१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ ७ आइतबार १८:०१:००
Read Time : > 4 मिनेट
खेलकुद डिजिटल संस्करण

च्याम्पियन्स लिगको फाइनलमा बायर्नलाई पिएसजीको चुनौती

Read Time : > 4 मिनेट
२०७७ भदौ ७ आइतबार १८:०१:००

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको इतिहासमै पहिलोपटक फाइनल खेल दर्शकरहित हुनेछ । आइतबार राति लिस्बनमा हुने फाइनलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) तथा जर्मन क्लब बायर्न म्युनिख एक–आपसमा प्रतिस्पर्धा गर्दै छन् । पिएसजीको जर्सीबाट नेमार जुनियर र केलियन एम्बाप्पे पहिलोपटक युरोपियन च्याम्पियन बन्न लालायित छन् । त्यहीँ बायर्नका रोबर्टो लेवान्डोस्की उपाधि उचाल्ने रणनीतिमा देखिन्छन् । 

कतारी लगानीकर्ता आएपछि पिएसएजीले खेलाडी भित्र्याउन मनग्य खर्च गर्दै आइरहेको छ । पछिल्लो एक दशकमा पिएसजीले एक से एक खेलाडी अनुबन्ध गऱ्याे । तर, क्लबको इतिहासमै युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिताको फाइनल पुगेको पहिलोपटक हो । यसअघि पिएसजी क्वार्टरफाइनलभन्दा माथि उठ्न सकेको थिएन । पिएसजीको तुलनामा बायर्न अनुभवी क्लब हो । बायर्नले च्याम्पियन्स लिग पाँचपटक हात पारेको छ । छैटाैँपटक उपाधिमा आफ्नो नाम लेखाउन जर्मन क्लब तयार देखिन्छ । 

ब्रिस्वनको स्टाडिडो डा लुइज रंगशालाको क्षमता ६५ हजार सिट हो । यदि दर्शकसहितको च्याम्पियन्स लिग हुँदा त्यसको रोमाञ्चककता कस्तो हुन्छ होला ? दुवै क्लबका स्टार खेलाडीको आक्रामक खेलमा ६५ हजार दर्शक त्यत्तिकै रोमाञ्चित हुने थिए । तर, कोभिड– १९ का कारण फाइनलमा अफिसियल, खेलाडी, सुरक्षाकर्मी, मिडिया तथा स्टाफबाहेक अन्यलाई प्रवेश दिइएको छैन । 

कोरोना भाइरसले प्रभावित पार्नुअघि समूह चरणका खेलमा दर्शकको उपस्थिति थियो । नकआउट चरणपछि मात्र दर्शकलाई रंगशालामा प्रवेश रोक लगाइएको हो । पिएसजीका मुख्य खेलाडी केलियनले दर्शकरहितको फाइनल खल्लो हुने बताएका छन् । ‘हामी सत्य लुकाउन सक्दैनौँ, पहिलोपटक फाइनल दर्शकरहित हुँदैन, हामीलाई विश्वास छ, हाम्रा समर्थक जहाँ छन्, त्यहीबाट पिएसजीको समर्थन गरेका हुने छन्,’ केलियनले भने । 

कोभिड– १९ ले च्याम्पियन्स लिग निर्धारित समयमै समाप्त हुने छाँटकाँट नदेखिएपछि यसको स्वरूप नै परिवर्तन गरिएको थियो । समूह चरणका खेल नकआउटका आधारमा गराइएको थियो । यसअघि नकआउटमा पहिलो तथा दोस्रो लेग हुने हुन्थ्यो । यसपटक सीधै क्वार्टरफाइनल र सेमिफाइनल स्वरूपमा खेलाइयो । यो संरचनामा एक गल्तीमै टोली बाहिरियो । घरेलु फुटबलमा नम्बर एक क्लबको दर्जा पाएको पिएसजीका खेलाडी फाइनलमा आत्तिएका छन् । 
फाइनलकै अनुभवी क्लब बायर्नविरुद्ध रणनीति बुन्नमा उनीहरू व्यस्त छन् । केलियन भन्छन्, ‘खेल राति छ, तर हामी अहिलेदेखि नै तनावमा छौँ, सबै च्याम्पियन्स ट्रफी उचाल्न चाहन्छन्, यो कोभिड– १९ बीच फुटबल खेल्नुपरेको छ, फरक किसिमको वातावरणमै उपाधि जित्ने योजना छ ।’ 

मैदानमा केही दर्शकको साथ खेलाडीले पाउनेछन् । सेमिफाइनलमा जर्मन क्लब लेज्पिङलाई हराउँदै पिएसजी पहिलोपटक अन्तिम दुईमा पुगेको हो । सन् २००४ मा मोनाकोपछि फाइनल खेल्ने पिएसजी दोस्रो फ्रेन्च क्लब हो । त्यो फाइनलमा मोनाको पोचुगाली क्लब एफसी पोर्टोसँग पराजित भएको थियो । 

सन् १९९३ मा मार्सेलोले पहिलोपटक उपाधि उचालेको थियो । त्यसवेला मोनाकोले फाइनलमा एसी मिलानलाई हराएको थियो । इतिहासमा मार्सेलोले दुईपटक च्याम्पियन्स लिग फाइनल खेलेको छ । मोनाकोबाहेक फ्रेन्च क्लब च्याम्पियन बनेको छैन । युरोपमा फ्रेन्च क्लबको गर्विलो इतिहास लेखाउनकै लागि लिस्बनमा आएको केलियनको भनाइ छ । उनी भन्छन्, ‘मैले सधैँ फाइनल खेलिरहेको र उपाधि उचालेको सपना देखेको थिएँ जुन पूरा हुन एक फाइला टाढा छ ।’  

यता पिएसजीको प्रतिद्वन्द्वी बायर्नलाई फाइनल कसरी खेल्नुपर्छ, राम्रोसँग थाहा छ । ११ पटक फाइनल पुगेको बायर्न यसपटक उत्कृष्ट फर्ममा छ । लामो समयपछि च्याम्पियन्स लिगमा अति नै उत्कृष्ट फर्ममा देखिएको बायर्नले स्टार खेलाडीले भरिएको बार्सिलोनालाई ८–२ ले हरायो । यसले पनि के देखाउँछ भने बायर्न योपटक उपाधिविना घर फर्कने छैन । अगाडि जति स्टार खेलाडीले भरिए पनि सहजै पाखा लगाउने अभियानका साथ बायर्न देखिन्छ । सन् २०१३ को फाइनल अल जर्मन क्लब बनेको थियो । 

त्यसबेला फाइनलमा बार्यनले बोरुसिया डर्टमुन्डलाई २–१ को झिनो अन्तरले हराएको थियो । त्यो यता फाइनल खेल्न लागेको बायर्न पहिलोपटक हो । बोरुसियालाई फाइनल पुऱ्याउने प्रशिक्षक थिए जर्गेन क्लोप । क्लोप उनै प्रशिक्षक हुन्, जसले लिभरपुललाई ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि तथा १२ वर्षपछि च्याम्पियन्स लिग ट्रफी दिलाएका थिए । सात वर्षपछि फाइनल स्थान बनाउँदा बायर्नका गोलरक्षक, मानुएल नुएर, जेरोमी बोएटिङ, डेभिड अल्वा तथा थोमस मुलरजस्ता अनुभवी खेलाडी छन् । सन् १९७४ मा बायर्नले पहिलोपटक च्याम्पियन्स लिग जित्दा फ्रेन्च लिग वानमा पिएसजी भर्खर चम्किरहेको थियो । डिसेम्बरयता बायर्नले एक खेल पनि गुमाएको छैन । 

समग्रमा बायर्न लगातार २९औँ खेलमा अपराजित छ । यसैक्रममा बायर्नले लगातार आठौँपटक बुन्डेस लिगा फुटबल जित्यो । सुचारु भएको लिगमा बायर्न दश खेलमै विजयी रह्यो । जसक्रममा बायर्नले इंग्लिस क्लब टोटन ह्याममाथि ७–२ को सानदार जित रच्यो । बायर्नको शक्ति भनेकै रोबर्टो लेवान्डोस्की हो । यो सिजनमा लेवान्डास्की उच्च लयमा छन् । उनले समग्रमा ५५ गोल गरेका छन् । बायर्नको मुख्य हतियार डिफेन्स तथा एट्याकिङ हो । बायर्ननले पिएसजीका नेमार, केलियन तथा एन्गेल डिमारियाका शक्तिशाली प्रहार र फिनिसिङको जवाफ दिनुपर्छ । 

बायर्नलाई यसपालि एकै सिजनमा तेहोरो उपाधि उचाल्ने अवसर छ । एकै सिजनमा तीन ठूलो उपाधि जित्नेलाई ट्रेबल भनिन्छ । यदि बायर्नले पिएसजीलाई निराश पाऱ्याे भने इतिहासमै बायर्न यो सफलता चुम्ने तेस्रो क्लब बन्नेछ । रमाइलो पक्ष के छ भने यस्तो सफलता केवल बार्सिलोना र बायर्नले मात्र हात पारेका छन् । २००८–०९, २०१४–१५ र २०१२–१३ को सिजनमा बार्सिलोनाले ट्रेबल उपाधि जितेको थियो । बायर्नले यो दुईपटक हात पारेको छ । 

म्यानेस्टर युनाइटेड, इन्टर मिलान, सेल्टिक र एज्याक्सले एकैसिजनमा घरेलु लिग तथा च्याम्पियन्स लिग उपाधि जितेका थिए । यो सिजनमा फाइनल पुग्ने क्लबले विपक्षी पोस्टमा सर्वाधिकगोल इतिहास रच्ने अवसर छ । बायर्नले पिएसजीविरुद्ध तीन गोल गरे बार्सिलोनाको रेकर्ड बराबरी गर्ने छ । बार्सिलोनाले सन् १९९९–२००० को सिजनमा सर्वाधिक ४५ गोल गरेको थियो । यसैगरी रियल म्याड्रिडले २०१३–१४ मा ४१ गोल तथा लिभरपुलले २०१७–१८ मा ४१ गोल गरेका थिए । चालू सिजनको च्याम्पियन्स लिगमा १९६ खेलमा ५४३ गोल भएका छन् । प्रतिखेल ३.७६ गोल औसत रहेको छ । यो सिजनमा ९० मिनेटमित्र ७६ खेलमा ७८ गोल भएको देखिन्छ । 

फाइनल यात्रा
युइएफएको वरीयतामा सातौँ स्थानमा रहेको पिएसजीले यस सिजनको च्याम्पियन्स लिगमा १० मध्ये आठ खेल जितेको छ । पिएसजीले एक ड्र र एक हारको सामना गऱ्याे । पिएसजीले विपक्षीको पोस्टमा २५ गोल गरेको छ । समूह चरणदेखि नै विजेता बनी फाइनल यात्रा गरेको पिएसजीले प्रिक्वार्टरफाइनलमा बोरुसिया डर्टमुन्डलाई ३–२ ले हरायो । क्वार्टरफाइनलमा एटलान्टा र सेमिफाइनलमा लेज्पिङलाई हरायो । गत संस्करणमा पिएसजी प्रिक्वार्टरफाइनलसम्म मात्र पुगेको थियो । 

दोस्रो वरीयतामा रहेको बायर्नले दशै खेल जित्दै अन्तिम दुई स्थान पक्का गरेकाे  हो । यो सिजनमा बायर्नले सर्वाधिक ४२ गोल गरेको छ । बायर्नविरुद्ध आठ गोल मात्र विपक्षीले गरेका छन् । समूह चरणको ६ खेल नै बायर्नले आफ्नो पक्षमा पारेको थियो । बायर्नले लगातार दुई खेलमा ६ गोलभन्दा बढी विपक्षी पोस्टमा गरेको थियो । प्रिक्वार्टरफाइनलमा टोटनह्यामलाई ७–१ र क्वार्टरफाइनलमा बार्सिलोनालाई ८–२ ले पाखा लगाएको बायर्नले सेमिफाइनलमा लियोनलाई हराउँदै ११औँपटक च्याम्पियन्स लिगको फाइनल स्थान सुरक्षित गऱ्याे । 

च्याम्पियन्स लिगमा हेड टु हेड 
च्याम्पियन्स लिग इतिहासमा बायर्न र पिएसजी आठपटक एक–आपसमा प्रतिस्पर्धा गरेका छन् । जसमा पिएसजीले पाँच र बायर्नले तीन खेलमा जित निकालेका छन् । पिएसजीले १२ तथा बायर्नले ११ गोल विपक्षी पोस्टमा गरेका छन् । सन् २०१७ को समूह चरणमा बायर्नले पिएसजीलाई ३–१ ले हराएको थियो । अहिलेसम्म यी दुवै क्लब समूह चरणमा मात्र प्रतिस्पर्धा गरेका छन् । क्वार्टरफाइनलदेखि माथि समूहमा प्रतिस्पर्धा हुन लागेको पहिलोपटक हो । 

लेवान्डोस्की नजर रोनाल्डोको रेकर्ड
बायर्नका मुख्य स्ट्राइकर लेवान्डोस्की पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको रेकर्ड तोड्ने तयारीमा छन् । अहिलेसम्म लेवान्डोस्कीले १५ गोल गरेका छन्, च्याम्पियन्स लिगमा । च्याम्पियन्स लिगमा १५ गोल गर्ने लेवान्डोस्की दोस्रो खेलाडी हुन् । रोनाल्डोले सन् २०१३–१४ को सिजनमा सर्वाधिक १७ गोल गरेका थिए । पिएसजीविरुद्धको फाइनलमा ह्याट्रिक लगाए लेवान्डोस्कीले च्याम्पियन्स लिगमा नयाँ गोलको इतिहास रच्नेछन् । उनले रोनाल्डोको रेकर्ड तोड्नेछन् । रोनाल्डोले सन् २०१५–१६ मा १६ गोल र २०१७–१८ को सिजनमा १५ गोल गरेका थिए । 


सर्वाधिक जित्ने क्लब
क्लब    राष्ट्र    उपाधि संख्या
रियल म्याड्रिड    स्पेन    १३
एसिमिलान    इटाली    ७
लिभरपुल    इंग्ल्यान्ड    ६
बायर्न म्युनिख    जर्मनी    ५
बार्सिलोना    स्पेन    ५

च्याम्पियन्स लिगमा सर्वाधिक व्यक्तिगत गोल
खेलाडी    राष्ट्र    गोल
क्रिस्टियानो रोनाल्डो    पोर्चुगल    १३१
लियोनल मेसी    अर्जेन्टिना    ११५
राउल गोन्जालेज    स्पेन    ७१
रोवर्टो लेवान्डोसकी    पोल्यान्ड    ६७
करिम बेन्जिम    फ्रान्स    ६५

एजेन्सीको सहयोगमा