मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दिलबहादुर चौधरी टीकापुर
२०७७ भदौ १३ शनिबार १८:२५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीपीडित अझै विद्यालय र प्रतीक्षालयमै 

Read Time : > 1 मिनेट
दिलबहादुर चौधरी टीकापुर
२०७७ भदौ १३ शनिबार १८:२५:००

गत साउनको बाढीले कैलालीको जानकी गाउँपालिकामा मात्रै करिब सात सय घरपरिवार विस्थापित भएकामा दुई परिवारको वास भने अझै सडकको प्रतीक्षालय र विद्यालयमा छ । वडा नम्बर १ तोरैयापुरकी तारा डगौराको पाँचजनाको परिवारको वासस्थान अहिले सडकछेउको प्रतीक्षालय बनेको छ  । 

१४ साउनमा कुलरिया कुलोमा आएको बाढीले घर भत्किँदा उनको परिवार विस्थापित भई नजिकैको जगन्नाथ विद्यालयमा बस्न पुगेको थियो  । भत्केको घरको सामान्य मर्मतपछि  एक साताअघि मात्र उनी घर फर्किएकी थिइन्  ।  तर,  यसै साताको बुधबार आएको पानीसहितको आँधीले फेरि घर भत्किँदा उनकोे उठीबास लागेको छ  । उनी अहिले लम्की टीकापुर सडकछेउमा रहेको प्रतीक्षालयमा बसिरहेकी छिन् । 
प्रतीक्षालयको बसाइ निकै सकसपूर्ण रहेको उनले बताइन् । खुला रूपमा प्रतीक्षालय हुँदा रातिको समयमा धेरै मच्छर लाग्ने गरेको उनले बताइन् । 

बाढीले घरमा रहेको अन्नपातसमेत बगाएको थियो । पाँचजनाको परिवारमध्ये  दुईवटा साना बच्चा  रहेकाले श्रीमान् र एक छोरीको कमाइले  जीविका धान्न गाह्रो रहेको उनले बताइन् । बस्ने घर र  खानलाई अन्न नहुँदा खाद्यान्न जोहोका लागि घरमा रहेको खाट बेचेर अहिले चामल, नुन, तेल किनेर जीविका चलाइरहेको उनले बताइन् । दुई साताअघि घरमा सुत्ने खाट बेचेर चामल, नुनलगायतका खाद्यवस्तु किनेको र गत बिहीबार अर्को खाट बेचेर खानेतेल ल्याएको उनले बताइन्  ।

मनीराम चौधरीको पनि एक महिनादेखि जगन्नाथ विद्यालयमै वास रहेको छ । बाढीले दुईकोठे घर पूर्ण रूपमा क्षतिग्रस्त हुँदा उनको चारजनाको परिवार विद्यालयको एक कोठामा बस्दै आएका छन् ।  

विद्यालयमा बसे पनि खान–लगाउनको समस्या रहेको चौधरीले  बताए । घरबाट उठीबास भएको वेला स्थानीय तहले समेत आफूहरूको समस्याको सुनुवाइ नगर्दा दुःख लागेको उनले बताए । 

बाढीपीडितको लगत लिई सहयोगको कार्य भइरहेको  गाउँपालिका अध्यक्ष प्रदीप चौधरीले बताए । पीडित गाउँवासीलाई तत्कालीन र दीर्घकालीन रूपमा पुग्ने गरी सहयोगको कार्यक्रम भइरहेको उनले दाबी गरे । उनले बाढीपीडितको सहयोगका लागि नेपाल रेडक्रस सोसाइटीमार्फत लगत संकलन भई सहयोग गरिएको बताए ।
 
गाउँपालिकाका बाढीपीडितलाई तत्काल आवश्यक सहयोग दिइसकेको र आंशिक तथा पूर्ण क्षतिको विवरण विश्व खाद्य संगठनको कार्यक्रममार्फत हुने र  पूर्ण क्षति भएका घर निर्माणका लागि एकमुष्ट १५ हजार रुपैयाँ दिइरहेको बताए ।