मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सशस्त्र प्रहरीको विरोधमा स्थानीयले सडकमा बालेको टायर ।
२०७७ भदौ १० बुधबार २२:३३:००
Read Time : > 1 मिनेट
समाचार

सशस्त्र प्रहरीको गोली लागेर झापामा एकजनाको मृत्यु

Read Time : > 1 मिनेट
२०७७ भदौ १० बुधबार २२:३३:००

झापा गाउँपालिकामा सुरक्षाकर्मी र स्थानीयबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ । गोरु काटेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेपछि स्थानीयले प्रदर्शन गरेका थिए । सो क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर झापा गाउँपालिका– ३ कामाटोलीका ३८ वर्षीय राफिकुल आलमको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी राकेश थापाका अनुसार प्रहरीसँग भएको झडपका क्रममा गम्भीर घाइते भएका आलमलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पालमा उपचारका लागि लगिएको थियो । अस्पताल पुऱ्याउना साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार बिहान कामाटोलीमा स्थानीयले गोरु काटेको जानकारी पाएपछि प्रहरी पुगेको थियो । सो क्रममा मासुको भाग लगाउँदै गर्दा प्रहरीले स्थानीय अब्दुल सलाम र ताजबुल हकलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय लैजाने तयारी गर्दै स्थानीयले आक्रमण गरेका थिए ।

‘घटनास्थलदेखि नै असहयोग थियो । त्यहाँको प्रहरी टोलीले म्याद थपका लागि जिल्ला ल्याउनै लाग्दा बाटोमा अवरोध छ भन्ने जानकारी आयो,’ सूचना अधिकारी थापाले नयाँ पत्रिकासँग भने, ‘त्यो बुझ्न सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली गएको थियो । टोलीमाथि ढुंगामुढा र लछारपछार भयो । त्यो क्रममा हवाई फायर भएको हो ।’

प्रहरीका अनुसार त्यहाँ करिब तीन सयजना भेला भएका थिए । उनीहरूले सशस्त्र प्रहरीको गाडीमा समेत तोडफोड गरेका थिए । स्थानीयको आक्रमणमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक सञ्जीव बोगटी सामान्य घाइते भएका छन् भने सशस्त्र प्रहरीका जवान राज खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणका प्रमुख एसपी रमेशकुमार पाण्डेले कति राउन्ड फायर भएको भन्ने यकिन नभएको बताए । ‘चार राउन्ड भन्ने बुझिएको छ । तर, अहिले यकिन भएको छैन,’ उनले भने, ‘हाम्रो गाडी क्षतविक्षत हुने गरी आक्रमण भएपछि हवाई फायर भएको हो । अगाडि आएका एकजनालाई चाहिँ गोली लागेको थियो ।’ उनले अहिले सहजीकरणको प्रयास भइरहेको बताए । ‘जनप्रतिनिधिसहित छलफल भइरहेको छ,’ उनले भने, ‘म फिल्डमै छु । अहिलेसम्म अवस्था सामान्य छ ।’ तर, स्थानीयले राति अबेरसम्म सडकमा टायर बालेर अवरुद्ध गरेका थिए । उनीहरू घरेलु हातहतियारसहित बसेको प्रहरी स्रोतले जनाएको छ । ‘उनीहरू भएको ठाउँसम्म त जान सक्ने अवस्था छैन,’ एक प्रहरीले भने, ‘घरेलु हातहतियारसहित रहेका उनीहरू टायर बालेर बसेका छन् ।’

गाउँपालिका अध्यक्ष जयनारायण साहले अवस्था तनावग्रस्त रहेको जानकारी दिए । ‘अवस्था तनावग्रस्त छ । उहाँहरू टायर बालेर प्रदर्शन गरिरहनुभएको छ,’ उनले भने, ‘वार्ताको पहल भइरहेको छ । सफल भइसकेको छैन ।’