मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ ५ शुक्रबार ०९:३५:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

युवा आऊ, राजनीति बचाऊ !

बहस

Read Time : > 6 मिनेट
२०७७ भदौ ५ शुक्रबार ०९:३५:००

आज राजनीति र नेतृत्वप्रति जुन दृष्टिकोण छ, त्यसलाई बदल्न सक्षम युवापुस्ताले नेतृत्व लिन जरुरी छ, जसले युवालाई राजनीतिमा संलग्न हुन अभिप्रेरित गरोस्

‘समृद्ध नेपाल, सुखी नेपाली’ नागरिकको सपना होइन, सरकारको विज्ञापन हो । किनकि, त्यो सपनामा नागरिकको सहभागिता छैन, बरु सरकारको एकोहोरो प्रोपोगान्डा छ । आज आधा देश २४ वर्षमुनिको छ । तर, यो नाराले युवालाई जोड्न सकेको छैन । युवाका लागि बुनिएको यो नाराको कार्यान्वयनमा युवाको भूमिका खोइ ? राजनीतिमा युवाको सपनाको प्राथमिकीकरण खोइ ? आजका युवा के सोच्छन्, कसरी सोच्छन्, अनि किन त्यसरी सोचिरहेका छन् भन्ने कुरा अबको राजनीतिको एजेन्डा बन्न जरुरी छ । ‘देश, बस्नलायक छैन’, ‘ राजनीतिप्रति रुचि छैन’, ‘समृद्धि गफ हो, आउँदैन’, ‘सरकारमाथि विश्वास छैन’ यी मेरा भनाइ होइनन्, युवाले व्यक्त गरिरहेका विचार हुन् । यी भावको प्रभावबारे कुनै पनि सत्ताधारी वा प्रतिपक्ष कांग्रेस–नेकपाका नेताहरूले सोचेका होलान् ?

युवा भनिएका शंकर पोखरेल, घनश्याम भुसाल र योगेश भट्टराईहरू पदमा पुगेर पनि परम्परागत राजनीतिक प्रणालीमै बग्न थालेपछि अहिले फेरि युवा राजनीतिबारे बहस सुरु भएको छ । युवा पदमा पुग्ने तर परिणाम दिन नसक्ने हो भने किन युवा नेतृत्व चाहियो भन्ने बहस महत्वपूर्ण बहस हो । हिजो यिनै नेता विद्यार्थी एवं युवा राजनीतिमा रहँदा परिवर्तनको वकालत गर्ने अनि आज सत्तामा पुगेपछि त्यस्तो के भयो, जसले उहाँहरूको परिवर्तन र विद्रोही स्वभावलाई मार्‍यो ? यसमा दुइटा कारण हुन सक्छन्– पहिलो, हिजोको त्यो विद्रोही स्वभाव देखावटी थियो । दोस्रो, विद्रोही स्वभाव हुँदै सत्तामा पुग्ने क्रमको बाटोमा सम्झौता गरियो । प्रायः नेताहरूले दोस्रो बाटो अँगाले । आज नेताहरू त्यही विद्रोही स्वभावसँग सम्झौता गरेर सत्तामा पुगेका छन्, जसले नेतृत्वलाई यो कु–संस्कृत राजनीतिको दास बनाएको छ । राजनीतिमा आफ्नो स्थान बचाइराख्न पार्टीका अझ अहिले त गुटका बाध्यात्मक ह्विपमा होमा हो मिलाउन थालेसँगै त्यो विद्रोही स्वभावको अन्त्य भएको छ । 
 
राजनीतिमा युवा किन आउँदैनन् ?
राजनीतिमा युवापुस्ता किन आउन सकिरहेका छैनन् ? राजनीतिमा लहैलहैमा लागेर जाने युवाको संख्या उल्लेख्य भए पनि राजनीति बुझेर नै योगदान गर्न संलग्न हुनेको संख्या भने निकै कम छ । राजनीतिमै भएर पनि राजनीतिमा हस्तक्षेप गर्न सक्ने युवा त विरलै भेटिन्छन् । राजनीतिमा युवा नेतृत्व स्थापित हुन नसक्नुका मुख्य तीन कारण छन् :

हालको राजनीति गुन्डागर्दी, अपराधीकरण, भ्रष्टाचारउन्मुख भएकाले आमनागरिकको राजनीतिप्रतिको दृष्टिकोण त्यति राम्रो छैन । राजनीति गर्न ज्यान बाजी थापेर खुकुरी बोकेर राजनीति किन गर्ने ? केका लागि गर्ने ? ‘सबै नेता भ्रष्ट हुन्, केही गर्न सक्दैनन्’ भन्ने बुझाइले पनि धेरै युवामा निराशा छाएको छ ।

पहिलो, स्रोत साधनमा अभाव : राजनीतिमा लाग्ने युवा कि त विद्यार्थी वा भर्खरै पेसा व्यवसाय गर्न सुरु गरेका व्यक्ति हुन्छन् । जीवनको यो कालखण्डमा युवाको स्रोतसाधनमा पहुँच सीमित हुन्छ । युवाहरू आफ्नो व्यक्तिगत खर्च, राजनीतिक अभियानमा हुने खर्च र कति अवस्थामा त परिवारको आर्थिक भार पनि बेहोर्नुपर्ने अवस्थामा हुन्छन् । आम्दानी कम र दायित्व बढी हुँदा युवा आफैँलाई कसरी त्यसको व्यवस्थापन गर्ने भन्ने चुनौती रहन्छ । धेरै युवाले सुरुमा राजनीतिमा हामफाले पनि आर्थिक अवस्थाकै कारण राजनीति छाड्छन् । राजनीतिलाई जागिर बनाउने युवा राजनीतिमा टिक्छन् । आफ्नो इमानलाई केन्द्रमा राखेर राजनीतिलाई सेवामूलक बनाउने व्यक्ति हराउँदै जान्छन् । आज राजनीति फुलटाइम व्यवसाय जो बनेको छ । आफ्नो काम गरेर बचेको समय राजनीतिमा योगदान गर्ने माहोल हालको राजनीतिले प्रदान गर्दैन ।

चुनावमा उठ्नका लागि पैसा चाहिने, अगाडि–पछाडि भुस्तिग्रे पाल्न पैसा चाहिने, चुनाव जित्न पैसा चाहिने भएपछि आज एउटा युवा आफ्नो स्वाभिमान बेचेर कसरी यो धन्दामा लाग्न सक्छ ? पढाइको तनाव, करिअरको तनाव, सम्बन्ध (प्रेम वा विवाह)को तनाव झेलिरहेका युवालाई राजनीति अनि समाजप्रति सक्रिय हुन यसै पनि त्यति सजिलो छैन ।

दोस्रो, आम दृष्टिकोण : तपाईंले एउटा बच्चालाई के बन्छौ भनेर सोध्नुभयो भने डाक्टर भन्छ, इन्जिनियर भन्छ, बैंकर पनि भन्छन्, तर नेता भन्दैनन् । केही समयअघि एउटा विद्यालयमा एकजना नवनिर्वाचित मेयरले दिएको भाषण सम्झन्छु, ‘नगरपालिका यस विद्यालयलाई सहयोग गर्न तयार छ, ताकि यहाँका विद्यार्थी ठूलो डाक्टर, इन्जिनियर, कर्मचारी बनून् ।’ मलाई अचम्म लाग्यो । एउटा नेताले विद्यार्थीहरूलाई नेता बन भनेर भन्न सक्ने अवस्था किन छैन ? राजनीतिप्रति हाम्रो दृष्टिकोण सकारात्मक किन छैन ? नेताकै नजरमा नेता किन सम्मानित छैन ? यहाँ अहिलेका नेता नै सक्षम युवा आएर हाम्रो भाग खोस्ने हुन् कि भन्ने डर पालेर बसेका छन् । उनीहरू सम्भव भएसम्म नयाँ पुस्ताले नेतृत्व लिन खोजेको देख्न रुचाउँदैनन् । 

थुप्रै युवाले आफ्नो मतदातापत्र बनाएकै हुँदैनन् । ‘मेरो भोटले अर्थ राख्दैन’ भन्ने भावले युवालाई राजनीतिबाट टाढा बनाउँदै छ । जब एकजना युवाले आफ्नो संलग्नताले राजनीतिमा फरक पर्छ भनेर महसुस गर्न सक्दैन भने ऊ किन संलग्न हुने ? प्रश्न यहीँनेर आउँछ । अर्को कुरा, के शेरबहादुर देउवा, केपी ओली अनि प्रचण्डलगायतका नेताले आमयुवालाई प्रतिनिधित्व गरिरहेका छन् त ? छैनन् । म यस्तो बन्छु भनेर युवालाई राजनीतिमा लाग्न प्रेरणा दिने त्यो ‘रोलमोडल’ नहुनुले पनि युवा राजनीतिबाट तर्किएका हुन् । हामी राजनीतिलाई घृणा गर्छौं, तर यदि बिपी, मदन भण्डारी, पृथ्वीनारायण शाह, भीमसेन थापाहरू पनि खेतिपाती वा जागिर गरेर बसेको भए देश कुन अवस्थामा हुन्थ्यो होला भनेर भुल्छौँ ।

हालको राजनीति गुन्डागर्दी, अपराधीकरण, भ्रष्टाचारउन्मुख भएकाले आमनागरिकको राजनीतिप्रतिको दृष्टिकोण त्यति राम्रो छैन । राजनीति गर्न ज्यान बाजी थापेर खुकुरी बोकेर राजनीति किन गर्ने ? केका लागि गर्ने ? ‘सबै नेता भ्रष्ट हुन्, केही गर्न सक्दैनन्’ भन्ने बुझाइले पनि धेरै युवामा निराशा छाएको छ । अर्ब मिडियाअनुसार सरकार भ्रष्टाचार गर्छ भन्ठान्ने ४० वर्षमुनिका युवामध्ये ७ देखि १५ प्रतिशतले भोट नहाल्ने सम्भावना हुन्छ । त्यही कुरामा ४० वर्षमाथिका व्यक्तिमा भने यस्तो प्रतिशत ४ देखि ७ प्रतिशतमा झर्छ । तसर्थ, युवाले राजनीतिलाई कसरी हेर्छन्, लोकतन्त्रका लागि त्यो पनि महत्वपूर्ण हुन्छ ।

तेस्रो, पार्टीगत संरचना : युवाको राजनीतिमा सहभागिताको समस्या आउनमा हाम्रो पार्टी संरचना र राजनीतिक संस्कारमा नै ठूलो समस्या छ । अहिलेका पार्टी यहाँ नेता जन्माउनेभन्दा पनि आफूले गरेको निर्णयमा सहीछाप ठोक्ने जमात बनाउन बढी रुचि राख्छ । राजनीतिमा युवा लागेर पदमा पुगेर योगदान गर्ने संरचना नै हामीले विकास गर्न सकेका छैनौँ । युवा भएर अघि बढ्न कि त शीर्ष नेतृत्वको सन्तान हुनुपर्ने, कि त धेरै स्रोत–साधन चाहिने परिपाटीले पनि निष्ठावान् युवा राजनीतिमा आकर्षित छैनन् । योग्यता, क्षमता, विचार, नेतृत्व गर्ने क्षमता आजको राजनीतिक दलको संरचनामा कहाँ अटाउँछ ? युवालाई युवा संगठन अनि विद्यार्थी संगठनको नाममा राजनीतिक दुरुपयोग गरेर युवाको जिन्दगी बर्बाद पार्ने परिपाटीले पनि युवामा राजनीतिक मोह घट्दै छ ।

आजका हाम्रा पार्टीहरूको दलीय संरचना युवामैत्री छैन । एउटा सक्षम युवालाई पार्टीमा जोडिन सजिलो छैन । आफूभन्दा क्षमता नभएको, नेतृत्व कुशलता नभएको, चाकरी गरेर नेता बनेका मानिसलाई नेता मानेर एउटा निष्ठावान् युवा कसरी राजनीति गर्न सक्छ ? त्यसैले आज एउटा युवा बरु गैरराजनीतिक अभियानमा संलग्न हुन तयार छ, तर हालको परम्परागत राजनीतिमा आउन तयार छैन । तलबाट गुटको भर्‍याङ चढेर गर्नुपर्ने राजनीतिक संरचनाले युवालाई आकर्षण गर्न सक्दैन । 

खुला सोच, विनम्रता अनि साहससहित युवाले आफ्नो जिम्मेवारी निर्वाह गर्न जरुरी छ । अबको युवा नेतृत्वलाई अहिलेका नेतृत्वले गरेका गल्ती दोहोर्‍याउने छुट छैन । यी नेताले विकास र परिवर्तन भनेको लाइनमा रहेको पहिलो व्यक्तिका लागि मात्र हो भन्ने बुझे ।
 

समाधानका बाटा : हामी लोकतन्त्रमा छौँ, तर नेपाली राजनीतिले युवालाई सहभागी गराउन सकिरहेको छैन । जसले लोकतन्त्रलाई नै कमजोर बनाउँदै छ । अब युवालाई राजनीतिमा पर्याप्त भूमिका दिन सक्ने माहोल बनाउन जरुरी छ । युवाको ऊर्जाले साहस गर्छ, बुढ्यौलीको अनुभवले सम्झौता । अब साहस गर्न सक्ने उत्कृष्ट व्यक्तिहरू राजनीतिक नेतृत्वमा किन नआउने ? राजनीतिलाई कमाइखाने भाँडो बनाउने होइन, आफ्नो खुट्टामा उभिन सक्ने युवा नेतृत्व देशले खोजिरहेको छ । यसर्थ, दलीय संरचना, नीति तथा कार्यक्रमले नै युवालाई राजनीतिप्रति आकर्षण गराउन जरुरी छ । सक्षम युवालाई छात्रवृत्तिजस्तै राजनीतिक रूपमा विकास गर्न अनि आर्थिक रूपमा सहयोग गर्न अब पार्टी अनि राज्यका तहबाटै पहल किन नगर्ने ? अहिले युवाको दुरुपयोग गर्ने संस्कारभन्दा युवालाई सक्षम नेता बनाउने संरचना अब पार्टीभित्र किन नबनाउने ? संगठनले युवामा जति लगानी गर्छ, देशले त्यति नै लाभ पाउँछ ।

अर्को कुरा, आज राजनीति र नेतृत्वप्रति जुन दृष्टिकोण छ, त्यसलाई बदल्न एउटा पूरै सक्षम युवापुस्ताले नेतृत्व लिन जरुरी छ । जसले आउँदै गरेको युवालाई राजनीतिमा संलग्न हुन अभिप्रेरित गरोस् । केही वर्षदेखि राजनीति अहिंसात्मक, मूल्यमान्यतामा आधारित, नागरिकमुखी अनि युवामय बन्न सक्छ भनेर विवेकशील नेपालीले गरिरहेका कार्यक्रम त्यसको उदाहरण बन्न सक्छ । अब प्रत्येक पार्टीमा युवालाई अगाडि बढाउने संयन्त्र नै हुनुपर्छ । युवालाई नतिजा निकाल्न र जवाफदेही हुन बढी कर लाग्छ । किनकि, उनीहरूलाई आफूलाई साबित गर्नुपर्ने चुनौती हुन्छ । अब शीर्ष नेतृत्व अनि संगठनको मूल्यांकन नै उसले कति सक्षम नेतृत्व जन्माउन सक्छ, त्यसमा मापन हुन जरुरी छ । अनि मात्रै हामीले पनि ३५ वर्षीय विपक्षी दलको नेता, ३४ वर्षीय प्रधानमन्त्री, २५ वर्षीय मन्त्री पाउन सक्छौँ । नत्र सबै कुरा नारामा नै सीमित हुन्छ । 

अब गोविन्द केसी अनशन बस्दा शनिबार माइतीघर गएर, एक दिन मैनबत्ती बालेर, सामाजिक सञ्जालमा ‘ह्यासट्याग’ हालेर युवा पन्छिन पाउनेछैनन् । परिवर्तन गर्ने र राजनीतिमा नयाँ अध्यायको सुरुवात गर्ने हो भने सक्षम युवा राजनीतिमा आउनुको विकल्प छैन । युवाहरू पार्टी कार्यकर्ताका रूपमा मात्र होइन, स्वतन्त्र विचार विमर्श समूहको रूपमा सहभागी भएर पनि राजनीतिलाई दिशानिर्देश गर्न सक्छन् । आफ्नो नेतालाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन् । अब पनि युवालाई अनुभवहीन भनेर पन्छाउने हो भने हामी र हाम्रो राजनीति अघि बढ्न सक्दैन । 

त्यसैगरी, राज्यले युवालाई राजनीतिप्रति सचेत बनाउन शिक्षाको मोडेल बदल्न जरुरी छ । भोट किन महत्वपूर्ण छ, राजनीतिमा चासो किन जरुरी छ, त्यो स्कुल जीवनदेखि नै बुझाउन जरुरी छ । हामीले १२ कक्षाको रिजल्ट लिनुअघि मतदाता कार्ड बनाउनुपर्ने नीति लागू गर्न पनि सक्छौँ, जसले विद्यार्थीलाई भोट हाल्न प्रेरित गरोस् ।

अन्त्यमा,
नेपाली राजनीति सधैँ युवाविहीन थियो भन्ने होइन । जब कांग्रेसमा बिपी, एमालेमा माधवकुमार नेपाल अनि केपी ओलीहरू र माओवादीमा प्रचण्ड नेतृत्वमा थिए, उनीहरू ४० वर्षमुनिकै थिए । समस्या त्यस वेला सिर्जना भयो, जब यो पुस्ताको नेतृत्वले नेतृत्व हस्तान्तरण गरेन । नेतृत्व भनेकै आफूपछिको नेता जन्माउनु हो । आज केपी ओलीको विकल्पमा बहस हुनु केपी पुस्ताकै अक्षमता हो । अहिले पार्टीमा भएका युवा मुख्य नेतृत्वमा हस्तक्षेप गर्ने वा आफ्नो एजेन्डामा नेतृत्वलाई हिँडाउन सक्ने ल्याकत राख्दैनन् । ६२ र ६३ को क्रान्ति टिभी–रेडियोमा हेरेको पुस्ताले अब अर्को विद्रोह गर्न आवश्यक छ । मेरो बुबा एवं हजुरबुबाले व्यवस्थैै फालेका हुन् । हाम्रो पुस्ताले केही नेता वा पार्टी फाल्न गाह्रो छैन । 

खुला सोच, विनम्रता अनि साहससहित युवाले आफ्नो जिम्मेवारी निर्वाह गर्न जरुरी छ । अबको युवा नेतृत्वलाई अहिलेका नेतृत्वले गरेका गल्ती दोहोर्‍याउने छुट छैन । यी नेताले विकास र परिवर्तन भनेको लाइनमा रहेको पहिलो व्यक्तिका लागि मात्र हो भन्ने बुझे । त्यसैले क्रान्तिपछि नेताकै वरिपरिका मात्र सम्पन्न भए । अबका युवाले विकास लाइनको अन्तिममा रहेका व्यक्तिहरूका लागि पनि हो भन्ने बुझ्न जरुरी छ । युवा नेताको काम समस्या पहिचान गर्ने वा समाधान दिने मात्र होइन, समाधान गर्न अरूलाई सहभागी गराउने पनि हो । 

कुनै पनि संगठनको मेरुदण्ड त्यो संगठनको दोस्रो पुस्ताको नेतृत्व हो । संगठन मजबुत बनाउने हो भने दोस्रो तहको नेतृत्व अझ सक्षम हुन जरुरी छ । दोस्रो तहको नेतृत्वमा प्रायः युवाकै नेतृत्व रहने गरेको हुन्छ । अहिले हाम्रो राजनीति सही दिशामा छैन । किनकि, हाम्रो राजनीतिमा युवाको भूमिका सशक्त छैन । त्यसैले अब सुसंस्कृत राजनीति र समृद्ध नेपालका निम्ति सक्षम युवा राजनीतिको मैदानमा उत्रनुको विकल्प छैन । 

(लेखक विवेकशील नेपाली दलका अध्यक्ष हुन्)