१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ भदौ ११ बिहीबार १४:५७:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ब्राभोका टी–२० फर्म्याटमा पाँच सय विकेट

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ भदौ ११ बिहीबार १४:५७:००

वेस्टइन्डिजका मध्यमगतिका बलर ड्वाने ब्राभो टी–२० क्रिकेट फर्म्याटमा पाँच सय विकेट लिने पहिलो बलर बनेका छन् ।

सन् २००६ मा टी–२० खेलमा डेब्यु गरेका ब्राभोले बुधबार क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा यो उपलब्ध हात पारेका थिए । 

जमैकामा चलिरहेको सिपिएल टी–२० मा ब्राभो ट्रिनबागो नाइटराइडर्सबाट खेल्छन् । उनले सेन्ट सुसिया जुक्सका क्रोनबेलको विकेट लिँदै टी–२० फर्म्याटमा पाँच सय विकेट पूरा गरेका हुन् । 

त्यही विकेट नै सिपिएलमा उनको १ सय १औँ विकेटका रूपमा रह्यो । ३९ वर्षीय ब्राभोले १६ वर्षको करिअरमा टी–२० खेलमा अहिलेसम्म चार सय ५९ खेल खेलका छन् । यसक्रममा उनले ४ सय ४० इनिङ्समा २५.५८ को औसत राखी पाँच सय एक विकेट हात पारे । उनले यस फर्म्याटमा दुईपटक पाँच विकेटको प्रदर्शन गरेका छन् । 

नौपटक उनले चार विकेट लिए । अहिलेसम्म उनले एक हजार चार सय ९३ ओभर बलिङ गरे । टी–२० मा दोस्रो सफल बलर हुन्– श्रीलंकाली लथिस मलिंगा । मलिंगाले दुई सय ९५ खेलबाट  तीन सय ९० विकेट लिएका छन् । 

टी–२० खेलमा पाँचपटक उनले पाँच विकेटको प्रदर्शन गरेका छन् । ब्राभोभन्दा दुई वर्षअघि डेब्यु गरेका मलिंगाले टी–२० खेलमा ६–७ को उत्कृष्ट प्रदर्शन गरेका छन् । वेस्टइन्डिजका सुनील नारिन तीन सय ८३ विकेटका साथ तेस्रो स्थानमा छन् ।

२०११ को सत्रमा टी–२० मा डेब्यु गरेका नारिनले तीन सय ३९ खेलमा २३ मेडन ओभर गरेका छन् । कीर्तिमानी बलर ब्राभोले आफ्नो करिअरमा २१ विभिन्न टोलीबाट प्रतिस्पर्धा गरेका छन् । टी–२० अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज प्रतिस्पर्धामा ब्राभोले तीन सय १२ फरक खेलाडीलाई पेभेलियनको बाटो देखाएका छन् । ब्राभोले कीर्तिमानभन्दा पनि टोलीलाई उपाधि दिलाउनु नै प्रमुख उद्देश्य रहेको बताएका छन् ।

‘कीर्तिमान आफैँमा राम्रो हो, तर मलाई उपाधि जित्नु र दिलाउन मन लाग्छ,’ क्यारेबियन एजेन्सीसमक्ष ब्राभोले भने, ‘हामी बलरहरूको प्रयास नै विपक्षी ब्याट्सम्यानलाई दबाबमा राख्नु हो ।’

टी–२० फर्म्याटमा तीन सय तथा चार विकेट लिने पहिलो बलर ब्राभो नै हुन् । अस्ट्रेलियन बलर डिर्कले टी–२० फर्म्याटमा सय तथा दुई विकेट कोसेढुंगा पार गर्ने पहिलो बलर थिए । 

ब्राभोले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्रा उत्कृष्ट र स्मरणीय भएको जनाएका छन् । उनी भन्छन्, ‘मेरो यात्रा अहिलेसम्म उत्कृष्ट रह्यो, मेरो यस सफलतामा साथ दिने सबैलाई धन्यवाद छ, विशेषतः मैले पाँच सय विकेटको कीर्तिमान आफ्नो घरमै राख्न पाएँ, यसमा म धेरै खुसी छु ।’ 

ब्राभोले क्यारेबियन प्रिमियर लिगमा एक सय ४७ विकेट लिएका छन् । सन् २०१३ र २०१५ को सिजनमा चेन्नई सुपर किंग्सका लागि सर्वाधिक विकेट उनले लिएका थिए । ब्रायन लाराको कप्तानीमा वेस्टइन्डिज टोलीबाट डेब्युको अवसर पाएका ब्राभोले सुरुमा ब्याटिङ क्षमता देखाए । 

विस्तारै उनले आफूलाई अलराउन्डरमा परिणत गरे । २१ वर्षको उमेरमा उनले लर्डस् मैदानमा इंग्ल्यान्डविरुद्धको टेस्टमा डेब्यु गरे । 

ब्रोभाले चोटका कारण नै रातो बलबाट खेल्ने टेस्ट खेलबाट छिटै सन्न्यास लिए । त्यसपछि उनी टी–२० खेलमै केन्द्रित रहे । 

२०१० मा किरन पोल्यार्डले बोर्डलाई खेलाडीसँग सम्झौता गराउनमा ब्राभोले विशेष भूमिका निर्वाह गरेका थिए । यो दश वर्षभित्र ब्राभोले आफूलाई टी–२० फर्म्याटकै राम्रा खेलाडीका रूपमा विश्वलाई चिनाए । यो एक दशकमा विभिन्न राष्ट्रले आयोजना गरेका टी–२० फ्रेन्चाइज लिगमा ब्राभोले सहभागिता जनाएका छन् ।