मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ ४ बिहीबार १७:५५:००
Read Time : < 1 मिनेट
प्रदेश

दैलेख सदरमुकामको एउटै टोलमा ११ जनामा कोरोना संक्रमित फेला

प्रशासनद्वारा आकस्मिक निषेधाज्ञा जारी 

Read Time : < 1 मिनेट
२०७७ भदौ ४ बिहीबार १७:५५:००

सदरमुकाम रहेको नारायण नगरपालिकाको एउटा टोलमा ११ जनालाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले आकस्मिक रूपमा निषेधाज्ञा जारी गरेको छ । ट्राभल हिस्ट्री पनि नभएको र संक्रमितको सम्पर्कमा पनि रहेका व्यक्तिमा कोरोना देखिएपछि प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । 

दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले अवस्था चिन्ताजनक भएपछि कोरोना रोकथाम तथा विपत् व्यवस्थापन समितिको बैठकबाटै निर्णय गरी निषेधाज्ञा जारी गरेको बताए । एउटै टोलमा ११ जनामा संक्रमण देखिनु र हरितालिका तिज नजिक आउनुले संक्रमण बढ्ने अवस्थालाई मध्यनजर गरी एक्कासि निषेधाज्ञा जारी गर्नुपरेको उनको भनाइ छ । बिहीबार दिउँसो २ बजेदेखि निषेधाज्ञाको घोषणा भएको हो ।

निषेधाज्ञासँगै बजार सुनसान बनेको छ । प्रहरीले बजार क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ । कोरोना रोकथाम तथा विपत् व्यवस्थापन समितिको निर्णयअनुसार बिहीबार दिउँसो २ बजेदेखि ७ भदौसम्म निषेधाज्ञा रहन्छ । दैलेख जिल्लाका सबै नाकाहरूमा आवतजावतमा रोक लगाइएको छ । अति आवश्यक सेवाबाहेक सबै सेवा बन्द गर्न समितिले निर्णय गरेको छ । 

हरितालिका तिजसँगै मानिसहरूको भिडभाड देखिन सक्ने भन्दै आमनागरिकलाई सजग रहन प्रशासनले अनुरोध गरेको छ । दैलेखमा कोरोना संक्रमितको संख्या हालसम्म नौ सय ८३ जना पुगेको छ । निको भएर घर जानेहरूको संख्या नौ सय ३८ रहेको छ । कोरोना संक्रमणका कारण दैलेखमा तीनजनाको मृत्यु भइसकेको छ ।