१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रसुवागढी नाकास्थित मितेरी पुलमा सोमबार भएको सिमा सुरक्षासम्बन्धी बैठकमा सहभागि नेपाल र चीनका अधिकारी ।
२०७७ भदौ ९ मंगलबार १७:५५:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

चीनतर्फको सडक पहिरोले पुरेपछि १० दिनदेखि रसुवागढी नाका ठप्प 

Read Time : > 2 मिनेट
२०७७ भदौ ९ मंगलबार १७:५५:००

चीनतर्फ गएको पहिरोको कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी १० दिनदेखि ठप्प भएको छ । चीनको केरुङभन्दा वर ठोङ्सामुनिको घुम्ती र रसुवागढी नाकानजिकै चीनतर्फको भूभागमा पहिरो गएपछि ३२ साउनदेखि नाकाबाट हुने सबै कारोबार बन्द भएको हो । 

रसुवा भन्सार कार्यालयका भन्सार प्रमुख पुण्यविक्रम खड्काका अनुसार पहिरो पन्छाउने काम भइरहेको र शुक्रबारसम्ममा नाका सञ्चालनमा आउने चिनियाँ पक्षले जानकारी दिएको छ । दुई ठाउँमा पहिरो गएर सडक भाँसिएको हुँदा बनाउँदै छौँ भन्ने जवाफ चिनियाँ पक्षले दिएको उनको भनाइ छ । उनले भने, ‘ठूलो गाडी छिर्ने गरी बाटो बनाउँदै छौँ,  शुक्रबारसम्ममा सञ्चालनमा ल्याउँछौँ भनेर जानकारी गराएका छन् ।’  

चिनियाँले स्वास्थ्य सुरक्षामाथि प्रश्न उठाए
पछिल्लो समय चिनियाँ पक्षले स्वास्थ्य सुरक्षामाथि प्रश्न उठाएकाे छ । सोमबार रसुवागढी नाकास्थित मितेरी पुलमा भएको सीमा सुरक्षासम्बन्धी बैठकमा चिनियाँ पक्षले स्वास्थ्य सुरक्षामाथि प्रश्न उठाएका हुन् । विश्वव्यापी संक्रमणको रूपमा फैलिएको कोरोनाबारे गलत सूचनाको आधारमा स्वास्थ्य सुरक्षासम्बन्धी प्रश्न उठाएको भन्सार प्रमुख खड्काले बताए । कोरोनासम्बन्धी हल्लाको रूपमा सूचनाहरू पुगेको रहेछ, कोरोना लागेका व्यक्तिहरू रहेको र आवातजावत सबैतिर भइरहेको भन्ने गलत सूचना पुगेको रहेछ,’ उनले भने, ‘हामीले बैठकमा गलत सूचना रहेको र अहिले आत्तिनुपर्ने कुनै पनि समस्या नरहेको प्रस्ट पारेका छौँ ।’

बैठकमा चिनियाँ पक्षले नाकामा काम गर्ने कन्टेनरचालक र लेबरको पिसिआर गरी रिपोर्ट पठाउन माग गरेका छन् । भन्सार प्रमुख खड्काले भने, ‘नाकामा काम गर्ने सवारीचालक तथा मजदुरको पिसिआर गरी रिपोर्ट बुझाउनु अनि सामान छोडिदिन्छौँ भनेका थिए, हामीले यहीँ रिपोर्ट निकाल्ने होइन, रिपोर्ट आउन समय लाग्ने हुन्छ, उहाँहरू क्वारेन्टिनमै हुनुहुन्छ अरूसँगै सम्पर्कमा हुनुभएको छैन । त्यसैले सामान निरन्तर पठाउन अनुरोध गरेका छौँ ।’ नाकामा खटिने मजदुरको १४–१४ दिनमा पिसिआर परीक्षण गरी रिपोर्ट पठाउन चिनियाँ पक्षले अनुरोध गरेको र आफूहरूले केन्द्रीय स्तरमा कुरा राख्ने जानकारी गराएको खड्काले बताए ।  

चीनले मितेरी पुलमा होइन अब नेपाली भूमिमै सामान ल्याइदिने
बैठकमा चिनियाँ पक्षले नेपाल पठाउने सामानको मात्रा बढाउने जनाएको छ । एकतर्फी नाका सञ्चालनमा आएदेखि चिनियाँ पक्षले मितेरी पुलमा नै ल्याएर सामान छोडिदिने गरेको थियो । अब भने चिनियाँ पक्षले त्यसो नगर्ने भएको छ । नेपालतर्फको भूभागमा सुरक्षित ल्याइदिने बताएका छन् । अहिलेको भन्दा दोब्बर सामान आयात हुने व्यवस्था मिलाउने चिनियाँ पक्षले जानकारी गराएको खड्काले बताए ।  उनले भने, ‘ठाउँ खुल्ला गर, पुलमा मात्र होइन पारिपट्टि सामान ल्याएर १६ घन्टा काम गछौँ । ८–८ घन्टा को सिफ्टमा कर्मचारी राखिदिन्छौँ । त्यता पनि त्यही व्यवस्था गर्नु भनेको छ ।’ 

सामानको आयात दोब्बरले बढाउने भएपछि चीनको ल्हासाबाट एक टोलीले रसुवागढीस्थित नेपालतर्फको भूभागको अनुगमन गर्नेसमेत बताइएको छ ।  
लामो समयदेखि बन्द रहेको नाका करिब एक महिनाअघि देखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । एकतर्फी रूपमा नाका सञ्चालन गरेको चीनले दैनिक चारवटा गाडीमा रसुवागढी नाकाको मितेरीपुलसम्म सामान ल्याई झार्ने र त्यहाँबाट चिनियाँ गाडी फर्किएपछि मात्र नेपाली सवारीसाधन त्यहाँ जान पाउने व्यवस्था थियो ।  

चिनियाँ गाडीबाट आएको सामग्री चिनियाँ कामदारले झारेर फर्कने छन् । मितेरी पुलमा सामग्री लोड अनलोड गर्नका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट लगाएका कामदार खटिएका छन् । चिनियाँ पक्षले एउटा गाडीमा ल्याएको सामग्री नेपाली दुई वटा कन्टेनरमा राख्ने व्यवस्था मिलाइएको छ । नेपाली पक्षले सामान लोड तथा अनलोड गर्न १५ कामदार र ढुवानी गर्न १५ जना चालक गरी ३० जना नाकामा खटाएका छन् । मितेरी पुलसम्म आइपुगेको सामान १५ जना कन्टेनर चालकले पालैपालो पुनः ढुवानी गरेर भन्सार यार्डसम्म पुऱ्याउने गर्छन् । सामानको जाँचपासपछि अन्य चालकले सामान सम्बन्धित ठाउँसम्म लैजाने गरेका थिए । नाका एकतर्फी सञ्चालनमा आए पनि सामग्रीको आयात भने निकै कम छ । साउनमा ९७ करोड ७५ लाख दुई हजार रुपैयाँको सामान आयात भएको छ । यो कुल आयातको १ दशमलव १४ प्रतिशत हिस्सा हो । निर्यात भने शून्य छ । 

१५ मंसिर ०७१ मा रसुवागढी नाका विधिवत रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो, तर रसुवागढी नाका मंसिर ०७२ देखि पुन सञ्चालनमा आयो । चीनबाट हुने धेरैजसो आयात यही नाकाबाट हुँदै आएको छ ।