काठमाडौं–रक्साेल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भए पनि कोभिड– १९ का कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ ।
रेल विभागले उनीहरूलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई भनेको छ ।
दुई वर्ष पहिले नेपालमा सम्पन्न भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा सो रेलमार्ग निर्माणको सम्झौता भएको थियो ।
भारत सरकारले आफ्नै लगानी र प्रविधिको प्रयोग गरेर सो रेलमार्गको अध्ययन गर्ने सहमति भएको थियो । नेपाल र भारतीय पक्षबीच भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति थियो ।
भारत सरकारकै आर्थिक र प्राविधिक सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेल निर्माणको समझदारी भएको थियो । सस्झौतानुसार जयनगर–कुर्था र विराटनगर–जोगबनी दुई स्थानमा निर्माण अघि बढिसकेको छ । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएका अरू तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगन्जरोड–नेपालगन्ज रहेका छन् । रासस