१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रासस काठमाडाैं
२०७७ भदौ ७ आइतबार १०:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुबईमा अलपत्र परेका नेपाली लिन निगमको जहाज उड्यो    

Read Time : > 1 मिनेट
रासस काठमाडाैं
२०७७ भदौ ७ आइतबार १०:०६:००

चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपालीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए– ३३० जहाज त्यसतर्फ उडेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४:१५ बजे काठमाडौं आइपुग्ने तालिका छ । दुबईबाट दुई सय ६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौं आइपुग्ने निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।      
     
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौं–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो । निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौंका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौंमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगन गरेको थियो । 

उक्त दिन दुबईबाट काठमाडौं उडानका लागि टिकट लिइसकेका यात्रुका लागि आज उडान गरिएको निगमले जनाएको छ । त्यस दिन काठमाडौंबाट दुई सय ३५ यात्रु तथा १५ टन कार्गो लिएर गएको निगमको वाइडबडी जहाज दुबईबाट रित्तै काठमाडौं फर्किएको थियो ।     
     
जहाज रित्तै फर्केपछि सम्बन्धित निकायको चौतर्फी आलोचना भएको थियो । उडानका लागि दुबई विमानस्थलमा तयारी अवस्थामा रहेका यात्रु अलपत्र परेका थिए । हालैको मन्त्रिपरिषद् बैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको थियो । मन्त्रिपरिषद्को यही बिहीबार बसेको बैठकले भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।     
     
कोभिड– १९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पिसिआर परीक्षण सहज भएका देशहरूबाट सर्तसहितको नियमित उडान गर्ने र त्यस्तो उडानबाट दैनिक पाँच सय यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय गरिएको छ । त्यस प्रयोजनका निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई उडान तालिका बनाउने जिम्मेवारी दिइएको छ ।     
     
सरकारी निर्णयअनुसार पिसिआर परीक्षण सहज भएका मुलुकहरू मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयानुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गरिनेछ ।     
     
बैठकले पिसिआर सहज नभएका मुलुकहरू कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत यात्रु ल्याउन नपाइने निर्णय गरेको छ । 

नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावलीबमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरिनेछ ।     
     
यसरी आउने यात्रुको ७२ घन्टाभित्र पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने जनाइएको छ । विदेशबाट आउने यात्रु काठमाडौंमा आएपछि सात दिन आफ्नै खर्चमा होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ । 

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार आज विभिन्न मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन चार अन्तर्राष्ट्रिय उडान हुँदै छन् । नेपाल एयरलाइन्सको दुबई र हिमालय एयरलाइन्सको चीनको कुनमिङमा दुई उडान हुनेछ । हिमालयका दुवै जहाज राति गन्तव्यतर्फ उड्ने विमानस्थलले जनाएको छ । 

आजै भोल्गा ड्नेपर एयरलाइन्स नागपुरबाट काठमाडौं विमानस्थलमा अवतरण गर्नेछ । उक्त एयरलाइन्सको जहाज बिहान १०:१५ बजे काठमाडौं आएर आजै दिउँसो ३:१५ बजे फर्किने तालिका रहेको छ ।