मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ ६ शनिबार ०९:०९:००
Read Time : > 4 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फेरि रोकियो खेलकुद

Read Time : > 4 मिनेट
२०७७ भदौ ६ शनिबार ०९:०९:००

सुरु भएका प्रशिक्षणसमेत रोकिए, सन् २०२० मा नेपाली खेलकुदका लागि छैन कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता

नेपाली राष्ट्रिय फुटबल खेलाडी पिसिआर परीक्षण गरेर बन्द प्रशिक्षणमा सहभागी हुन तयार भइसकेका थिए । विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट खेल आगामी अक्टोबर र नोभेम्बरमा हुने तय थियो । तर, कोभिड–१९ महामारी अझै नियन्त्रणबाहिर देखिएका कारण विश्व फुटबल महासंघ (फिफा)ले गत साता यी सबै प्रतियोगिता कम्तीमा यो वर्ष आयोजना नगर्ने गरी स्थगित गर्‍यो । फिफाले यी खेल सन् २०२१ मा पुनः तय गरिने जनाएको छ । 

त्यससँगै एन्फाले अन्तिम तयारी गरेर पनि खेलाडीको बन्द प्रशिक्षण स्थगित गर्‍यो । जिल्लाबाहिरबाट काठमाडौं आइपुगेका खेलाडीसमेत आफ्नो घर फर्किसकेका छन् । एन्फा प्रवक्ता किरण राई भन्छन्, ‘खेल नै नहुने भएपछि बन्द प्रशिक्षण गराउनु आवश्यक भएन । त्यसैले प्रशिक्षण स्थगित गरेका छौँ । खेलाडी आफ्नो घर फर्किसकेका छन् ।’    

                                                                               .....

नेपाली क्रिकेट टोलीले पनि यही नोभेम्बरमा आगामी विश्वकप छनोटकै आधार प्रतियोगिता विश्वकप लिग दुईअन्तर्गतका शृंखला खेल्ने सम्भावना थियो । कोभिड महामारीका कारण गत अप्रिलदेखि रोकिएका शृंखला यसै वर्ष खेलाउने तयारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले गरेको थियो । कोभिड महामारीका कारण नेपाल सहभागी हुने तीन शृंखला रोकिएका छन् ।

गत अप्रिलमा हुने तय भएको नामिबिया र स्कटल्यान्ड तथा पपुवान्युगिनी र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी हुने दुई शृंखला रोकिए । यस्तै, जुलाईमा हुने तय भएको स्कटल्यान्ड र नामिबिया सम्मिलित शृंखला पनि रोकियो । रोकिएका ती शृंखला डिसेम्बरसम्म भए पनि यसै वर्षभित्र खेलाउने तयारीस्वरूप आइसिसीले सहभागी देशहरूलाई सोधेको थियो । 

सहभागी टोलीले प्रतियोगिताका लागि अर्काे देश भ्रमण गर्न र आयोजक देश आफैँले पनि असमर्थता जनाएपछि यो वर्ष यी प्रतियोगिता नहुने निश्चित भइसकेको छ । सहभागी र आयोजक देशको जवाफपछि आइसिसीले नै यी प्रतियोगिता स्थगित गरिएको इमेल नेपाल क्रिकेट संघ (क्यान)लाई पठाएको छ । यससँगै नेपाली क्रिकेटका लागि पनि यो वर्ष कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता नहुने स्पष्ट भएको छ । प्रतियोगिता नै नभएपछि क्यानले पनि खेलाडीको प्रशिक्षण सुरु नगर्ने भएको छ ।

‘हामीले त प्रतियोगिता खेल्न तयार छौँ भनेर जवाफ पठाएका थियौँ,’ क्यानका सचिव अशोकनाथ प्याकुरेल भन्छन्, ‘तर, अरू कतिपय सहभागी देशहरूले भ्रमण गर्न नसक्ने जवाफ दिए । शृंखला आयोजना गर्ने देशहरूले पनि असमर्थता जनाए । त्यसैले आइसिसीले नै कम्तीमा यो वर्ष खेल नहुने जानकारी गराएको छ ।’

कोभिड महामारीका कारण यो वर्ष अरू खेलमा पनि नेपालले अन्तर्राष्ट्रिय सहभागिता जनाउने छैन । नेपालको राष्ट्रिय खेल भलिबलको पनि केही प्रतियोगिता यही समय आयोजना हुने तय भएका थिए । ती प्रतियोगिता पनि कोभिड महामारीकै कारण रोकिएका छन् । नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दका अनुसार एबिसी सेन्ट्रल जोनअन्तर्गत महिला र पुरुष दुवैतर्फका प्रतियोगिता यही समय आयोजना हुने तय भएका थिए । ‘यी सबै प्रतियोगिता कोभिड महामारीकै कारण स्थगित भइसकेका छन्,’ चन्द भन्छन् । 

यस्तै, मार्सल आर्ट्सका तेक्वान्दो, कराते, जुडोदेखि टेनिस, टेबलटेनिस, ब्याडमिन्टन कुनै पनि खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले कम्तीमा यो वर्ष सहभागिता जनाउने छैन । ‘यो वर्ष उमेर समूह र राष्ट्रिय टोलीका गरी केही एसियन च्याम्पियनसिप आयोजना हुने तय भएका थिए । यद्यपि, कोभिड महामारीकै कारण यी खेल अनिश्चित बनेका छन्,’ नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ भन्छन् । 

                                                                           ....

सरकारले कोभिड महामारीका कारण घोषित लकडाउन गत ६ साउनमा सकिएको घोषणा गरेपछि खेलकुद पनि लयमा फर्कने प्रयासमा देखिएको थियो । क्रिकेट र फुटबलबाहेक अन्य खेलले पनि आफ्नो प्रशिक्षण सुरु गरेका थिए । देशभित्रै संक्रमितको संख्या बढ्न थालेपछि नेपाली खेलकुद फेरि रोकिएको छ । बुधबार मध्यरातबाट निषेधाज्ञा जारी गरिएको छ । देशभित्रै देखिएको बढ्दो कोभिड संक्रमणका कारण कम्तीमा नेपाली खेलकुद चाँडै लयमा फर्कन असम्भव देखिएको छ । आयोजना हुने तयारीमा रहेका अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित हुँदा घरमा पनि त्यसको तयारी रोकिएको छ । 

सरकारले लकडाउन सकिएको घोषणा गरेपछि फुटबल र क्रिकेटबाहेक अरू केही खेलले आफ्नो प्रशिक्षण सुरु गरेका थिए । कोभिड महामारीकै कारण अर्काे वर्षका लागि सरेको टोकियो ओलम्पिकको छनोट प्रतियोगिताको तयारीमा रहेका नेपाली खेलले पनि प्रशिक्षण सुरु गरेका थिए । त्यसमध्ये करातेले प्रशिक्षण रोकेको छ । खेलकुदसँग सम्बन्धित व्यक्तिलाई समेत संक्रमण देखिएपछि प्रशिक्षण रोकिएको हो । टोकियो ओलम्पिकका लागि नेपाली करातेका दुई खेलाडी अनु अधिकारी र नवीन रसाइली अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को छात्रवृत्तिमा छनोट तयारीमा प्रशिक्षणरत छन् । 

सरकारले नै लकडाउन सकिएको घोषणा गरेपछि प्रशिक्षण थालेका ब्याडमिन्टन र टेबलटेनिसले पनि प्रशिक्षण रोकेका छन् । तत्काल कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता नभए पनि यी दुई खेलले आफ्नो खेलाडीको प्रशिक्षण सुरु गरेका थिए । 

ब्याडमिन्टनका खेलाडीलाई कोरियन प्रशिक्षक चोइसुङ लुकले प्रशिक्षण दिइरहेका थिए । यस्तै, ब्याडमिन्टनले पनि लैनचौरस्थित आफ्नै हलमा आफ्ना शीर्ष वरीयताका खेलाडीलाई बोलाएर प्रशिक्षण सुरु गरेको थियो । 

तर, सरकारले निषेधाज्ञा जारी गर्नुअघि नै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सोमबारबाटै सबै खेलकुद गतिविधि रोक्न निर्देशन दिएपछि ब्याडमिन्टन र टेबलटेनिसले प्रशिक्षण रोकेको हो । 

कोरोनालाई बहाना बनाएर प्रशिक्षण रोक्न हुन्न : सुशीलनरसिंह राणा

एथ्लेटिक्सका वरिष्ठ प्रशिक्षक एवं खेलकुद विज्ञ

प्रशिक्षण निरन्तर जारी रहनु पर्ने प्रक्रिया हो । यदि उत्कृष्ट नतिजा ल्याउने प्रशिक्षण गर्ने हो भने यो वर्षैभरि जारी रहनुपर्छ । एसियालीस्तरमै वैज्ञानिक प्रशिक्षण पद्धति अपनाउन थालिएको छ । प्रशिक्षणका लागि प्रारम्भिकदेखि विशिष्टसम्मको विभिन्न फेज हुन्छन् । प्रतियोगितामा भाग लिइसकेपछि पनि खेलाडी ‘ट्रान्जिसनल फेज’मै प्रशिक्षणरत हुन्छन् ।

यो फेजमा खेलाडीहरूले विभिन्न गतिविधिमा सहभागी भएर आफूलाई शारीरिक रूपमा सक्रिय बनाइराख्छन् । एउटा फेजको प्रशिक्षणमा राम्रो गरेपछि मात्रै खेलाडीहरूले अगाडिको प्रशिक्षणमा पनि राम्रो गर्न सक्छ । तर, नेपालमा यी कुनै पनि चरणमा प्रशिक्षण भएको पाइँदैन । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी भएपछिको आठ महिनाको अवधिमा नेपाली खेलाडी के गर्दै छन् ? १३औँ सागमा ५१ स्वर्णपदक दिलाएका खेलाडी अहिले कहाँ छन् ? यी कुरालाई हेर्न आवश्यक छ । कोभिड महामारीका कारण देखाउँदै सबैले प्रशिक्षण रोकिरहेका छन् । 

अहिलेदेखि नै विभिन्न चरणमा प्रशिक्षण गराएमा प्रतियोगिताको नयाँ मिति तोकिँदा खेलाडीले राम्रो प्रदर्शन दिन सक्छन् । हामी सधैँ प्रतियोगिताअघि छोटो समयको तयारी गर्ने अनि कुनै चमत्कार भइहाल्छ कि भन्ने आशा बोकेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान्छौँ । यो गलत सोच हो ।

अहिले केही भइहाल्ला कि भन्ने डर त छ । तर, हाम्रोभन्दा बढी संक्रमण देखिएका देशहरूले पनि प्रशिक्षण त चलाइराखेकै छन् । खेलाडीहरूलाई सबै तरिकाले सुरक्षाका उपाय अपनाएर बन्द प्रशिक्षणमा सहभागी गराउन आवश्यक छ । अहिले प्रशिक्षणमै नराख्ने हो भने खेलाडी बाहिरै संक्रमित हुन पनि सक्छन् । राम्रो सम्भावना बोकेका खेलाडी बाहिर संक्रमित भएर कुनै क्षति पुगे त्यसको जिम्मा कसले लिने ? त्यसैले कोभिड महामारीलाई बहाना बनाउनुहुँदैन । खेलाडीको प्रशिक्षण निरन्तर रहनु आवश्यक छ ।