Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर ११ बिहीबार
  • Thursday, 26 November, 2020
ad
केदार दाहाल काठमाडौं
२०७७ भदौ ६ शनिबार ०६:४४:००
अर्थ प्रिन्ट संस्करण

पहाडी क्षेत्रका विमानस्थल पनि ठूला जहाजयोग्य बनाइने, दुर्गममा हवाई भाडा आधा सस्तो हुने

केदार दाहाल, काठमाडौं
२०७७ भदौ ६ शनिबार ०६:४४:००

नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी दुर्गम क्षेत्रको विमानस्थल विस्तार गर्दै ठूला जहाजलाई उडान–अवतरण गर्न योग्य बनाउने भएको छ । त्यस्तो क्षेत्रमा स–साना जहाज मात्रै उड्दा यात्रु महँगो भाडा तिर्न बाध्य छन् । ठूला जहाज उड्न सकेमा हाल लाग्ने भाडादर आधा सस्तो हुने नियामक निकाय प्राधिकरणको अनुमान छ । 

जहाज निर्माता कम्पनीहरू पनि सानाभन्दा मध्यमस्तरका जहाज उत्पादनमा ध्यान दिइरहेकाले सरकारले दुर्गम क्षेत्रको विमानस्थल विस्तार गर्न लागेको प्राधिकरणका आयोजना निर्देशनालयका प्रमुख प्रदीप अधिकारीले बताए । ‘यो वर्ष ४ वटा विमानस्थलको काम सुरु गर्नेछौँ, दीर्घकालीन रूपमा विस्तार सम्भव भएका सबै विमानस्थलको धावनमार्ग बढाउनेछाैंँ,’ उनले भने ।  

यस वर्ष प्राधिकरणले जुम्ला, मुस्ताङ, दाङ र ताप्लेजुङको काम सुरु गर्न लागेको छ । ६ सय ७० मिटर धावनमार्ग रहेको जुम्लाको विमानस्थलमा नेपालगन्जबाट साना १९ सिट क्षमताका जहाजले यात्रु तथा कार्गो ढुवानी गर्दै आएका छन् । यसै वर्षबाट सुरु हुने विस्तारमा धावनमार्गलाई ८ सय ५० मिटर बनाउने लक्ष्य राखिएको छ । त्यस्तै, मुस्ताङमा रहेको जोमसोम विमानस्थल पनि ७ सय ३९ मिटर लामो धावनमार्ग छ । जहाँ पोखराबाट साना जहाजहरू मात्रै उडान–अवतरण गर्ने गरेका छन् । उक्त विमानस्थलको धावनमार्ग पनि ९ सय मिटर बनाउने योजना छ । 

त्यस्तै, ८ सय ३२ मिटर लम्बाइ रहेको दाङको विमानस्थललाई पनि विस्तार गरेर ९ सय ५० मिटरको बनाउन लागिएको छ । ७ सय मिटर लामो धावनमार्ग रहेको ताप्लेजुङ विमानस्थललाई विस्तार गरेर ८ सय ५० मिटर बनाउने तयारी गरिएको छ । केही वर्षभित्रै पहाडका १० वटा विमानस्थलको धावनमार्ग विस्तार गरेर ठूला जहाज उडान–अवतरणका लागि योग्य बनाउने योजना प्राधिकरणको छ ।  

अहिले अधिकांश पहाडी क्षेत्रका छोटा धावनमार्ग भएका विमानस्थलमा १९ सिट क्षमताका जहाज मात्र उडान तथा अवतरण गर्न सक्छन् । यसले दुर्गमको हवाई यात्रा महँगो हुने गरेको छ ।  

एटिआरले नयाँ सिरिजको जहाज उत्पादन गर्दै 
जहाज निर्माता कम्पनी एटिआरले पनि दुर्गम र छोटा धावनमार्ग लक्षित जहाजको सिरिज ल्याउने तयारी गरेको छ । एटिआर ४२–६०० एस सिरिजको उक्त जहाज ल्याउन एटिआरले तयारी गरिरहेको छ । सो जहाजले ८ सय मिटरको धावनमार्गमा उड्न सक्ने तथा ४० यात्रु बोक्न सक्छ । उक्त सिरिजको जहाज नेपालका कति विमानस्थलमा उडान गर्न सकिन्छ भनेर एटिआरको प्राविधिक टोली आएर अध्ययनसमेत गरेको थियो । अध्ययनपछि पहाडी क्षेत्रका विमानस्थलको केही क्षमता बढाएमा उडान गर्न सकिने जानकारी दिएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बताउँछन् । ‘हामीले पनि नियामक निकायलाई भनेका छाैँ, अब सानाभन्दा ठूला जहाजमा केन्द्रित हुनुपर्छ,’ बस्नेतले भने । नेपालका ५४ मध्ये ४४ विमानस्थल पहाडी क्षेत्रमा छन् । अधिकांश सञ्चालनमा छैनन् । पहाडी विमानस्थलको धावनमार्गको लम्बाइ ८ सय मिटरभन्दा बढी भएमा उक्त जहाज नेपाल आउन सक्ने अनुमान गरिएको छ । अहिले आन्तरिक विमानस्थलमध्ये २६ वटा मात्रै सञ्चालनमा रहेका छन् । १८ वटा विमानस्थल सञ्चालनमा छैनन् । 

अधिकांश विमानस्थल खर्च धान्नै सक्दैनन् 

नेपालमा सांसद र मन्त्रीहरूलाई आरोप नै लाग्ने गरेको छ । ठूला पाटा र समतल जमिन देख्नेबित्तिकै नयाँ विमानस्थल निर्माणको घोषणा गर्छन् र सरकारलाई विमानस्थल बनाउने दबाब दिन्छन् । जसका कारण देशभर रहेका ५६ विमानस्थलमध्ये ३२ वटा मात्रै सञ्चालनमा छन् । अधिकांश विमानस्थलले आफ्नै खर्च पनि धान्न सक्दैनन् ।   

गत वर्ष विमानस्थलबाट नेपाल नागरिक उड्डयन प्राधिकरणले ८ अर्ब ८१ करोड ३९ लाख आम्दानी गरेको थियो । कुल आम्दानीमा अधिकांश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हिस्सा हो । यसबाहेक नाफामा आधा दर्जन मात्रै विमानस्थल रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत वर्ष ६ अर्ब ६२ करोड ७७ लाख आम्दानी गरेको थियो । अन्य ३१ विमानस्थलको आम्दानी भने ६२ करोड ४९ लाख रहेको छ । त्रिभुवन विमानस्थलपछि धेरै आम्दानी गर्ने विमानस्थल पोखरा विमानस्थलले ९ करोड ४८ लाख ४९ हजार कमाएको छ ।

अघिल्लो वर्ष ६ करोड ३९ लाख आम्दानी थियो । त्यस्तै, तेस्रोमा विराटनगर विमानस्थलले ८ करोड ७८ लाख ७९ हजार १ सय ८४ रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष विराटनगरले ५ करोड ६४ लाख आम्दानी गरेको छ भने भैरहवाको गौतम बुद्ध विमानस्थलले ७ करोड ६५ लाख आम्दानी गरेको छ । नेपालगन्ज विमानस्थलले ७ करोड ५७ लाख, झापाको चन्द्रगढी विमानस्थलले ४ करोड आम्दानी गरेको छ । धनगढी विमानस्थलले २ करोड ७७ लाख आम्दानी गरेको छ ।

वर्षभरिमा विमानस्थलको आम्दानी ७ सय रुपैयाँँ 
सबैभन्दा थोरै आम्दानी गर्ने विमानस्थल भने मनाङ विमानस्थल रहेको छ । मनाङ विमानस्थलको आम्दानी गत आवमा ७ सय ४४ रुपैयाँ रहेको छ । खोटाङको थामखर्क विमानस्थलको आम्दानी २८ हजार १ सय छ । अन्य दर्जनौँ विमानस्थलको आम्दानी भने शून्य रहेको छ ।