मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टम फेलिक्स जोएन्क / म्याट हिटर
२०७७ भदौ ११ बिहीबार ०६:१३:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

थाइल्यान्डमा प्रजातन्त्रको माग हुँदै छ

Read Time : > 3 मिनेट
टम फेलिक्स जोएन्क / म्याट हिटर
२०७७ भदौ ११ बिहीबार ०६:१३:००

प्रदर्शनमा एक विद्यार्थीले बोकेको प्लेकार्डमा लेखिएको थियो– न भगवान्, न राजा, केवल मान्छे । अर्को प्लेकार्डमा लेखिएको थियो–तिमीहरूले सुतेको बाघलाई उठाएका छौ । अगस्ट १६ मा बैंककस्थित चर्चित डेमोक्रेटिक मनुमेन्टमा भेला भएका १० हजार प्रदर्शनकारीमध्येका केही प्लेकार्ड हुन्, यी । डेमोक्रेसी मनुमेन्ट आफैँमा सांकेतिक स्थान हो । सन् १९३२ मा थाइल्यान्डमा निरंकुश राजतन्त्र अन्त्य भएको सम्झनामा यो स्मारक निर्माण गरिएको थियो। 

प्रदर्शनमा सहभागी एक १९ वर्षीया विद्यार्थीले बोकेको प्लेकार्डमा लेखिएको छ– हामीलाई प्रजातन्त्र फिर्ता गर । ‘जो’ उपनाम बताउने ती युवती प्रदर्शनबारे भन्छिन्, ‘हामीसँग सडकमा आउनुबाहेक विकल्प रहेन । यो सरकार हट्नैपर्छ ।’ अहिले देखिएको प्रदर्शन सन् २०१४ मा सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरेयताकै सबैभन्दा ठूलो र साहसी भेला हो । 

जोजस्ता विद्यार्थी परिवर्तन चाहन्छन् । तिनको माग छ– सेना निर्वाचित सरकारको अधीनमा हुनुपर्छ, राजा संविधानको नियन्त्रणमा बस्नुपर्छ र बहुमतको शासन सुनिश्चित गर्ने नयाँ संविधान बनाइनुपर्छ । सेनाको बोलवाला रहेको सरकारको राजीनामा तथा प्रणालीगत प्रजातान्त्रिक सुधारको माग राख्दै नयाँ पुस्ताले सुरु गरेको प्रदर्शनमा विगतमा भन्दा फरक बिम्ब प्रयोग भइरहेका छन् । प्रदर्शनमा -याप संगीत, हलिडउ फिल्म हंगर गेममा देखाइने प्रतिरोध स्यालुट र ह्यारी पोर्टरको मिम प्रयोग भएको देखिन्छ । 

विद्यार्थीले खासै क्रान्तिकारी माग पनि राखेका छैनन् । तर, जसरी यी माग राखिएका छन्, त्यो भने अभूतपूर्व मानिएको छ । थाइल्यान्डमा राजाको आलोचना गर्नेलाई १५ वर्षसम्मको जेल सजाय हुने कानुन छ । यस्तोमा नयाँ पुस्ताका अभियन्ताहरू सार्वजनिक स्थानमा आएर राजतन्त्रविरुद्ध नारा लगाउनुलाई असाधारण मान्नुपर्छ । प्रदर्शन चलिरहँदा यसविरुद्ध सेनाले कदम उठाउने हो कि भन्ने डर पनि बढ्दै गएको छ । विगतमा सन् १९७३, १९७६, १९९२ र २०१० मा सेनाले प्रजातन्त्र पक्षधर प्रदर्शनकारीको हत्या गरेको इतिहास छ । 

विगतमा आलोचकहरू थाई नरेशको विरोध गर्दा घुमाउरो भाषा प्रयोग गर्ने गर्थे, तर यसपटक युवाहरू खुला विरोध गर्दै सडकमा उत्रिएका छन् 

इल्यान्डमा सन् २०१४ को सैन्य कुपछि अघिल्लो वर्ष मार्चमा आमनिर्वाचन सम्पन्न भएको थियो । सेनाले व्यापक प्रभावित गरेर त्यस निर्वाचनको मतपरिणाम सेनाकै पक्षमा आएको थियो । खासमा सेनाले वर्तमान शासनलाई कानुनी वैधता दिन नै निर्वाचन गरेको धेरैको आरोप छ । थाई सेनाले पछिल्लो समय सन् २००६ बाट राजनीतिमाथि हस्तक्षेप सुरु गरेको हो । सन् २००१ को आमनिर्वाचनमा बहुमतका साथ सरकार बनाएका थाकसिन सिनावात्रालाई सन् २००६ मा सेनाले अपदस्थ ग¥यो । सन् २०११ मा पुनः थाक्सिनकी बहिनी यिङलकको सरकारविरुद्ध सेना जाइलाग्यो । यिङलकको सरकारलाई अवकाशप्राप्त जनरल प्रयुथ चन्ओचाको नेतृत्वमा हटाइएको थियो । त्यसपछि सैनिक जनरल र तिनका पक्षधरले सन् २०१७ मा नयाँ संविधान लागू गरेर एलिट शासनको जग बलियो बनाए । नयाँ संविधानअनुसार थाइल्यान्डका प्रधानमन्त्री संसद्मा निर्वाचित सदस्यमध्येबाट नचुने पनि हुन्छ (वर्तमान प्रधानमन्त्री प्रयुथ पनि निर्वाचित सदस्य होइनन्) । प्रधानमन्त्री सिनेट मनोनयनमार्फत गठन गरिन्छ र यसमा सबैजसो सदस्य सेनानजिकका मान्छे मात्र मनोनीत गरिएका छन् । न्यायपालिका राजनीतिज्ञ तह लाउन प्रयोग भइरहेको छ । 

वर्तमान थाई राजा महाबजिरालङकोर्न अधिकांश समय जर्मनीमा बस्छन् । उनले आफूलाई विदेशबाटै शासन चलाउन सहज हुने गरी संविधान संशोधन गर्न माग पनि गरेका छन् । विदेशमा रहे पनि राजा महाबजिरालङकोर्नले थाइल्यान्डभित्र र बाहिर रहेको थाई शाही परिवारको ठूलो सम्पत्तिमाथि नियन्त्रण कायम गरेका छन् । उनले बैंककमा रहेका दुई सैन्य एकाइ सीधै आफ्नो कमान्डमा राखेका छन् । विगतका कुमा यही एकाइको महŒवपूर्ण भूमिका थियो । 

सन् २०१९ मा सेनाले सम्पन्न गरेको आमनिर्वाचनमा फ्युचर फरवार्ड पार्टी तेस्रो शक्तिको रूपमा उदायो । फ्युचर फरवार्ड पार्टीले निर्वाचनमा एकाधिकार तोड्नुपर्ने, शक्ति पृथकीकरण लागू गर्नुपर्ने र सेनालाई राजनीतिबाट टाढा राख्नुपर्नेजस्ता मुद्दा उठाएको थियो । युवाहरूले यसमा समर्थन जनाए र पार्टीले लोकप्रिय मतका आधारमा तेस्रो ठूलो पार्टी बन्यो । तर, यो वर्षको प्रारम्भमा संवैधानिक अदालतले फ्युचर फरवार्ड पार्टीलाई खारेज गरिदियो । अदालतले पार्टीलाई खारेज गर्न प्रयोग गरेको कारणलाई धेरै मानवअधिकारवादी संगठनले सन्देहास्पद बताएका छन् । 

फ्युचर फरवार्ड पार्टीको उदय र विघटनका कारण धेरै युवा पछिल्लो समय राजनीतितर्फ तानिए । यो वर्षको सुरुबाटै सरकारविरोधी प्रदर्शन सुरु भएका थिए । तर, कोरोना संक्रमणले प्रदर्शन मत्थर हुँदै गयो । थाइल्यान्डले कोरोना संक्रमण नियन्त्रणमा तुलनात्मक सफलता हासिल गरेकाले जुलाईमा लकडाउन हटाइयो र लगत्तै प्रदर्शन पुनः सुरु भयो । सरकारविरुद्धको तत्कालीन कारणबाहेक अहिलेको प्रदर्शनको जग बुझ्न अझ गहिराइमा जानुपर्छ । थाइल्यान्डमा राजनीतिक शक्ति राजा र जनरलमा केन्द्रित हुँदा सम्पत्ति पनि मुठ्ठीभर व्यक्तिको हातमा केन्द्रित भएको छ । क्रेडिट सुइसको एक रिपोर्टअनुसार सन् २०१९ मा थाइल्यान्डका अति धनी एक प्रतिशतको हातमा देशको कुल सम्पत्तिको ५०.४ प्रतिशत सम्पत्ति छ । यसले गरिबी, ऋण र असमानता बढाइरहेको थियो । त्यसमाथि महाव्याधिबाट अत्यधिक रोजगारी गुम्ने भविष्यवाणी भइरहेको छ । यसबाट सबैभन्दा बढी प्रभावित विश्वविद्यालयबाट रोजगारीमा निस्किने युवा नै हुने देखिन्छ ।

प्रदर्शनकारीमाथि दमनको सम्भावना पनि उच्च छ । सरकारका आलोचकहरूमाथि पटक–पटक कुटपिट भएका छन् । निर्वासनमा रहेको सरकारविरोधीहरूसमेत बेपत्ता भएका छन् । कतिजना पछि मृत भेटिएका छन् । कतै सन् १९७६ अक्टोबर ६ को जस्तो नरसंहार दोहोरिने हो कि भन्ने चर्चा पनि सुनिन्छ । त्यस दिन थम्मासात विश्वविद्यालयमा सुरक्षा फौज र दक्षिणपन्थी अर्धसैनिक पसेर प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि आक्रमण हुँदा सय हाराहारी विद्यार्थीको ज्यान गएको थियो । सरकारले त्यो समय प्रदर्शकारीलाई कम्युनिस्ट आरोप लगाएको थियो । आज पनि उही आरोप दोहोरिन थालेको छ । अहिले प्रदर्शनमा ओर्लिएका विद्यार्थीले राजतन्त्र उन्मूलनको माग राखेका छैनन् । उनीहरूमाथि थाई सरकारले कठोर कदम उठाएमा त्यसले सरकारको वैधानिकतामाथि नै प्रश्न उठाउनेछ । 

(टम फेलिक्स जोएन्क पत्रकार र अर्थशास्त्री हुन्, म्याट हिलर इन्टरनेसनल क्राइसिस ग्रुपका वरिष्ठ विश्लेषक हुन् ।) 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

तस्बिर : अलजजिरा डटकमबाट