मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ भदौ ५ शुक्रबार ०७:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुढीगण्डकी आयोजनाको ३२ अर्ब २७ करोड मुआब्जा वितरण

Read Time : < 1 मिनेट
२०७७ भदौ ५ शुक्रबार ०७:१०:००

बुढीगण्डकी जलविद्युत् आयोजनाले ३२ अर्ब २७ करोड मुआब्जा वितरण गरेको बुढीगण्डकी जलविद्युत् आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइ कार्यालयले जनाएको छ । 

आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै इकाइले गोरखा जिल्लातर्फ २३ हजार ६ सय १३ रोपनी जमिनको १६ अर्ब ५१ करोड मुआब्जा वितरण गरेको जनाएको हो ।

त्यस्तै, धादिङतर्फ २३ हजार ८ सय २७ रोपनीको १५ अर्ब ७२ करोड मुआब्जा वितरण गरिएको छ । कार्यालय प्रमुख कृष्ण कार्कीका अनुसार हालसम्म आयोजनाको वित्तीय प्रगति ९९ प्रतिशत र भौतिक प्रगति ९४ प्रतिशत रहेको छ ।

तर, आयोजनाबाट विस्थापितहरूको घर–गोठको मुआब्जा वितरण हुन नसक्दा ७ अर्ब फिर्ता भएको छ । घर–गोठको लागत कट्टा गर्ने–नगर्ने निर्णय नहुँदा रकम फिर्ता गएको उनको भनाइ छ । 

अहिले घर–गोठलगायतका अन्य भौतिक संरचनाहरू, बोटबिरुवा तथा फलफूलको तथ्यांक संकलन गर्ने कार्य भइरहेको आयोजना प्रमुख कार्कीले बताए । ‘गोरखा र धादिङतर्फ छुट्टाछुट्टै टोली गठन गरेर तथ्याक संकलन गर्ने कार्य भइरहेको छ,’ उनले भने, ‘घर–गोठलगायतका अन्य संरचना, बोटबिरुवा तथा फलफूलको तथ्यांक संकलन भदौ मसान्तभित्र सक्ने लक्ष्य छ ।’

त्यस्तै, गोरखा र धादिङका बाँकी रहेका स्थानहरूको जलाशयवरिपरि सीमांकन कार्य र रिङरोड सर्भेको कार्य सम्पन्न भई डिपिआर अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । फिल्डबुकमा जग्गा कायम भएका, तर लालपुर्जा नभएका जग्गाहरूको हकमा भने मुआब्जा दिइएको छैन ।

आयोजनाले ०७६ मंसिर १५ गते बजार क्षेत्रको ५० हजारदेखि ७ लाख प्रतिआनाका दरले मुआब्जा निर्धारण गरी वितरण थालेको हो । कोरोनाको त्रासपूर्ण अवस्थामा समेत मुआब्जा वितरण र गुनासो फस्र्योट कार्यमा निरन्तरता दिइएको कार्कीले बताए ।