मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ ५ शुक्रबार ०६:५८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न तोकियो विद्यार्थी भर्नाका आधार

Read Time : > 2 मिनेट
२०७७ भदौ ५ शुक्रबार ०६:५८:००

केही निजी विद्यालयको विरोधका बाबजुद यस वर्षदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुँदै छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले अधिकांश विषयको नयाँ पाठ्यक्रम र पुस्तक तयार पारेर भर्नाको आधार पनि निर्धारण गरेको छ ।

सरकारको अर्को निर्णय नआए १५ भदौपछि भर्ना सुरु हुनेछ । केन्द्रका महानिर्देशक केशव दाहालका अनुसार विद्यार्थी संख्या निकै कम हुने तथा पाठ्यक्रम र पुस्तक तयार नभएका विषयमा पुरानै मापदण्ड लागू हुनेछ । हालसम्म कक्षा ११ मा ७५ विषयको नयाँ पाठ्यक्रम स्वीकृत भइसकेको छ । र, सोहीअनुसार शैक्षिक सत्र ०७७ का लागि पुस्तकसमेत तयार भएका छन् ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुसार तीन विषय अनिवार्य र कम्तीमा तीन ऐच्छिक विषय पढ्नुपर्नेछ । विद्यार्थी कम हुने विषयबाहेक सबैको पाठ्यक्रम परिवर्तन भएको महानिर्देशक दाहालले जानकारी दिए । ‘सबै तयारी पूरा भइसकेको छ,’ दाहालले भने । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले २२ साउनमा नयाँ पाठ्यक्रमअनुुसार तीन समूहमा भर्नाका आधार निर्धारण गरेको थियो । एसइईको नतिजा आएपछि मंगलबार केन्द्रले उक्त आधार सार्वजनिक गरेको हो । साधारण, प्राविधिक र व्यावसायिक तथा परम्परागत शिक्षाका छुट्टाछुट्टै समूह निर्धारण गरिएको छ ।

कक्षा ११ को पाठ्यक्रम २७ वर्षपछि पूर्ण रूपमा परिवर्तन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार यसबीचमा विषयभित्रका केही सामग्री मात्र परिवर्तन भएका थिए ।

विषय छनोटका आधार
साधारण शिक्षातर्फ कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्न जिपिए १.६ प्राप्त गरी कक्षा १० मा पढेका अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । त्यसबाहेकका विषय अध्ययन गर्न जिपिए १.६ प्राप्त गरी कक्षा १० मा पढेका अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा डी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।

प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ भने कक्षा ११ मा विद्यार्थी भर्ना लिन शैक्षिक वर्ष २०७६ कै आधारलाई निरन्तरता दिइने भएको छ । यस्तै, परम्परागत शिक्षामा पनि गुरुकुल, मदरसा, गोन्पातर्फ कक्षा ११ मा विद्यार्थी भर्नाका लागि शैक्षिक वर्ष २०७६ कै भर्नाको आधारले निरन्तरता पाउने भएको छ ।

यस्ता छन् विषयका समूह
यसअघि कक्षा ११ र १२ मा ५–५ विषय पढाइ हुन्थे । नयाँ पाठ्यक्रमअनुसार ६–६ विषय पढाइ हुनेछन् । कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी र सामाजिक तथा जीवनोपयोगी शिक्षा अनिवार्य गरिएको छ । अन्य तीन ऐच्छिक विषय छनोट गर्नुपर्नेछ । आवश्यकताअनुसार एउटा थप ऐच्छिक विषय पनि पढ्न पाइने छ ।

ऐच्छिक विषयका चारवटा समूह बनाइएको छ । तीमध्ये तीनवटाबाट विद्यार्थीले एक/एक गरी तीन विषय छनोट गर्न पाउनेछन् । विद्यालय शिक्षाको राष्ट्रिय प्रारूप २०७६ मा आमसञ्चार ऐच्छिक तेस्रो पत्रमा समावेश थियो, पछि संशोधन गरी ऐच्छिक चौथो पत्रमा राखिएको छ । यस्तै, पहिले ऐच्छिक तेस्रोमा रहेको कम्प्युटर विज्ञान ऐच्छिक दोस्रोमा राखिएको छ ।

निजी तथा आवासीय विद्यालयहरूको संगठन (प्याब्सन) नयाँ पाठ्यक्रम लागू गर्ने पक्षमा उभिएको छ भने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले यसको विरोध गर्दै आएको छ । समय र परिस्थितिअनुसार पाठ्यक्रम हुनुपर्ने भएकाले त्यसलाई कार्यान्वयन गर्ने पक्षमा रहेको प्याब्सन अध्यक्ष टीकाराम पुरीले बताए । हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले भने अहिलेको कठिन परिस्थितमा नयाँ पाठ्यक्रम कार्यान्वयन जटिल रहेकाले यस वर्ष रोक्नुपर्ने बताए ।

ऐच्छिक पहिलो पत्र
भौतिक विज्ञान, लेखा विधि, ग्रामीण विकास, विधिशास्त्र र कानुनी सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, खेलकुद विज्ञान, बालविकास र सिकाइ, मनोविज्ञान, इतिहास, लैंगिक अध्ययन, अतिथि सत्कार व्यवस्थापन, बालीविज्ञान, प्राकृतिक चिकित्सा, मानव मूल्य शिक्षा, मूर्तिकला

ऐच्छिक दोस्रो पत्र
जीव विज्ञान, शिक्षा र विकास, भूगोल, कार्यविधि कानुन, समाजशास्त्र, आयुर्वेद, व्यवसाय अध्ययन, भाषा विज्ञान, राजनीतिशास्त्र, दर्शनशास्त्र, जनसंख्या अध्ययन, वागबानी, खाद्य र पोषण, नृत्य, कम्प्युटर विज्ञान

ऐच्छिक तेस्रो पत्र
रसायन विज्ञान, अर्थशास्त्र, पर्यटन र पर्वतारोहण अध्ययन, बजारशास्त्र, बुढ्यौली तथा स्याहार शिक्षा, योग, वाद्यवादन, सिलाइ तथा बुनाइ, संवैधानिक कानुन, पाककला, संस्कृति, फेसन डिजाइनिङ, मूर्तिकला, पशुपालन, पक्षीपालन र माछापालन, नेपाली, अंग्रेजी, मैथिली, नेवारी, हिन्दी, चिनियाँ, जर्मन, जापानिज, कोरियन, उर्दु, फ्रेन्च, हिब्रु, अरेबिक, संस्कृत

चौथो ऐच्छिक पत्र
आमसञ्चार, गणित, प्रायोगिक गणित, वाणिज्य गणित, मानव अधिकार, पुस्तकालय तथा सूचना विज्ञान, गृह विज्ञान, वातावरण विज्ञान, साधारण कानुन, वित्तशास्त्र, सहकारी व्यवस्थापन, बौद्ध अध्ययन, प्रायोगिक कला, गायन, चित्रकला, रेशम खेती र मौरीपालन, सौन्दर्यकला र केशकला, औषधिजन्य जडीबुटी, प्लम्बिङ र वायरिङ, आन्तरिक सजावट, होटेल व्यवस्थापन

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्छन्–निजीलाई हेरेर राज्यले नीति बनाउँदैन
कक्षा ११ मा नयाँ पाठ्क्रम लागू गर्ने सरकारको निर्णय कार्यान्वयन हुन्छ । राष्ट्रिय परीक्षा बोर्डबाट लिने अबको परीक्षा नयाँ पाठ्यक्रममा आधारित हुन्छ । सामुदायिक विद्यालयले नयाँ पाठ्यक्रम लागू गर्न सक्ने, तर केही निजी विद्यालयले सक्दैनौँ भन्नु अहिलेसम्म हासिल गरेको विश्वास पनि गुम्नु हो । केही निजी विद्यालयलाई पढाउनै गाह्रो भए विद्यार्थीले सामुदायिक विद्यालय रोज्न सक्छन् । सरकारले सामुदायिक विद्यालयमा भर्नालाई प्रोत्साहन स्वाभाविकै हुन जान्छ । राज्यले निजी विद्यालयलाई संरक्षण गरेको छ, तर उनीहरूले सञ्चालन गरेको विद्यालयमा पैसा तिरेर भर्ना गर भन्दैन । निजीलाई हेरेर राज्यले नीति बनाउँदैन । सरकारले नयाँ पाठ्यक्रम बनाएर दिएको छ । त्यसमा व्यापारिक दृष्टिकोणबाट मात्र हेर्नुहुँदैन ।