Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
बुद्धिनारायण श्रेष्ठ
२०७७ भदौ ९ मंगलबार ०९:५७:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

स्ट्रिप नक्साको चर्चा–परिचर्चा

Read Time : > 4 मिनेट
बुद्धिनारायण श्रेष्ठ
२०७७ भदौ ९ मंगलबार ०९:५७:००

एक अध्ययनअनुसार भारतीयले नेपाली भूमितिर दखल गरेका ७८ स्थान र नेपालीले भारततर्फ दखल गरेका १७ स्थान रहेका छन्

गृहमन्त्री रामबहादुर थापाले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा हालै नेपाल–भारत सीमाको स्ट्रिप नक्सा बनाउँदा नेपालको कैयौँ भूमि भारततिर र भारतको भूमि नेपालतर्फ पर्न आएको छ भनेका छन् । यसै दैनिकको साउन २९ को अंकमा ‘हाम्रो हिस्सामा आयो भन्दैमा भारतको भूभाग हामी लिँदैनौँ, हाम्रो भूभाग जो भारतमा गएको छ, त्यसलाई फिर्ता ल्याउनुपर्छ, दुवै पक्षको समझदारीमा कूटनीतिक पहलद्वारा समाधान गर्नुपर्छ’ भनी गृहमन्त्रीले भनेको कुरा प्रकाशित भएकोे छ । स्ट्रिप नक्साको सिद्धान्त सही नभएको कुरा पनि उनले बताएका छन् ।

यसै प्रसंगमा भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले पनि स्ट्रिप नक्सा तयार पार्दा नेपालको भूमि भारततिर र भारतको भूमि नेपालतर्फ परेको बताउँदै ‘त्रुटि भएको नक्सालाई सच्याएर कूटनीतिक ढंगले नै समाधान गर्ने दिशातर्फ सरकार अगाडि बढ्नेछ, नक्सा निर्माण द्विपक्षीय हिसाबले नै भएको छ, सीमासँग जोडिएको विषय दुई देशको टोलीबाट निरीक्षण भएर प्रतिवेदन तयार गर्ने हुन्छ’ भन्ने कुरा बताएकी छिन् । यहाँ जिज्ञासा उत्पन्न हुन्छ, नेपाल र भारतबीचको स्ट्रिप नक्सा के वास्तवमै अशुद्ध छ ? सबै अशुद्ध छन् कि केही प्रतिशत मात्रै ! यिनै प्रसङ्गमा स्ट्रिप नक्सा भनेको के हो भन्ने पहिले यो आलेखमा उल्लेख गर्दै त्यसपछि नक्सा शुद्ध–अशुद्ध के–कस्तो छ भन्ने छोटकरी विवेचना गरिनेछ । 

स्ट्रिप नक्सा के हो ?
स्ट्रिप नक्सा भनेको दुई देशबीचको सीमारेखा र दुवैतर्फको केही चौडा सीमावर्ती भूभाग देखाउने चिर्कटो धर्से नक्सा हो । यसलाई ‘सीमा नक्सा’ पनि भनिन्छ । यो नक्सा पटुकाजस्तो लामो पारेर बनाइने भएकाले यसलाई ‘रिबन नक्सा’ भन्ने चलन पनि छ । यस्ता सीमानक्सा ठूलो माननापमा बनाइन्छ । सीमाखम्बाहरूले आपसी दूरीमा बनाएका रेखाको दुवैतर्फ अक्सर आधा–आधादेखि एक–एक किलोमिटर चौडा भूमिको पूर्ण विवरण सीमानक्सामा चित्रांकन गरिएको हुन्छ । यस नक्सामा दुवैतिरको ‘नो–म्यान्स ल्यान्ड’देखाउनुका साथै जमिनमा रहेका घर, टहरा, रूखपात, सडक, कुलो, आबादी, जंगल आदि देखाइएका हुन्छन् । मुख्यतया यस नक्सामा दुवै देशको साझा सीमाखम्बा र यसको सिरियल नम्बर उल्लेख भएको हुन्छ । सीमाखम्बाको अवस्थिति र सीमारेखा देखाउनु नै स्ट्रिप नक्साको विशेषता हो ।

स्ट्रिप नक्सामा जानी–नजानी मानवीय त्रुटि भएको देखिए यसलाई दुवै देशका प्राविधिकले नक्सा अध्ययन र क्षेत्रगत पुनरावलोकन गरी सुधार संशोधन गर्ने प्रक्रिया अपनाउनु सान्दर्भिक हुन्छ ।

स्ट्रिप नक्सा तयार पार्ने काम शतप्रतिशत सम्पन्न भएपछि सीमा प्रोटोकोल (बडापत्र) तयार पारिन्छ । यस प्रोटोकोलमा दुवै सरकारका प्लेनिपोटेन्सियरी (सर्वाधिकारसम्पन्न पदाधिकारी) अर्थात् परराष्ट्रमन्त्रीले संयुक्त हस्ताक्षर गर्छन् । जुन देशमा हस्ताक्षर गरिन्छ, त्यस देशको प्रधानमन्त्रीको उपस्थिति रहने प्रचलन रहेको छ । प्रोटोकोलका साथमा स्ट्रिप नक्सा अनिवार्य सामग्रीका रूपमा समावेश गरिन्छ ।

नेपाल–भारत स्ट्रिप नक्सा
१८८० किलोमिटर लामो नेपाल–भारत सीमारेखाको करिब ९७ प्रतिशत सीमाको १८२ थान स्ट्रिप नक्सा तयार भएको छ । अब लगभग तीन प्रतिशत भनेको करिब ५६ किलोमिटरको औसतमा ६ सिटजति नक्सा तयार पार्ने काम बाँकी छ । यस्ता १८२ थान स्ट्रिप नक्सा १ बराबर १५ हजार (नक्सामा नाप्दा १ सेन्टिमिटर भए जमिनमा १५० मिटर दूरी हुने) स्केलमा दुवै देशका सर्भेयरले संयुक्त रूपमा तयार गरेका छन् । नेपालले एक छोडी अर्को नक्सा र भारतीय पक्षले बाँकी अल्टरनेटिभ नक्सा बनाएका हुन् । दुवैतर्फबाट बनाइएका ती नक्सालाई एकआपसमा आबद्ध बनाई विवरण भिडाएर नक्सामा रातो रङले सीमारेखा तानी फाइनल गरिएको छ । यसैले बोलिचालीको भाषामा स्ट्रिप नक्सालाई ‘रेड लाइन म्याप’ पनि भन्ने गरिएको छ । यस्ता फाइनल नक्सा प्रिन्ट गरी एक प्रति नेपालसँग र अर्काे प्रति भारतीय पक्षसँग रहेको छ । दुवैतर्फसँग भएको यी स्ट्रिप नक्सा समान स्तरको मानिएको छ ।

स्ट्रिप नक्सा बनाउँदा ब्रिटिस इन्डियाले सुगौली सन्धिपछि तयार पारिएका उपलब्ध भएसम्मका सीमानक्सालाई आधारभूत सामग्रीका रूपमा लिइएको बुझिएको छ । दुवै देशलाई मान्य हुने नक्सालाई नै आधार नक्सा मानिएको छ । मान्य नभएका र नक्सा नभेटिएका भूभागको संयुक्त सर्भेक्षण गरी नक्सा तयार गरिएको छ । ब्रिटिस इन्डियाद्वारा गाडिएका जंगेखम्बालाई मूल सीमास्तम्भ मानिएको छ । त्यस समय लामो दूरीमा स्तम्भ गाडिएकाले र दुई स्तम्भबीचको सीमारेखा सोझो नभई बांगोटिंगो, चोसाचोसी, भित्रबाहिर पसेको, निस्केको हुनाले यस्ता कुनाकानी परेको सीमारेखामा मझौला र साना साइजका सीमाखम्बा ठड्याइएका छन् । यस्ता सीमापिलर बनाउँदा बिजोर नम्बरको स्तम्भ नेपालले र जोर नम्बरको भारतले बनाएका छन् । 

स्ट्रिप नक्सामा जम्मा ८ हजार ५५३ सीमास्तम्भ अंकित गरिएका छन् । तीमध्ये ४ हजार ९६० स्तम्भ जमिनमा खडा गरिएका छन् । अन्य निर्माण हुन बाँकी  छ । निर्मितमध्ये खोलाले बगाएको र जमिनबाट गायब भएको संख्या ५०१ छ । दुवैतर्फका दशगजा क्षेत्र निर्जन र उपयोगविहीन हुनुपर्नेमा केही मात्रामा घर, गोठ बनाएका र आबाद गरिएका पनि छन् । अन्य कतिपय दशगजा क्षेत्र जमिनमा देखिँदैन । यस्ता क्षेत्रको कतिपय स्थानमा सीमाखम्बा पनि भेटिँदैनन् र सीमा मिचिने हुन्छ । 

स्ट्रिप नक्सामा त्रुटि
नक्सा बनाउने प्राविधिक कार्य हो । सबै प्रकारको काममा केही थोरै मात्रामा कमी–कमजोरी हुन सक्छ भन्ने सर्वस्वीकार्य कुरो हो । नक्सा तयार गर्ने सिलसिलामा पनि औजारीय त्रुटि, मानवीय त्रुटि, कार्टोग्राफिक एरर, आधारभूत नक्सा निर्धारणमा त्रुटि आदि रहेका हुन्छन् । यस्ता त्रुटि जानी–नजानी भएका हुन् या नियतवश भएका हुन् भन्ने कुराको लेखाजोखा महत्वपूर्ण हुन्छ । १८२ थान नक्सामध्ये केही र एउटै नक्सामा पनि सानोतिनो त्रुटि रहेको हुन सक्छ । यही त्रुटिलाई लिएर अहिले चर्चा–परिचर्चा चलिरहेको पाइन्छ । 

उदाहरणका निम्ति कन्चनपुरको साबिक परासन गाविस–७, ८, ९ को प्याराताल क्षेत्रको स्ट्रिप नक्सामा त्रुटि भएको चर्चा संसदीय समितिमा चलेको छ । कञ्चनपुरका स्थानीय र जनप्रतिनिधिले स्ट्रिप नक्साअनुसार अघि बढ्दा प्याराताल नै भारततर्पm परेको र नक्सा तयार पार्दा नेपालीले वर्षौंदेखि भोगचलन गर्दै आएको जमिन भारतमा परेको भन्ने कुराको उजुरी गरेको सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिमा पर्याप्त छलफलपछि समिति सभापति शशी श्रेष्ठले नेपाल–भारत स्ट्रिप नक्साबारेको सत्यतथ्य र सीमासम्बन्धी विषयमा विवाद आएकाले यसबारे के भएको हो जानकारी गराउन सरकारलाई निर्देशन दिएकी छिन् ।
यसबारे अध्ययन गर्दा सन् १८६० मा एन्डरसनले तयार पारेको सिट नं. १३ ‘रफ थाक बस्ट म्याप’ नामक आधार नक्सामा मुख्य स्तम्भ नं. १९४ र १९५ लाई एकैस्तरको दर्जा दिएको छ । तर, नेपाल–भारत संयुक्त प्राविधिक समितिले तयार पारेको स्ट्रिप नक्सामा स्तम्भ नं. १९५ को स्थान देखाए पनि त्यसलाई मुख्य स्तम्भ नमानी बेवास्ता गरेर स्तम्भ नं. १९४ देखि १९६ तर्पm नयाँ पिलरहरू ७६२, ७६३ तथा ७६४ र यसका लगभग २० सहायक (मझौला) र साना आकारको खम्बा गाडेको देखिन्छ । १९५ नं. को स्तम्भ झाडीका बीचमा ढालिएको अवस्थामा रहेको छ । यसैकारणले स्ट्रिप नक्सामा प्याराताल र बीचफाँटा माध्यमिक विद्यालयको ७ हेक्टरसमेत करिब ९८० हेक्टर नेपाली जमिन भारततर्पm पर्न गएको बुझिन्छ । (तत्कालीन व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिको ०६६ को प्रतिवेदनमा पनि यस्तै विवरण उल्लेख गरिएको हुनुपर्छ) । यसैले गर्दा मन्त्री अर्यालले ‘त्रुटि भएको नक्सालाई सच्याएर अघि बढ्ने’ कुरा संसदीय समितिमा बताएकी होलिन् ।

समाधानका उपाय
स्ट्रिप नक्सामा जानी–नजानी मानवीय त्रुटि भएको देखिए यसलाई दुवै देशका प्राविधिकले नक्सा अध्ययन र क्षेत्रगत पुनरावलोकन गरी सुधार संशोधन गर्ने प्रक्रिया अपनाउनु सान्दर्भिक हुन्छ । स्ट्रिप नक्सा तयार पार्दा स्थानीय निकायका पदाधिकारीलाई कमसेकम अवलोकनकर्ताका रूपमा नराखिँदा यस्तो त्रुटि भएको हुन सक्छ । त्यसैले क्षेत्रगत अवलोकन गर्दा नेपालको सीमावर्ती क्षेत्रका स्थानीय पालिका प्रमुख र भारतीय सीमावर्ती ग्राम पञ्चायतका सरपञ्चलाई संयुक्त साक्षीका रूपमा मात्रै भए पनि राख्नु सान्दर्भिक हुन्छ । सीमाको रक्षा भनेको दुवैतर्फका सीमावर्ती जनताले नै गर्ने हुन् र सरोकारवाला पनि उनीहरू नै हुन् भन्ने तथ्य बिर्सिनुहुन्न । सीमामा फट्याक्क केही भयो भने सबभन्दा पहिले जानकारी उनीहरूलाई नै हुन्छ । सरकारी निकायलाई विवरण दिने पनि तिनीहरू नै हुन् ।

अर्कोतर्फ, स्ट्रिप नक्सा शुद्ध भए पनि जमिनमा सीमास्तम्भ नासिनाका कारण र दशगजा क्षेत्रको पनि नामोनिसान नभएका स्थानमा क्रस–होल्डिङ अकुपेसन (सीमा–पार जोत–कमोत दखल) भएका केही स्थान रहेका छन् । एक अध्ययनअनुसार भारतीयले नेपाली भूमितिर दखल गरेका ७८ स्थान र नेपालीले भारततर्पm दखल गरेका १७ स्थान रहेको छ । वास्तवमा यस्ता कति स्थानको कति क्षेत्रफलमा दखल गरिएको छ भन्ने संयुक्त तरिकाले अध्ययन गरी त्यसको इन्भेन्टरी बनाएर समस्या समाधानको बाटो पहिल्याइनुपर्छ । यसबाट सीमा मिचियो भन्ने स्थानीय जनगुनासो साम्य हुन सक्छ । मूलतः कति सिट स्ट्रिप नक्साका कुन–कुन स्थानमा त्रुटि रहेको छ भन्ने कुरा संयुक्त तरिकाले छानबिन गरी आवश्यक मात्रामा सुधार संशोधन गरिने प्रबन्ध हुनुपर्छ ।