Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी लिस्बोन (पोर्चुगल)
२०७७ भदौ ४ बिहीबार ११:३४:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा, उपाधिका लागि पिएसजीसँग भिड्ने

Read Time : > 2 मिनेट
एजेन्सी लिस्बोन (पोर्चुगल)
२०७७ भदौ ४ बिहीबार ११:३४:००

यो सिजनको युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि दुई ठूला लिग च्याम्पियनबीच भिडन्त हुने भएको छ । बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सेली टोली ल्योनलाई ३–० ले पराजित गर्दै जर्मन च्याम्पियन टोली बायर्न म्युनिखले पेरिस सेन्ट जर्मन (पिएसजी)सँगको उपाधि भिडन्त पक्का गरेको हो । 

फ्रान्सेली लिग च्याम्पियन्स पिएसजी मंगलबार राति नै भएको पहिलो सेमिफाइनल खेलमा जर्मन टोली लेइपजिगलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ । घरेलु लिग च्याम्पियनको रूपमा छनोट भएका दुई टोलीबीच २२ वर्षपछि उपाधि भिडन्त हुन लागेको हो ।

खेलको सुरुवातमै पाएको गोलको केही राम्रा अवसर खेर फालेको ल्योनले त्यसको ठूलो मूल्य चुकायो । त्यसको तुलनामा केही कमजोर सुरुवात गरेको बायर्नले बिस्तारै खेलमा पकड बनायो । क्वार्टरफाइनल चरणको खेलमा स्पेनी टोली बार्सिलोनालाई ८–२ को भारी अन्तरले पराजित गरेको बायर्नले ल्योनविरुद्धको महत्वपूर्ण सेमिफाइनल खेलमा पनि आफ्नो लय कायमै राख्यो ।

सर्जी जिनाब्री एक्लैले पहिलो हाफमा दुई गोल गरेपछि बायर्न बलियो अवस्थामा देखिएको थियो । दोस्रो हाफमा रोबर्ट लेवान्दोवस्कीले टोलीका लागि अर्को एक गोल थपे । यी दुई खेलाडीले जारी सिजन मात्रै च्याम्पियन्स लिगमा टोलीका लागि समग्रमा २४ गोल पुर्‍याएका छन् ।

यो सिजन बायर्नले भने फाइनलसम्मको यात्रामा ४२ गोल गरेको छ । फाइनलमा उसको प्रतिद्वन्द्वी पिएसजीको मात्रै २५ गोल छ । ‘हामी आफ्नो रक्षापंक्तिलाई मजबुत बनाउने कोसिस गर्छौं । तर, हाम्रो बलियो पक्ष भनेको विपक्षी टोलीलाई दबाबमा राख्नु नै हो,’ बायर्नका प्रशिक्षक हान्सी फ्लिकले भने ।

हान्सीको नेतृत्वमा बायर्नले यो सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । गत नोभेम्बरमा निको कोभाक बर्खास्त भएपछि मुख्य प्रशिक्षकमा बढुवा भएका हान्सीको नेतृत्वमा बायर्न घरेलु लिगमा चौथो स्थानबाट उक्लिएर उपाधि जित्न सफल भयो । नकआउट प्रतियोगिता जर्मन कपको उपाधि पनि जितेको बायर्न हान्सीकै नेतृत्वमा पछिल्लो सात वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल भएको छ ।

सन् २०१३ मा च्याम्पियन्स लिगको उपाधि जितेदेखि बायर्न फेरि प्रतियोगिताको फाइनलमा पुग्न सकेको थिएन । 

बायर्न र पिएसजी उपाधिका लागि आगामी आइतबार बेन्फिकाको स्टेडियम अफ लाइटमा भिड्ने छन् । यो फाइनल खेल सन् १९९८ पछिको पहिलो दुई लिग च्याम्पियनबीचको प्रतिस्पर्धा बन्नेछ । त्यस वेला स्पेनी च्याम्पियन रियल म्याड्रिड र इटालियन च्याम्पियन युभेन्टसले प्रतिस्पर्धा गरेका थिए ।

‘अहिलेलाई हामी यो जितको खुसी मनाउन चाहन्छौँ,’ बायर्नका मिडफिल्डर अलफन्सो डेभिज भन्छन्, ‘त्यसपछि हामी फाइनल खेलमा केन्द्रित हुन चाहन्छौँ । यो साँच्चिकै राम्रो खेल हुनेछ ।’

बायर्नसँगको यो पराजय ल्योनका लागि भने महँगो बनेको छ । यो पराजयसँगै ल्योन अर्को सिजन युरोपको महादेशीय कुनै पनि क्लब फुटबल प्रतियोगितामा नहुने निश्चित भएको छ । कोभिड– १९ महामारीका कारण पूरा नहुँदै रोकिएको फ्रेन्च लिगमा सातौँ स्थानमै रोकिएको ल्योन फ्रेञ्चकपमा पनि पिएसजीसँग पराजित भएको थिथो । आगामी सिजन युरोपियन क्लब फुटबलको आशा जीवित राख्न ल्योनका लागि च्याम्पियन्स लिगको उपाधि जित्नु एउटा मात्रै बाटो बाँकी थियो । ल्योनले सन् १९९६–९७ को सिजन पछि पहिलोपटक महादेशीय क्लब फुटबल गुमाउने भएको हो ।

ल्योनले खेलको पाँचौँ मिनेटमै गोलको राम्रो अवसर पाएको थियो । यद्यपि, बायर्नको गोलरक्षक मानुइल न्युअर मात्रै रहेको अवस्थामा मेहफिस दिपेले साइड नेटमा प्रहार गरे । यस्तै, त्यसलगत्तै टोको इकम्बीको एउटा प्रहार दायाँतर्फको बारमा लागेर फर्किएको थियो । 

‘मलाई लाग्दैन कि हामीसँग कुनै गुनासो हुनेछैन । किनभने हामीसँग सुरुवातमै दुई राम्रा अवसर थिए,’ ल्योनका गोलरक्षक एन्थोनी लोपेस भन्छन्, ‘हामी सुरुवातमै दुई गोलले अगाडि रहन्थ्यौँ । यस्ता ठूला खेलमा प्राप्त सीमित अवसर सदुपयोग गर्न नसक्नुको मूल्य ठूलै चुकाउनुपर्छ ।’

खेलको १८औँ मिनेटमा जिनाब्रीले ल्योनका खेलाडीहरूको भिडको बीचबाट बल अघि बढाउँदै बक्सभन्दा बाहिरबाट सशक्त प्रहारमा गोल गरेका थिए । ल्यानेविरुद्ध उनको प्रदर्शन निक्कै सशक्त रह्यो । मैदानमा जिनाब्रीले पूरा समय ल्योनका खेलाडीलाई दुःख दिइरहे । 

दोस्रो गोलमा पनि उनकै नाम रह्यो । इभान पेरिसिचले क्रसमा लेवान्दोस्कीको स्लाइडिङ सटु ल्योनका गोलरक्षक लोपेजले फर्काइदिएका थिए । त्यही बललाई जिनाब्रीले टोली र व्यक्तिगत दोस्रो गोल गरेका थिए । 

‘सुरुवातका केही मिनेट हामीलाई संघर्ष गर्नुपर्‍याे,’ जिनाब्री भन्छन्, ‘तर, मेरो गोल सही समयमा आयो । यसले हामीलाई आत्मविश्वास बढाउन मद्दत गऱ्याे ।’ 

बायर्नका लागी खेलको ८८औँ मिनेटमा लेवान्दोस्कीले अर्को गोल थपे । जोसुवा किमिचले प्रहार गरेको फ्रिकिकमा उनले हेडिङ गोल गरेका थिए । यससँगै उनले यो सिजन च्याम्पियन्स लिगको पछिल्लो नौ खेलमा गोल गरेका छन्। समग्रमा भने उनको यो सिजन ५५ गोल पुगेको छ ।