मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ १२ शुक्रबार ११:१२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

फेसबुकबाट लाखौँ ठगी गर्ने तीन पक्राउ, ६ फरार

Read Time : > 1 मिनेट
२०७७ भदौ १२ शुक्रबार ११:१२:००

मोरङकी ३८ वर्षीया विष्णुकुमारी राईले फेसबुक चलाउन थालेको धेरै भएको छैन । यसैक्रममा एक दिन ‘चाङवाङ’ नाम गरेको विदेशी नागरिकले उनलाई साथी बनाउन आग्रह गरे । उनीहरू साथी पनि बने । गफगाफ पनि हुन थाल्यो । गृहिणीको रूपमा दिनचर्या बिताइरहेकी राईलाई कुराकानीकै क्रममा ती व्यक्तिले महँगो सामानको फोटोहरू पठाउन थाले । कुन मन पर्छ रोज्न पनि भने ।

महँगो भए पनि हेर्दा निकै आकर्षक । जसलाई चाङवाङले आठ सय डलर पर्ने बताए । मन परेपछि राईले ती वस्तु मगाइन् । रोजेको वस्तु आउने भयो, तर पैसा कसरी विदेश पठाउने । तीनै विदेशी नागरिकले आइएमई, प्रभु मनी, सिटी एक्सप्रेसको प्रयोग गर्न सुझाए । 

बहुमूल्य चिज हात पर्ने भयो, तर पैसा हालिदिन राईलाई मेलोमेसो भएन । उनले भरतपुर– १२ मा बस्ने आफ्नो भतिजा पर्नेलाई अनुरोध गरिन् । कुमाल थरका ती व्यक्तिले तीनपटक गरेर पोखरा बसपार्क र मालपोत चोकको मनी ट्रान्सफरबाट प्रेम रानामगरको नाममा पैसा पठाए । पटकपटक गरेर दुई लाख ७५ हजार पठाए । 

साउन ९ गते पैसा पठाइएको थियो । त्यति पैसा पठाउँदा पनि सामान हात परेन । ती विदेशीले सामान नेपालको भन्सार कटाउन १५ सय डलर लाग्ने बताए । त्यसपछि उनी झस्किन् । आफूलाई कसैले  ठगिरहेको त छैन ? भन्ने उनको मनमा पऱ्याे । 

ठगी धन्दा 
इटाली, फ्रान्सबाट भारत हुँदै नेपाल सामान पठाउनुपर्ने भनी आरोपीहरूले सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टा, भाइवर प्रयोग गरी ठगी गरेको प्रहरीले फेला पारेको छ ।

ठगी आरोपमा इलाका प्रहरी कार्यालय खैरहनीले खैरहनी नगरपालिकाबाट नेपालमा पैसा बुझ्ने गरेका प्रेमबहादुर रानालाई गिरफ्तार गऱ्याे । उनको असली नाम राजकुमार रानामगर रहेकाे पक्राउ परेपछि खुल्याे । स्थायी घर तनहुँ भिमाद– ५ भएका उनले दाजु सोमराज मगरसँग मिलेर खैरहनीमा यस्तै ठगी धन्दा चलाउन थालेका रहेछन् । 

ठगी गरेको भन्दै साउन २८ गते उनीहरूविरुद्ध खैरहनी इप्रकामा जाहेरी पऱ्याे । त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको चितवन प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले बताए । उनका अनुसार नक्कली सवारी लाइसेन्स, नागरिकता खडा गरेर आरोपीहरूले ठगी गरेको पाइएको छ । दुईजना जाहेरवालाबाट लगभग पाँच लाख ठगी भएको भनी उजुरी परे पनि प्रहरी अनुसन्धानबाट ४० लाखसम्म ठगी भएको खुलेको छ । 

‘सोझासाधा नेपालीलाई महँगो सामानमा लोभ्याएर किन्न लगाउने र बीचमा अनेक थरी मान्छेहरू प्रयोग भई पैसा लिने, सामान यहाँ आइपुग्यो भन्ने, सामान भन्सारमा अड्कियो भन्ने, फेरि पैसा माग्ने गरेको भेटिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने ।

नाैजनाको समूह 
अनलाइन ठगीमा नाैजनाको समूह रहेको पाइएको छ । रानानगर दाजुभाइ, श्याम पाठकलगायतलाई आरोपी बनाई प्रहरीले मुद्दा चलाएको छ । नवलपरासी, स्याङ्जा, पाल्पाका मानिसहरू यस समूहमा छन् । हाल तीनजना तनहुँ भिमाद– ५ का मुख्य आरोपी प्रेम भनिने राजकुमार थापामगर, खैरहनी– १२ सिसहनीका २८ वर्षीय शिवराज पाठक, हेटौँडा– ४ का ३० वर्षीय सत्कार लुइँटेल खैरहनी प्रहरीको हिरासतमा छन् । 

फरार हुनेहरूमा धादिङ धुनिबेसी– २ का ३५ वर्षीय रामकुमार तामाङ, पाल्पा रामपुर– ५ की ३० वर्षीया निशाकुसुम भट्टराई, नवलपरासी देवचुली– १२ का ३६ वर्षीय लोकप्रसाद भुर्तेल, अर्घाखाँची सन्धिखर्क– ९ का ४१ वर्षीय तेजबहादुर केसी र सोही ठाउँकी मञ्जु केसी रहेका छन् ।