मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै मन्त्री बोहरा ।
२०७७ भदौ १३ शनिबार १९:५०:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

रामारोशनका बाढीपीडितलाई मन्त्री बोहराको व्यक्तिगत सहयोग

Read Time : > 1 मिनेट
२०७७ भदौ १३ शनिबार १९:५०:००

अछामको रामारोशन गाउँपालिकाका बाढीपीडितलाई सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले व्यक्तिगत खर्चमा राहतस्वरूप खाद्यान्नलगायत सामग्री सहयोग गरेका छन् । मन्त्री बोहराले तीन लाख ६२ हजार मूल्यबराबरको ६ हजार आठ सय किलो चामल, दुई सय किलो दाल, मास्क र स्यानिटाइजर सहयोग गरेका हुन् ।

रामारोशन गाउँपालिका कार्यालयमार्फत सहयोग गरेको मन्त्री बोहराले जानकारी दिए । ‘मैले गाउँपालिकालाई सामग्री हस्तान्तरण गरेको छु । गाउँपालिकाले आवश्यकताअनुसार पीडितलाई वितरण गर्नेछ,’ उनले भने । गत २ भदौ राति कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका– ५ स्थित सैनीबजारका २२ घर बगाएको थियो । घरसँगै बेपत्ता भएका १७ मध्ये आठजनाको शव फेला परेको छ । बाढीमा बगेका नौजनाको अवस्था अझै अज्ञात छ । 

बाढीले सुदूरपश्चिममा सबैभन्दा बढी क्षति पुऱ्याएको रामारोशन गाउँपालिकाका प्रभावित गाउँमा गएर मन्त्री बोहराले निरीक्षणसँगै बाढीपीडितको अवस्थाबारे जानकारी लिएका थिए । 

बाढीले ग्रामीण सडकहरू भत्किएपछि रामारोशन गाउँपालिका सडक सञ्जालबाट पनि विच्छेद भएको छ । अधिकांश ठाउँमा पैदल हिँड्ने बाटोसमेत बगाएपछि आउजाउ गर्न समस्या भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् । बिरामीलाई अन्त्र लैजान पनि समस्या रहेको उनले बताइन् । सडक अवरुद्ध हुँदा गाउँमा खाद्यान्नलगायत उपभोग्य वस्तुको ढुवानी रोकिएको छ । 

ग्रामीण सडक तत्काल सुचारु नभए गाउँमा खाद्यान्नलगायत उपभोग्य वस्तुको अभाव सिर्जना हुने देखिएकाले गाउँपालिका जोड्ने मुख्य सडकहरू सुचारुका लागि पहल भइरहेको मन्त्री बोहराले बताएका छन् । 

कैलाश खोलाको बाढीले स्थानीय व्यापारिक केन्द्र सैनीबजारका २५ मध्ये २२ घर बगाएको थियो । बाढीले दर्नामा पक्की पुल पनि बगाएको छ । मन्त्री बोहराका अनुसार रामारोशनमा सञ्चालनमा रहेका १० वटा लघु जलविद्युतमध्ये आठवटा बाढीले बगाएको छ । खानेपानी र सिँचाइका सबैजसो योजनामा बाढीले क्षति पुऱ्याएको छ ।