१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ माघ १८ शुक्रबार २०:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

पुँजीवाद र साम्यवादकाे विकल्पमा मानवतावाद र भातृत्ववाद लिएका छाैँ : बाबुराम भट्टराई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ १८ शुक्रबार २०:१९:००

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले शासकका आसेपासे र टाठाबाठाले मात्रै प्रतिफल लिएकाले देशकाे असन्तुलित विकास भएको बताएका छन् । एक महिने जनसंवाद यात्राअन्तर्गत धनकुटाको कागतेमा आयोजित कार्यक्रममा सहभागी हुँदै उनले राणा र राजाका पालादेखि आसेपासेलाई मात्रै ध्यान दिने प्रवृत्ति रहेको बताए । 

‘सुगौली सन्धिका बेला पहाडी भूभागमा ७० प्रतिशत जनसंख्या बस्थ्यो तर, समय बित्दै जाँदा हाम्रा शासकले सबैको विकासभन्दा आसेपासेले प्रतिफल पाउने गरी नीति अबलम्बन गरे,' उनले भने, 'शासकले मधेसमा मौला स्थापित गरेर आसपासे पोस्ने र आसेपासेले शासकको चाकरी गर्ने प्रवृत्तिले विकास पाउन सकेनन् ।'

विगतका शासकको गलत नीतिले पहाडको विकास हुन नसकेको संयोजन भट्टराईको भनाई थियो । समावेशी विकासले मात्रै पहाडमा समृद्धि आउने र यसका लागि केन्द्रलाईभन्दा स्थानीय तह र त्यसमा पनि वडासँग बढी अधिकार हुनु पर्ने उनले बताए । ‘अधिकार केन्द्रमा राख्ने होइन संघलाई भन्दा प्रदेशलाई र प्रदेशलाई भन्दा स्थानीय तहलाई, स्थानीय तहलाई भन्दा वडालाई बढी अधिकार दिनुपर्छ,' उनले भने, 'त्यसो भए मात्रै विकास जनताको घरदैलोमा पुग्छ ।’

पहाडबाट बसाइसराई गर्नुको साटो पहाडमा नै विकास र समृद्धि ल्याउनेतिर ध्यान जानुपर्ने संयोजक भट्टराईले जोड दिए । ‘अबको युग पहाडमा नै कृषिको व्यवसायीकरण कसरी गर्ने, पर्यटन प्रवर्द्धन कसरी गर्ने र औद्योगीकरण कसरी गर्ने भन्ने योजना बनाउँदै कार्यान्वयन गर्ने बेला आएको छ,' उनले स्पष्ट पारे ।

त्यस्तै जनसंवाद यात्राका क्रममा शुक्रबार धनकुटामा आयोजित पत्रकार भेलामा पुँजीवादी र साम्यवादी धारको विकल्पको रुपमा अघि सारिएको मानवतावाद र भातृत्ववादसहितको विचारलाई आफ्नो पार्टीले नयाँ मोडलको रुप दिने संयोजक भट्टराईले बताए । ‘हामी पुँजीवादी र साम्यवादी दुवैभन्दा माथि उठेको विचार नेपालबाट अघि सार्दै छौं,' उनले भने, ‘यो हाम्रो दुस्साहस हो, तर सफल हुने विश्वास छ ।’