मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ८ सोमबार १५:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टी सभापतिमा देउवालाई मैले मात्र हराउन सक्छु : शशांक कोइराला (भिडियाेसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ८ सोमबार १५:०१:००

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा सभापति पदको दाबी गर्दै शेरबहादुर देउवालाई आफूले मात्र पराजित गर्न सक्ने बताएका छन् ।

पार्टी सभापतिमा देउवालाई पराजित गर्ने ग्यारेन्टीका साथ आफ्नो दाबी सभापतिमा रहने उनले बताए ।

‘मैले धेरैसँग परामर्श गर्दा तपाईं नै उठ्नुपर्‍यो भनेर सुझाब पाएको छु,’ उनले भने, ‘तर, अरू साथीहरूको पनि सभापतिमा दाबी छ । सबै मिलेर एकजना उठ्नुपर्छ ।’

उनले वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतका नेतासँगको सल्लाहमा एकजना उम्मेदवार उठ्ने बताए । 

‘व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ,’ उनले भने, ‘रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरू कसैले पनि सक्दैन, यो ग्यारेन्टीका साथ भन्न चाहन्छु । मबाहेक शेरबहादुरजीलाई हराउने व्यक्ति छैन ।’ 

महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठनलगायतका काम विधानविपरीत गरिरहेको भन्दै उनले असन्तुष्टि जनाए । पार्टीभित्र जतिसुकै विरोध गर्दा पनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्दै उनले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने बताए । 

‘सभापतिले गरेको मनोमानीको विरोध त गरिसकेका छौँ । तर, उहाँ कुरा सुन्नुहुन्न,’ उनले भने, ‘महाधिवेशनमै त्यसको जवाफ दिनुपर्छ, किनकि अरू विकल्प छैन ।’

देउवाले महाधिवेशनमा भोट बढाउन कार्यकाल नौ महिना बाँकी हुँदा विभागको संख्या बढाउँदै मनपरी गरेको उनले बताए । भेटेर विरोध जनाउँदा पनि सभापतिको शक्ति प्रयोगमा उनी तल्लीन रहेको उनको आरोप थियो ।

अधिवेशन समयमा गर्ने हो भने पहिले जिल्ला अधिवेशन, जिल्लाका सबै एकाइ अधिवेशन हुनुपर्ने, सही किसिमले क्रियाशील सदस्यता वितरण हुनुपर्ने उनको भनाइ छ । 

‘१० लाख क्रियाशील बनाउँदा गाईजात्रा हुने डर छ,’ उनले भने, ‘कसैसँग सल्लाह नगरी सबैलाई केन्द्रीय सदस्यमा घुसाउनुभएको छ । क्रियाशील दिनुभएको छ । आउनेहरू क्रियाशील हुन कि होइनन् भनेर पनि पुष्टि गर्नुपर्‍यो ।’ 
  
महाधिवेशनका लागि पार्टीमा गुट–उपगुट हुनु स्वाभाविक भए पनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको उनले बताए । आफू सभापतिमा निर्वाचित भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाएर अगाडि बढाउने उनले दाबी गरे । 

‘अहिले धेरै गुट–उपगुट छन्, महाधिवेशनका लागि हुनु स्वाभाविक हो । तर, महाधिवेशन सकिनेबित्तिकै पार्टीलाई एक बनाउनुपर्‍यो । जुन शेरबहादुरजीले सक्नुभएन । आजको मितिमा मेरो मान्छे र तेरो मान्छे भन्नुहुन्छ,’ उनले भने । 

तोकिएकै मिति ७ फागुनमा महाधिवेशन सम्पन्न भए मात्रै आगामी निर्वाचनमा पार्टीलाई सही स्थानमा ल्याउन सकिने उनले बताए । स्थानीय चुनावको तयारीका लागि समेत समय राखेर महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको धारणा छ । 

अहिलेको सरकारबाट लोकतन्त्र खतरामा रहेको कोइरालाले बताए । सरकारले पटकपटक संविधान र ऐन–कानुनविपरीत काम गरिरहेको उनले आरोप लगाए । देश संघीय संरचनामा गए पनि कम्युनिस्ट सरकारले संघीयतालाई खतरामा पार्ने गरी काम गरिरहेको उनले बताए । लोकतन्त्रलाई जोगाउन भए पनि अहिले डेमोक्रेटिक अलाइन्स आवश्यक रहेको उनको भनाइ थियो । 

‘लोकतन्त्र स्थापित नहुँदासम्म अलाइन्स गर्नुपर्छ । डेमाेक्रेसी अहिले पनि खतरामा छ,’ उनले भने, ‘कम्युनिस्टहरू डेमाेक्रेसी र संसदीय व्यवस्थामा विश्वास गर्दैनन्, त्यसलाई दृष्टिगत गरेर मैले अलाइन्सको कुरा गरेको हो ।’
भिडियाे