१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मृगस्थलीतर्फबाट देखिने पशुपतिनाथ क्षेत्र । तस्बिर : संजित परियार/नयाँ पत्रिका
रासस काठमाडाैं
२०७७ भदौ ५ शुक्रबार १०:२४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हरितालिका तिज : पशुपतिलगायत देशभरका मुख्य शिवालय सुनसान    

Read Time : > 2 मिनेट
रासस काठमाडाैं
२०७७ भदौ ५ शुक्रबार १०:२४:००

तिजका बर्तालुले घरघरमै देवादिदेव महादेवको पूजा–आराधना गरी हरितालिका (तिज) पर्व मनाउँदै

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तिजका बर्तालु लाखौँ महिलाको भिड हुन्थ्यो । भिड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका हुन्थे । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहान पशुपति क्षेत्रमा लाखौँ बर्तालु महिला देवादिदेव महादेवको पूजा–आराधना गर्न पुग्थे । 

यस वर्ष कोरोनाको महामारीका कारण पशुपतिनाथ मन्दिर क्षेत्र सुनसान छ । काठमाडौं उपत्यकालगायत देशभरका मुख्य शिवालयमा पनि नित्य पूजाबाहेक सबै गतिविधि बन्द गरिएको छ । कोरोनाको महामारी नभएको पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवम् कर्मचारीलाई तिजको मेला व्यवस्थापनका लागि बिहानैदेखि पशुपति क्षेत्रमा सक्रिय हुनुपर्थ्यो । 

पशुपतिनाथको मूल मन्दिर चैतदेखि नै बन्द रहेको र परिसरमा पनि निषेधाज्ञाका कारण भक्तजन आउन नसक्ने भएकाले मेला व्यवस्थापनका लागि यस वर्ष तयारी नगरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।     

पशुपति क्षेत्रमा तिजको मेला लाग्दा तिलगंगाबाट चाबहिलसम्मको चक्रपथको मूल सडकसमेत प्रभावित हुने गर्थ्यो । चाबहिलका ८१ वर्षीय वृद्ध श्यामसुन्दर केसी आफ्नो जीवनकालमा पहिलोपटक तिजको व्रतका दिन पशुपति क्षेत्र सुनसान देखेको बताउँछन् । साउनमा भने धेरै भक्तजनले पशुपतिमा परिसरसम्म पुगेर बाहिरबाटै दर्शन गरी फर्किएका थिए ।     

पशुपतिमा जस्तै राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर पनि साउनदेखि नै बन्द गरिएको छ । पशुपतिनाथ मन्दिर चैतदेखि बन्द भएपछि धेरै भक्तजन साउनको सोमबार गोकर्णेश्वरमा भेला हुन थालेपछि कोरोनाको महामारी फैलने डरले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले साउनदेखि नै मन्दिर बन्द गरेको थियो । गोकर्णे औँसी भनिने बाबुको मुख हेर्ने दिन पनि यस वर्ष गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको थियो ।     

कोरोनाबाट बच्न काठमाडौं उपत्यकामा निषेधाज्ञा, देशका धेरै जिल्लामा बन्दाबन्दी जारी गरिएकाले यस वर्ष तिजका बर्तालुले घर घरमै देवादिदेव महादेवको पूजा–आराधना गरी हरितालिका (तिज) पर्व मनाउँदै छन् । आजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्ने फलाहार व्रत बस्ने गरेका छन् । प्रायजसो बर्तालु महिला नै हुन्छन् ।    

धार्मिक विश्वास

धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम भने पारिवारिक कल्याण, सुखमय दाम्पत्य जीवनको कामना, मनोकांक्षा पूरा गर्ने कामनाले महिला, पुरुष दुवै व्रत बस्नुपर्ने बताउँछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।     

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन्, तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । 

साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तिज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।    

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । 

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।  बर्तालुले बिहीबार राति दर खाएर व्रतका लागि शक्ति सञ्चय गरेका थिए । आज निराहार व्रत बसी महादेवको पूजा आराधना गरिन्छ । 

भाद्र शुक्ल चौथीका दिन तिज व्रत समापनका लागि गोदान, पूर्णपात्र गरी गणेश चतुर्थीका अवसरमा बिघ्न विनाशक गणेशको पूजा आराधना हुन्छ । आइतबार अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरेपछि चारदिने तिज पर्व समाप्त हुन्छ ।     

पूर्णप्रसाद मिश्र