१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ४ बिहीबार ०६:५३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निषेधाज्ञामा नेप्से बन्द नहुने, त्रासले घट्यो बजार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ४ बिहीबार ०६:५३:००

सरकारले बुधबार मध्यरातबाट निषेधाज्ञा घोषणा गरेसँगै सेयर बजारमा लगानीकर्ताको मनोबल घट्न पुगेको छ । यही कारण बुधबार एकै दिन सेयर बजार परिसूचक १६ अंकले घटेर १ हजार ३ सय ९१ बिन्दुमा आइपुगेको छ । 

दुई दिनअघि मात्रै बजार यसै बिन्दुबाट बढ्न सुरु भएको थियो । मंगलबार १ हजार ४ सय ७ बिन्दुमा पुगेपछि बजार ओरालो लाग्न सुरु गरेको छ । बजारमा लगानीकर्तामा मनोवैज्ञानिक त्रास देखिएसँगै सबै समूहगत परिसूचक ओरालो लागेको छ । 

बुधबार मध्यरातदेखि १० भदौसम्म निषेधाज्ञा सुरु भए पनि सेयर बजारमा भने नियमित कारोबार हुने नेप्सेले उल्लेख गरेको छ । ‘बजारमा कारोबार नै नहुने अवस्था आएमा मात्रै बजार बन्द होला,’ नेप्सेका एक अधिकारीले भने, ‘मन्त्रालयमा भएको छलफलमा समेत हाल बजार बन्द नगर्ने निर्णय भएको छ ।’ 

अनलाइन कारोबार गर्न सकिने अवस्था रहेकाले पनि बजार बन्द गरिहाल्ने मनस्थितिमा अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेप्से रहेका छैनन् । ब्रोकर कम्पनीहरूले आफ्नो वेबसाइटबाट नै अनलाइन काराबोर गर्ने खाता खोल्न सक्ने सुविधासमेत दिएका छन् । हालसम्म २ लाख ७८ हजार सक्रिय लगानीकर्ता रहेकामा अनलाइनबाट कारोबार गर्नेको संख्या भने ५७ हजार १ सय ५६ रहेका छन् । ब्रोकरअनुसार भने सक्रिय कारोबारीमध्ये यसरी अनलाइनमार्फत कारोबार गर्ने ५ प्रतिशतदेखि ८१ प्रतिशतसम्म रहेका छन् । डिम्याट गरिएका सेयर काराबोर गर्न आवश्यक खाता भने १८ लाख ३० हजार छन् ।  

बुधबार कारोबार रकममा भने २१ प्रतिशतले घटेको छ । यस दिन १ सय ८५ कम्पनीको सेयर किनबेच भएर ९७ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो दिन १ अर्ब २३ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । 

यस दिन समृद्धि फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । कम्पनीले २ सय प्रतिशत हकप्रद सेयर जारी गर्न पाउने अनुमति धितोपत्र बोर्डबाट पाएसँगै मूल्य बढेको हो । त्यस्तै, अंकित मूल्यनजिक पुगेकाले पनि यस कम्पनीको मूल्यमा सुधार देखिएको हो । कम्पनीको १ सय २१ रुपैयाँका दरमा सेयर कारोबार भएको छ । 

बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । यसको सामान्य प्रभाव देखिन थालेकोमा बन्दाबन्दी हुने भए पनि प्रभाव न्यून हुन थालेको हो । वाणिज्य बैंकहरूले नै औसतमा ११ प्रतिशत लाभांश वितरण गर्न सक्ने अवस्थामा छन् । यो तीन महिनाको अवधिमा भने नेप्से परिसूचकमा १६ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, बजारमा अझै कतिपय कम्पनीका सेयर अवमूल्यन भएका छन् । तर, बन्दाबन्दीले अनिश्चितता बढेसँगै बजारमा लगानीकर्ताले समेत लगानी बढाउन सकिरहेका छैनन् । 

कारोबारमा आएका मध्ये २७ कम्पनीको मात्र मूल्य बढेर सेयर किनबेच भएको छ । निर्जीवन, जीवन बिमा कम्पनी, विकास बैंक र वाणिज्य बैंकहरूको समूहमा सबैभन्दा धेरैले गिरावट आएको छ ।