मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
किरण दहाल काठमाडौं
२०७७ भदौ ४ बिहीबार ०४:००:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेकपा एमालेलाई नेकपासँग मिल्दोजुल्दो चुनाव चिह्न

Read Time : > 4 मिनेट
किरण दहाल, काठमाडौं
२०७७ भदौ ४ बिहीबार ०४:००:००

निर्वाचन आयोगले सत्तारुढ दल नेकपाको चुनावी चिह्नसँग मेल खाने गरी नयाँ राजनीतिक दललाई पनि चुनाव चिह्न प्रदान गरेको छ । सत्तारुढ दल नेकपा र बुधबार आयोगबाट दलको प्रमाणपत्र पाएको नेकपा एमाले दुवैको चुनाव चिह्न सूर्य भएको छ । नेकपाको चुनाव चिह्न सूर्य र नेकपा एमालेको उदाउँदै गरेको सूर्य भएको छ । 

तर, निर्वाचन आयोगले दुवै दलको चिह्न सूर्य भए पनि फरक रहेको दाबी गरेको छ । दुवै दलको चुनाव चिह्न सूर्य कसरी हुन्छ ? आयोग प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘नेकपा र अहिलेको नेकपा एमालेको चिह्न सूर्य नै भए पनि फरक छ । अहिले प्रयोग भइरहेको सूर्यचाहिँ सूर्य चिह्न मात्रै छ । अहिले नेकपा एमालेले प्रस्ताव गरेकोमा चाहिँ दुई डाँडाको बीचमा उदाउँदै गरेको सूर्य छ ।’ प्रवक्ता श्रेष्ठले भने, ‘यसअघि पनि आयोगले गाई र गोरु चिह्न, रोलर र डोजर चिह्न पनि दिएको छ । आयोगले त्यसलाई फरक नै मानेको छ ।’

नेकपा एमालेका महासचिव मनीषकुमार उपाध्यायले जिन्दगीमा कहिल्यै नअस्ताउने पार्टीको रूपमा आफूहरूले उदाउँदै गरेको सूर्यलाई चिह्नको रूपमा लिएको बताए । ‘उदाइसकेको सूर्य कस्तो हुन्छ सबैले देखिसकेका छौँ, अस्ताएजस्तै भएको छ । अब हामी मदन भण्डारीको पथमा लाग्ने हो । जिन्दगीमा पनि नअस्ताउने भनेर हामीले उदाउँदै गरेको सूर्य चिह्न लिएका हौँ । उदाउँदै गरेको छ, जिन्दगी अस्ताउँदैन भनेको हो ।’ 

निर्वाचन आयोगको बुधबार बसेको बैठकले नेकपा एमालेलाई सबै कागजात हेरेर प्रमाणपत्र दिने निर्णय गरेको थियो । आयोगका प्रवक्ता श्रेष्ठले भने, ‘बुधबार बैठक बसेर हामीले प्रमाणपत्र दिने निर्णय गरेका थियौँ । उहाँहरूले पेस गरेको कागजपत्र अध्ययन गरेर प्रमाणपत्र दिएका छौँ ।’

आयोगले दिएको प्रमाणपत्रअनुसार उक्त दलको दर्ता नम्बर १६० रहेको छ । पार्टीको पूरा नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) रहेको छ । नाममा कतै पनि कमा, फुलिस्टप राखिएको छैन । राजनीतिक दलको केन्द्रीय कार्यालय कामनपा–१० काठमाडौंमा रहने बताइएको छ । 

नेकपा एमालेका महासचिव उपाध्यायले आयोगले निर्णय गरेपछि आठ–दशजना पदाधिकारी पुगेर प्रमाणपत्र लिएको बताए । उनले नयाँ पत्रिकासँग भने, ‘हामीले प्रमाणपत्र लियौँ, अब पार्टीका क्रियाकलाप अघि बढाउँछौँ ।’ 

पूर्वएमाले नेताहरूसँग निकट व्यक्तिहरूले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेका थिए । नेकपा एमालेमा २१ जना पदाधिकारी रहेका छन् । विराटनगर–६ मोरङ घर भएकी सन्ध्या तिवारी पार्टीको अध्यक्ष छिन् । त्यस्तै, भगवती खड्का उपाध्यक्ष, मनीषकुमार उपाध्याय महासचिव, अस्मिता सुनार सचिवलगायत पदाधिकारी रहेका छन् ।

नेकपा एमाले र माओवादी पार्टी एकता भएको वर्ष दिन नाघिसकेकाले नेकपा एमालेनामक दल दर्ताका लागि बाटो खुलेको थियो । ‘पार्टीको नाम नदोहोरियोस् र कुनै पार्टीको एउटा नाम लिइसकेपछि त्यो नाम अरूले प्रयोग नगरोस् भन्नका लागि एक वर्षको म्याद राखिन्छ । तर, दुई पार्टी एकता भएको एक वर्षपछि नाम भने प्रयोग गर्न सक्छन्,’ आयोग प्रवक्ताले भने । दुई वर्षअघि नेकपा गठन भएसँगै नेकपा एमाले र माओवादी पार्टी भंग भएका थिए । 

पूर्वएमाले नेताहरूसँग निकट व्यक्तिहरूले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेका थिए । मदन भण्डारीको जन्मदिन पारेर उनीहरूले १४ असारमा दल दर्ताको निवेदन दिएका थिए । त्यसपछि यो विषय १६ असारको नेकपाको स्थायी कमिटी बैठकमा ठूलो मुद्दा बनेको थियो । 

उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा नेकपा एमाले दर्ताका लागि निवेदन आएको ठोकुवा गरेका थिए । उनको भनाइ थियो, ‘नेकपा एमाले दर्तामा केपी शर्मा ओलीको हात छ । मसँग प्रमाण छ, सूचना छ, यदि छानबिन भयो भने म उनीहरूलाई बयान दिन तयार छु ।’ नेकपा एमाले दल दर्ताको निवेदन आयोग पुगेपछि एउटा समूहले ओलीले पार्टी विभाजन गर्ने रणनीतिअनुसार नयाँ दल दर्ता गराउन लगाएको आरोप लागेको थियो । 

......

दल दर्ताको प्रमाणपत्र बुझेपछि नेकपा एमालेका महासचिव मनीषकुमार उपाध्यायले भने– जबज हाम्रो सिद्धान्त, हामी मदन भण्डारीका उत्तराधिकारी 

तपाईंहरूले दलको प्रमाणपत्र पनि लिनुभयो, अबको योजना के छ ?

हामीले दलको प्रमाणपत्र लियौँ, त्यो नै ठूलो कुरा भयो । एउटा दल भनेर आयौँ । दलको क्रियाकलाप अघि बढाउन अहिले समस्या छ, संसारभर कोभिड महामारी छ । सामाजिक सञ्जालबाट मात्रै सम्पर्क र सम्बन्ध अघि बढाउनुपर्नेछ । आज पनि हामी पार्टीका सबै केन्द्रीय सदस्य आयोग गएनौँ । प्रमाणपत्र लिन ८–१० जना मात्र पुग्यौँ । अब बिस्तारै संक्रमणलाई पनि ध्यानमा राखेर, आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ भन्दै पार्टीका क्रियाकलाप अघि बढाउँछौँ । अहिले त हामी सोसल मिडियामा एक–अर्काको सम्पर्कमा बसेर नै पार्टी क्रियाकलाप अघि बढाउँछौँ । सातवटै प्रदेशमा पार्टी कमिटी गठन गरिसकेका छौँ । सबै कमिटीमार्फत सबैसँग सम्पर्क गर्दै अघि बढ्छौँ ।

दल दर्ता गर्नुभयो जनताले पत्याउँछन्, केही गर्न सकिन्छ भनेर हो कि रहरले ? 

जनताको विश्वास जित्ने आधार छन् । सबैभन्दा पहिला त नेकपा एमाले पार्टी ठूलो पार्टी र लोकप्रिय पार्टी हो । आज बाउको मुख हेर्ने दिनमा प्रमाणपत्र लियौँ । त्योभन्दा अघि मदन भण्डारीको जन्मोत्सवको दिन पार्टी दर्ता ग¥यौँ । गाँस, वास र कपासले मात्रै नागरिकलाई पुग्दैन । उसको भविष्य सुनिश्चित हुनुप¥यो । कृषकले आफ्नो कामको मुआब्जा लिनुप¥यो । शोषण भएपछि देश चल्दैन । शोषणलाई हटाएर, दलाली प्रथालाई हटाएर अघि बढ्नुपर्छ । शिक्षा, रोजगार, स्वास्थ्यलगायतका चिजलाई ध्यान दिनुप¥यो । सीपको, पसिनाको मूल्य पाउनुप¥यो । यी मुद्दा मूल आधार छन् । यी आधार बोक्छौँ । हामी युवा छौँ, गफभन्दा काम बढी गर्छौँ । 

यी मुद्दा उठाउने अरू पार्टी पनि छन्, तपाईंहरूलाई नयाँ पार्टी नै किन चाहियो ? 

हामी मदन भण्डारीको जबजलाई बोक्छौँ । उहाँको एक–एक बुँदा जनताले मन पराएका थिए । हामी उहाँको आशीर्वाद, एक–एक बुँदालाई लिएर अघि बढ्नेछौँ । अब हामी नै हो मदनको उत्तराधिकारी । हामी राम्रो खाका लिएर जनतासमक्ष जानेछौँ । उहाँहरूले कुरा बुझ्नुहुन्छ । जनताको भविष्य सुनिश्चित हुनुप¥यो । गाँस, वास, कपास हुनुप¥यो । उद्योगधन्दा चल्नुप¥यो । विदेशी चिज लिएर, ब्रान्डेड चिज भनेर लगाएर होइन कि नेपालको उद्योगलाई अघि बढाउनुप¥यो ।

तपाईंहरूले जबज भनिरहनुभएको छ । यही विचारधारा बोकेर एउटा पार्टीले लामो समय राजनीति ग¥यो । अहिले सत्तारुढ दलको एक खेमाले जबजलाई अघि सारेको छ । अब जबज उहाँहरूले अंगीकार गर्नुहुन्न भन्ने निष्कर्ष हो ? 

त्यही नै हो, सबैले देखिरहेकै छौँ । उहाँहरूले जबजको नाम मात्रै लिनुभयो, तर जबजको ‘ज’ पनि छोएर हिँड्नुभएको छैन । उहाँहरूले नाम मात्रै लिनुभयो, काम गर्नुभएन । अब नाम जनताले लिन्छन्, काम हामी गर्छौँ ।

तर, तपार्ईंहरूलाई नेकपाको एउटा खेमाले नै नयाँ पार्टी खोल्न सहयोग गरेको आरोप छ नि ? 

कागले कान लग्यो भन्दैमा कागको पछि लाग्नु गलत हो भन्ने एउटा उखान छ । उहाँ नेताज्यूहरूलाई आफूले छोडेको पार्टी अरूले लियो भनेपछि उहाँहरूको खेमामा नै जोड–बिजोड हुनु त उहाँहरूको गल्ती हो । वनको बाघले खाओस्–नखाओस्, मनको बाघले खायो भन्ने उखान नै छ । हामी कसैको पथप्रदर्शकमा लागेको होइन । हामी पहिलादेखि नै नेकपा एमालेभन्दा पनि जबजबाट प्रेरित भएका हौँ । उहाँले गर्न खोजेको चिज गर्न उहाँले सक्नुभएन, हामी उहाँको हरेक चिज लिएर अघि बढ्छौँ ।

अरू दलसँग एकता गरेरै अघि बढ्नेबारे पार्टीमा के सल्लाह भएको छ ?

एकता गर्नेबारे अहिले छलफल छैन । व्यावसायिक मर्ज राम्रो हुन्छ, राजनीतिक मर्ज कस्तो हुन्छ भन्ने त हामीले देखिरहेकै छौँ । मर्ज गरेर हिँड्ने हाम्रो पार्टीको सिद्धान्त नै छैन । बरु जो आउँछ हामी स्वागत गर्छौँ । उहाँहरूलाई स्थान दिन्छौँ । हामी अहिले कुनै पनि हालतमा एकता गर्दैनौँ, कुनै पनि अवस्थामा गर्दैनौँ ।

संगठन विस्तारको योजना के छ ?

महामारीका कारण अहिले घुमफिर गर्न सक्दैनौँ । ७ प्रदेश कमिटीसँग समन्वय गरेर संगठन विस्तार गर्छौँ । उहाँहरूलाई नै अघि बढाउँछौँ हामी । र, जति पनि नेकपा एमालेलाई मन पराउने थिए, माथिल्लो स्तरले मन पराए पनि तल्लो स्तरले त मन पराएका थिएनन् होला, हामी उहाँहरूलाई पे्ररित गरेर अघि बढ्छौँ । हामी जनताबाट कुरा लिन्छौँ । हामी जनतालाई सल्लाहकार नियुक्ति गर्छौँ । उहाँहरूको सल्लाहले हामी अघि बढ्छौँ । हामी पुलका रूपमा मात्रै बस्छौँ, मुख्य त नागरिक नै हुन् । नागरिकको एक–एक चाहनालाई आँखामा राखेर अघि बढ्छौँ । 

आगामी निर्वाचनमा भाग लिनुहुन्छ ?

निर्वाचनमा भाग लिन्छौँ । पार्टी दर्ता मात्रै ग¥यो भने कसैले उक्साएर गरेको हो कि भन्ने शंका हुन्छ । कुनै पार्टीका अध्यक्ष वा कसैले गर्न लगायो भन्ने शंका हुन्छ, त्यसलाई हटाउनका लागि भए पनि हामी मैदानमा आउँछौँ । भोट त जनताले दिने हुन् ।