१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ६ शनिबार १४:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वैदेशिक रोजगारीमा गएकालाई नि:शुल्क उद्धार गर्न कांग्रेसकाे माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ६ शनिबार १४:२२:००

नेपाली कांग्रेसले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नेपालीलाई निःशुल्क घर फर्केने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

सरकारले उद्धारका नाममा महँगाे चार्टर्ड फ्लाइटकाे टिकट र अन्य खर्च ताेकेर श्रमिककाे पीडामाथि पीडा थप्ने काम गरेकाे भन्दै कांग्रेसले सरकारी काेषबाटै उद्धार गर्न सरकारसँग माग गरेकाे हाे ।

सरकारी कोषबाटै उद्धार गर्न सर्वाेच्च अदालतले दिएको आदेश स्मरण गराउँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेकाे विज्ञप्तिमा ‘खाडीका मजदुर वर्ग शत्रु हुन्र ?’ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।  

सर्वोच्च अदालतले १ असारमा ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परी नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्धार गर्न’ सरकारका नाममा आदेश जारी गरेको उल्लेख गर्दै उक्त आदेश कार्यान्वयन गर्नुकाे सट्टा सरकारले उल्टै श्रमिकको पीडामाथि पीडा थप्न लागेको समाचारले नेपाली कांग्रेसलाई गम्भीर तुल्याएको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारीका कारण ६ महिनादेखि बेरोजगार भएर बसेका श्रमिकलाई चार्टर्ड फ्लाइटको महँगो टिकट खरिद गर भन्नु न्यायोचित नभएको भन्दै उद्धारमा सरकारको मानवीय भावना कम र व्यापारीको मस्तिष्क धेरै खपत भएको देखिएको विज्ञप्तिमा छ । 

सरकारको यो निर्णय सर्वोच्च अदालतको १ असारको आदेशको उल्लंघन र अदालतको मानहानि भएको कांग्रेसले स्मरण गराएको छ ।

श्रमिकले चार्टर्ड उडानको शुल्क, होटेल क्वारेन्टिनको खर्च, पिसिआर परीक्षणको खर्च र गाउँसम्म जाने सवारीसाधनको खर्च आफैँ व्यहोर्नुपर्ने सरकारी निर्णय गलत भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

अनुकूल अवस्थामा रेमिट्यान्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकूल वेलामा सरकारले वर्ग शत्रुको व्यवहार गरेकोमा कांग्रेसले प्रश्न उठाएको छ । 

कांग्रेसले कल्याण कोषकाे रकमबाट हवाई टिकट व्यवस्था गरेर नि:शुल्क उद्धार गर्न सरकारसँग माग गरेको छ । सरकारी खर्चमै क्वारेन्टिन, पिसिआर परीक्षण र घरसम्म जाने व्यवस्था मिलाउन कांग्रेसले आग्रह गरेको छ ।