मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ ९ मंगलबार ०६:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मल अभाव खेपेका कृषकको धानखेतीमा रोगको आक्रमण

Read Time : < 1 मिनेट
२०७७ भदौ ९ मंगलबार ०६:०५:००

बाला लाग्नुपर्ने धानमा रोग लागेपछि यहाँका किसान चिन्तित छन् । जिल्लाको उत्तरी मोरङमा लगाइएको धानखेतीमा ‘राते’ रोग देखिएको हो । सुरुमा बिउ र मल अभाव खेपेका किसानले अहिले रोगसँग सामना गर्नुपरेको छ । रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानहरूले बताएका छन् ।

रोग नियन्त्रण गर्न लकडाउनका कारण औषधि अभाव भएको सुन्दरहरैँचाका कृषक गोपाल भण्डारीले बताए । ‘सुरुमा मल पाइएन, हामीले पनि मल नपुगेर होला भन्यौँ,’ भण्डारीले भने, ‘अहिले बोट नै रातो हुँदै गइरहेको छ । मुख्य बाली धान नोक्सान भएको छ ।’ 

लकडाउनका कारण किसानले रोग नियन्त्रण गर्नका लागि कीटनाशक औषधिसमेत किन्न जान पाएका छैनन् । कृषि प्रधान भनिएको देशमा मलको अभावसँगै प्राविधिकको सेवा पनि नपाएको कृषक भूपाल अधिकारीले गुनासो गरे । रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ । किसानले धान रोपेको २ महिना बित्न लाग्दासमेत मल पाएका छैनन् । 

यता प्राविधिकहरूले भने मलको अभाव भएका कारण धानमा समस्या देखिएको बताएका छन् । समयमै कृषकले मल नपाउँदा माटोमा नाइट्रोजनको कमी भएको कृषि ज्ञानकेन्द्र मोरङ इकाइका कार्यालय प्रमुख रामदेव सिङले बताए । गभारो किराका कारणले कतै–कतै धानको बोट रातो हुने गरेको उनले बताए । केही दिनदेखि यस्ता समस्या आइरहेको र बुझ्ने काम भइरहेको समेत उनको भनाइ छ ।  

मोरङमा यो वर्ष ९७ प्रतिशत खेती भएको छ । कृषि ज्ञानकेन्द्रका अनुसार ८३ हजार ३ सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकोमा यो वर्ष ८० हजार ८ सय १ हेक्टर क्षेत्रफलमा धानखेती भएको हो ।