर्थिक तथा सैन्य सहयोग गरेको थियो । 

उता, रुवान्डाभित्र सन् १९७३ देखि पूर्वसैनिक प्रमुख जुवेनल हविअरिमानाको तानाशाही शासन चलिरहेको थियो । हविअरिमानाको शासनकालमा राज्यसत्तामा हुतूको पकड झन् बलियो बनेको थियो । यसविरुद्ध सीमापारि युगान्डामा शक्ति बढाउँदै गएको विद्रोही शक्तिबारे भने रुवान्डा सरकार बेखबर थियो । आरपिएफले सन् १९९० अक्टोरमा रुवान्डा सरकारविरुद्ध युद्ध घोषणा ग¥यो र रुवान्डा गृहयुद्धमा फस्यो । विद्रोही फौज रुवान्डाभित्र पसेर उत्तरी इलाकाका पहाडमा आधार बनाएर बस्यो ।

ती आधारबाट निरन्तर रुवान्डाको सरकारी फौजमाथि आक्रमण हुन थाल्यो । गृहयुद्धले भीषण रूप लिँदै गएपछि सरकार र विद्रोही समूहबीच वार्ता सुरु भयो । अन्ततः सन् १९९३ अगस्टमा रुवान्डा सरकार र आरपिएफबीच शान्ति सम्झौता भयो । यही शान्ति सम्झौताअन्तर्गत दुई युद्धरत समूहले युद्धविरामको पनि घोषणा गरे ।

सम्झौता त भयो, तर हुतू समुदायको एक हिस्सा यसबाट खुसी थिएन । तत्कालीन समयमा रुवान्डाका अधिकांश मूलधारका दल हुतू जातिको अधिकारको पक्षधर थिए । अधिकांश दलमा ‘हुतू पावर’ भन्ने आन्दोलन उठ्न थाल्यो, जसअन्तर्गत आरपिएफसँगको सम्झौता रद्द गर्नुपर्ने माग जोडतोडका साथ चल्न थाल्यो । सत्तारूढ दल ‘नेसनल रिपब्लिकन मुभमेन्ट फर डेमोक्रेसी एन्ड डेभलपमेन्ट’भित्र पनि यस्तै माग भइरहेको थियो ।

सत्तारूढ पार्टीका हार्डलाइनरले आरपिएफ र समग्र तुत्सी समूहविरुद्ध प्रोपोगान्डा सुरु गर्न थाले । यसका लागि पहिले सरकारी सञ्चारमाध्यम ‘रेडियो युगान्डा’ परिचालित भएको थियो । सरकार र आरपिएफबीच विभिन्न चरणमा चलिरहेको वार्ताकै क्रममा सन् १९९३ मार्च महिनामा दारेसलाममा भएको एक वार्तामा सरकारी मिडियाले घृणाजन्य सामग्री प्रसारण गर्न नपाउने सहमति गरियो । 

यसपछि रेडियो रुवान्डामा एकाध अवसरबाहेक साम्प्रदायिक विषय प्रसारण हुन छाड्यो । 

तर, हुतू अतिवादीले सम्झौताका बुँदालाई बाइपास गर्न एक निजी रेडियो खोले । रेडियो रुवान्डाले तटस्थता अपनाउन थालेको चार महिनापछि अर्थात् सन् १९९३ जुलाई ८ बाट एक निजी रेडियोको प्रसारण सुरु भयो । फ्रेन्च भाषामा रेडियो टेलिभिजन लिब्रे डे मिले कोलिन्स (आरटिएलएम) नाम रहेको उक्त रेडियो स्टेसन मुख्यतः तुत्सी तथा सरकारविरोधी विरुद्ध घृणा फैलाउन प्रयोग हुन थाल्यो । आरटिएलएम स्थापनामा राष्ट्रपति हबिअरिमाना र उनकी पत्नीनजिकका व्यक्तिकै मुख्य हात थियो । यति मात्र होइन, सरकारी रेडियोले नयाँ रेडियो सञ्चालनमा धेरै सहयोग गरेको थियो । रेडियो रुवान्डाका केही कर्मचारी आरटिएलएममा पनि कार्यक्रम चलाउँथे ।

त्यस्तै, नयाँ रेडियो सञ्चालन गर्न उपकरण पनि सरकारी रेडियोकै प्रयोग भएको थियो । अझ आरटिएलएमको प्रसारणमा रेडियो रुवान्डाकै ट्रान्समिटरसमेत उपभोग गर्न दिइएको थियो । यी सब तथ्यबाट रेडियो स्टेसन आरटिएलएमको सत्तारूढ दलसँग सम्बन्ध रहेको प्रस्ट हुन्थ्यो । रेडियोमा आमन्त्रित हुने नेताहरू पनि अधिकांश सरकारसँग नजिक अतिवादी हुतू नेता नै हुन्थे । 

आरटिएलएमले समाचार र विश्लेषण कार्यक्रम मात्र सञ्चालन गर्दैनथ्यो । यसमा प्रसारण हुने गीत–संगीतका कार्यक्रम तथा फोन–इन कार्यक्रम निकै लोकप्रिय थिए । बिस्तारै बढ्दै गएको श्रोतालाई रेडियोले प्रोपोगान्डा सामग्रीमार्फत साम्प्रदायिक बनाउन थाल्यो । यो रेडियो तुत्सीहरू हुतूविरुद्ध नरसहांरको तयारीमा रहेको आरोप लगाउँथ्यो । यसले तुत्सीहरूले कारबाही सुरु गर्नुअघि नै हुतूले तुत्सीहरूको सफाया गर्नुपर्ने आह्वान गथ्र्याे । रेडियोले तुत्सी जातिका अतिरिक्त साम्प्रदायिक सद्भावका पक्षका हुतू, शान्ति सम्झौताअन्तर्गत रुवान्डा आएको संयुक्त राष्ट्रसंघीय फौजलाई पनि अत्यन्त नकारात्मक रूपमा चित्रित गर्ने गथ्र्यो । 

आरटिएलएमभन्दा अघिदेखि नै ‘कन्गुरा’ नामक एक पत्रिकाले तुत्सीविरुद्ध नकारात्मक धारणा फैलाइरहेको थियो । तर, पत्रिकाको सीमित पहुँचको तुलनामा रेडियोको प्रभाव निकै बढी थियो । पत्रिका सहरी शिक्षित वर्गले मात्र पढ्थे भने आरटिएलएमको पहुँच देशको कुनाकाप्चासम्म थियो । रुवान्डाको सबैभन्दा ठूलो अंग्रेजीभाषी पत्रिका ‘द न्यु टाइम्स’का सम्पादक केनेडी नाहिरोले ‘द एटलान्टिक’मा त्यस समयको आरटिएलएमको प्रसारणबारे लेख्दै भनेका छन्, ‘रेडियोले कहिल्यै पनि तुत्सीलाई मानवका रूपमा प्रस्तुत गरेन । तुत्सीहरूलाई ‘इन्येन्जी (साङ्लो)’ र इन्जोका (साँप) भनेर सम्बोधन गरिन्थ्यो । तुत्सीहरू हुतूभन्दा केही अग्लो भएकोतर्फ संकेत गर्दै हुतूहरूलाई ‘अग्ला रूख ढाल्न’ आह्वान आइरहन्थ्यो ।’

नाहिरोका अनुसार रुवान्डा स्वतन्त्र भएदेखि नै जबजब हुुतुबहुल सरकार संकटमा पथ्र्यो, तब सरकार सीमापारिका र वारिका तुत्सीमाथि लगाएर पन्छने गथ्र्यो । जसलाई सरकारी मिडिया बढाइचढाइ प्रसारण गरिदिन्थे । उनका अनुसार नरसंहारको केही महिनाअघि सत्तारूढ दलभित्र विभिन्न गुट निर्माण भएकाले सरकार संकटमा परेको थियो । सत्तारूढ दलको एक समूह शान्ति सम्झौताबाट पछि हट्नुपर्ने पक्षमा अडिग थियो । त्यसमाथि विद्रोह आरपिएफको प्रभाव बढ्दै गएकाले हबिअरिमानाको सरकारमाथि थप दबाब उत्पन्न भइरहेको थियो । त्यसकारण सञ्चारमाध्यमबाट आमहुतूहरूमा तुत्सीविरोधी भावना व्यापक बढाइएको थियो । यसमा सरकारभित्रका केही उच्च पदाधिकारी संलग्न रहेको बताइन्छ । 

तुत्सीविरुद्ध लामो समय विद्वेष फैलाइए पनि नरसंहार भने राष्ट्रपति हबिअरिमानाको जहाज दुर्घटनामा मृत्यु भएपछि सुरु भयो । ६ अप्रिल १९९४ मा हबिअरिमाना चढेको विमान किगाली अन्तर्राष्ट्रिय विमानस्थलबाट अवतरण गर्न लाग्दा खसालियो । विमानमा हबिअरिमानाका अतिरिक्त बुरुन्डीका राष्ट्रपतिसमेत सवार थिए । दुई नेता दारेसलाममा सम्पन्न अफ्रिकी नेताहरूको बैठकमा सहभागी भएर फर्केका थिए । उक्त विमान कसले खसाल्यो भन्ने आजसम्म पनि रहस्यमय नै छ । तर, हुतू हार्डलाइनर पक्षले यसमा आरपिएफको हात रहेको आरोप लगायो र आमनरसंहार सुरु ग¥यो । (आरपिएफले भने सत्तारूढ दलभित्र शान्तिसम्झौताविरोधी पक्षले हबिअरिमानालाई मारेको आरोप लगाउँथ्यो । तर, हालसम्म यसको यकिन सत्य पत्ता लागेको छैन ।)

विमान दुर्घटनालगतै रुवान्डाको सेनाभित्रको एक तप्काले प्रधानमन्त्रीको हत्या गरेर सत्ता आफ्नो हातमा लियो । अनि लगत्तै विपक्षी र तुत्सीविरुद्ध आमसंहार सुरु भयो । आमसंहारमा सत्तारूढ पार्टी ‘नेसनल रिपब्लिकन मुभमेन्ट फर डेमोक्रेसी एन्ड डेभलपमेन्ट’को युवा संगठन इन्तेरहम्वेलाई परिचालन गरिएको थियो । यसका अधिकांश युवा कार्यकर्तालाई मिलिसियामा रूपान्तरण गरिएको थियो । नरसंहारका लागि रुवान्डाका गाँउघरमा प्रयोग हुने खुँडा, मुंग्रो र धारिला हतियार प्रयोगमा ल्याइएको थियो । त्यस समय तुत्सीहरू ज्यान जोगाउन लुकेर बसेका चर्च, स्कुल र अस्पतालसमेत जलाइए । 

नरसंहारको समयमा आरटिएलएम रेडियो निकै सक्रिय रह्यो । रेडियो स्टेसनबाट मार्न बाँकी चर्चित व्यक्तिको सूची पढिन्थ्यो । ती व्यक्ति कहाँ भेटिन्छन् वा कहाँ लुकेका छन् भन्ने गुप्तचर सूचना पनि रेडियोमै प्रसारण गरिन्थ्यो । आरटिएलएमका प्रस्तोता विभिन्न स्थानमा मारिएका मानिसको तथ्यांक पढ्दै थप मार्नका लागि प्रोत्साहन गर्थे । नरसंहारमा बचेका मानिसका अनुसार रेडियोले मान्छे मार्ने सुझाबसम्म दिने गथ्र्यो ।

रेडियोको प्रोपोगान्डाको कति असर परेको थियो भने कैयौँ स्थानमा चर्चमा लुकेका तुत्सीहरूलाई हुतू समुदायका पादरी र ननले आगो लगाएको आरोप छ । यसबीच, छिमेकीले छिमेकीलाई मारे । यहाँसम्म कि केही लोग्नेले आफू मारिने डरमा तुत्सी श्रीमतीसमेत मारेका घटनाहरू पछि उजागर भएका छन् । संहारमा आरटिएलएम रेडियोको प्रभावबारे बताउँदै तत्कालीन समय रुवान्डामा खटिएका संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका कमान्डर जनरल रोमियो डेलायरले भनेका छन्, ‘आरटिएलएमको प्रसारणलाई जाम गरेर त्यस फ्रिक्वेन्सीमा शान्ति तथा मेलमिलापको सन्देश प्रवाह मात्र गर्न सकेको भए त्यस समय उल्लेख्य फरक पर्ने थियो ।’

राष्ट्रपतिको विमान दुर्घटनालगत्तै युद्धविराम भंग भएपछि उत्तरी पहाडमा आधार बनाएको विद्रोही समूह आरपिएफले पनि संघर्ष सुरु ग¥यो । त्यसको सय दिनमा उसले राजधानी किगाली कब्जा ग¥यो र मानव इतिहासको सबैभन्दा क्रूरतम कत्लेआम अन्त्य भयो । आरपिएफको राजधानी आगमनसँगै आरटिएलएम रेडियोका प्रसारणकर्ता छिमेकी कंगो भागे । 

रुवान्डा नरसंहारको विस्तृत छानबिन गर्न गठन भएको ‘इन्टरनेसनल क्रिमिनल ट्रिब्युनल फर रुवान्डा’ले आरटिएलएम रेडियोका सञ्चालक र सम्पादकलाई नरसंहार दुरुत्साहनमा दोषी ठह¥यायो । ट्रिब्युनलले आरटिएलएम रेडियोका सञ्चालक ज्याँ बोस्को बरयाग्विजालाई ३५ वर्षको जेल सजाय तोक्यो भने सम्पादक फर्डिनान्ड नहिमानालाई आजीवन कारावासाको सजाय दियो । घृणा फैलाउने अर्को पत्रिका कन्गुराका सञ्चालक हसन न्गेजेले आजीवन कारावास सजाय पाए । एकाध रेडियो र पत्रिकाको अनैतिक एवं भड्कावपूर्ण गतिविधिले रुवान्डेली समाजको वैमनस्यलाई मलजल मात्रै गरेन, एउटा क्रूर नरसंहारलाई जन्म दियो । 

रुवान्डा नरसंहारयता तत्कालीन विद्रोही समूह आरपिएफका नेता पल कगामे निरन्तर सत्तामा छन् । कगामेको लामो शासनमा रुवान्डाले आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । तर, विपक्षी र आलोचकप्रति कगामे पनि उदार मानिदैनन् । उनले सन् १९९४ को नरसंहारको भूत देखाएर अझै पनि मिडियालाई पूर्ण स्वतन्त्रता दिएका छैनन् । (एजेन्सीको सहयोगमा)

मिडिया बहसमा थप :