Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ भदौ १३ शनिबार ०६:२०:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

शिवजी यादवको ठगी र सम्पत्ति छानबिन गर्न जसपा नेताको माग

Read Time : > 2 मिनेट
२०७७ भदौ १३ शनिबार ०६:२०:००

जसपासम्बद्ध दलित नेता चन्देश्वर सदा भन्छन्–राजनीतिलाई शिवजीले कमाइखाने भाँडो बनाएका रहेछन् । यहाँ मुसहर समुदायमाथि चरम ज्यादती भएको छ । पार्टीलाई नै बदनाम गर्ने गरी शिवजीले अत्याचार गरेका छन् । यस विषयमा छानबिन प्रतिवेदन पार्टीलाई बुझाउँछु । प्रदेश र संघीय सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेर तत्काल छानबिन गर्नुपर्छ ।

मुसहर समुदायमाथि श्रम र आर्थिक शोषण गर्दै आएका शिवजी यादवलाई पार्टीबाट तत्काल कारबाहीसहित थप छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन जनता समाजवादी पार्टी (जसपा)का स्थानीय नेता र सरोकारवालाले माग गरेका छन् । शिवजी गत चुनावमा सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिकामा अध्यक्षका प्रत्याशी थिए । संघीय समाजवादी र राजपाबीच एकतापछि जनता समाजवादी पार्टी (जसपा) बनेको छ । 

औरही, इँटाटार, देउपरीपट्टी, बरियारपट्टी, जमुवालगायत गाउँका मुसहर बस्ती पुगेर पीडितसँग भेटेका जनता समाजवादी पार्टीसम्बद्ध दलित नेता चन्देश्वर सदाले आफैँले पनि छानबिन गरिरहेको र पार्टीले उच्चस्तरीय आयोग बनाउनुपर्ने माग गरे । ‘राजनीतिलाई शिवजीले कमाइखाने भाँडो बनाएका रहेछन् । यहाँ मुसहर समुदायमाथि चरम ज्यादती भएको छ । पार्टीलाई नै बदनाम गर्ने गरी शिवजीले अत्याचार गरेका छन् । यस विषयमा छानबिन प्रतिवेदन पार्टीलाई बुझाउँछु,’ सदाले नयाँ पत्रिकासँग भने, ‘प्रदेश र संघीय सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेर तत्काल छानबिन गर्नुपर्छ ।’

दलित नेता सदाले पार्टीले कारबाही गर्न आलटाल गरे शिवजीविरुद्ध सम्पूर्ण दलितलाई जुट्न सार्वजनिक आह्वान गर्दै आन्दोलन गर्ने चेतावनी दिए । संयुक्त दलित संघर्ष समितिका अगुवा डा. दिलीप सदाले शिवजीले विभिन्न बहानामा मुहसरमाथि थोपरेको ऋणको सत्यतथ्य खोजी, कपाली तमसुक सावर्जनिक रूपमा नष्ट, मुसहर बस्ती पुगेर पीडितलाई धम्क्याउने, छोरीचेलीलाई गालीगलौज गर्ने, ऋण खाएको बहानामा धम्क्याएर भारत लैजान तत्काल बन्द गर्नुपर्ने माग गरे । 

मुसहरलाई काम खोजिदिने भन्दै भारतका विभिन्न सहर पुर्‍याउने, उचित तलब नदिने र बन्धक बनाएर जबर्जस्ती कपाली तमसुक बनाएको भन्दै शिवजीविरुद्ध जिल्ला प्रशासनमा उजुरी परेको छ । मुसहर बस्तीका एक युवालाई बेपत्ता बनाएको भन्दै प्रशासनमा परेको उजुरीमाथि छानबिन गरी पीडितलाई न्याय दिलाउन माग गरिएको छ । शिवजीले ठगी गरेर औरहीमा करोडौँको सम्पत्ति जोडेको र त्यसको समेत छानबिन हुनुपर्ने माग छ । 

पीडितको उजुरीका आधारमा १० भदौमा जिल्ला प्रहरी कार्यालय सिराहामा दुवै पक्षबीच छलफल भए पनि कुनै सहमति भएको छैन । छलफलमा सहभागी राष्ट्रिय दलित अयोगका पूर्वसदस्य तथा दलित अगुवा कबुली पासवानले भने, ‘पीडितहरूले उजुरीका आधारमा शिवजीमाथि कारबाही हुनुपर्ने माग गरे, शिवजीले आरोप अस्वीकार गरेपछि हामी उठेर हिँड्यौँ ।’

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विनोदकुमार घिमिरे ठाडो उजुरीमा छलफलबाहेक केही गर्न नसकिने भएकाले रीतपूर्वकको अर्को जाहेरी ल्याउन भनेको बताउँछन् । ‘भारतमा काम गराएर मजदुरी नदिएको, काम गराउन लगेको व्यक्ति भारतमै बेपत्ता बनाएको, जबर्जस्ती तमसुक बनाएको कुरा छुट्टाछुट्टै जाहेरी ल्याउँदा प्रहरीलाई अनुसन्धान प्रक्रिया अगाडि बढाउन सजिलो हुन्छ ।’

कारबाहीमा प्रहरी तदारुकता नहुँदा शिवजीले पीडितलाई भेट्दै उजुरी फिर्ता लिए सहयोग गर्ने आश्वासन दिएका छन् । ‘किरियामा बसेको मलाई पनि आएर किरिया खर्च दिन्छु, उजुरी फिर्ता लिएर गाउँमै सल्लाह गरौँ भनिरहेका छन्,’ बाबुको किरियामा बसेका पीडित महेश सदाले भने । पछिल्लोपटक इँटाटारका ३७ वर्षीय महेशलाई शिवजी, उनका छोरा, सालासहित आएर गत २३ साउनको साँझ कुटपिट गर्दै अपहरण शैलीमा औरहीस्थित घर पुर्‍याई कपाली तमसुक बनाएपछि शिवजीको ठगीधन्दा बाहिर आएको थियो ।

शिवजीले औरही, इँटाटार, देउपरीपट्टी, तुलसीपुर, हरकट्टी, पिप्रा जमुवा, बरियारपट्टी, बडहरी, सिराहा, लहान, गोलबजार डोहटिया, महनौर बेतौना, सोठियाइनका विपन्न मुसहरलाई ठेक्कामा भारतको पन्जाब पुर्‍याउने, तिनले कमाएको रकम आफैँ लिने, घर फर्किने वेलामा रकम नदिने र उल्टै गाउँ फर्किएपछि जबर्जस्ती कपाली तमसुक बनाउने गरेको पीडितहरूको आरोप छ ।

याे पनि पढ्नुहाेस् :