मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
डा बाबुराम भट्टराईका पिता भाेजप्रसाद र छाेरी मानुषी
शिल्पा कर्ण काठमाडौं
२०७७ भदौ ३ बुधबार ११:२९:००
Read Time : > 4 मिनेट
फिचर डिजिटल संस्करण

डा. बाबुराम भट्टराई : शान्त छोरा, उत्सुक पिता

Read Time : > 4 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७७ भदौ ३ बुधबार ११:२९:००

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी भर्खरै आमा बनेकी छिन् । पूर्वप्रधानमन्त्री भट्टराईले नाति एक हप्ताको हुँदा सामाजिक सञ्जालमा ६६ वर्षीय आफू, ३४ वर्षीया छोरी अनि ९० पुगेका बाबु भोजप्रसादको फोटा हाले । छाेरा, बुबा हुँदै हजुरबुबाकाे भूमिकामा पुगेका डा. भट्टराई कस्ता छोरा र कस्ता बुबा हुन त ? बुबा भाेजप्रसाद र छाेरी मानुषीसँग गरिएकाे कुराकानी :

बुबा भोजप्रसादको नजरमा शान्त छोरा, फेरि प्रधानमन्त्री भएकाे हेर्ने चाहना 
बाबुराम सानैदेखि पढिरहने र शान्त स्वभावकाे भएकाे भाेजप्रसाद बताउँछन् । उनी भन्छन, 'चकचके त एकदमै थिएन, मेरो बाबुराम । कसैलाई केही दुःख दिएन कहिल्यै पनि ।’ 

कोटेश्वरस्थित कान्छा छोरा शिवप्रसाद भट्टराईको घरमा बस्दै आएका भोजप्रसाद पत्रपत्रिकामा छोराबारेका समाचार हेर्छन् । देशमा के भइरहेछ, रुचिपूर्वक पढ्न सक्नेजति पढ्छन् ।

भन्छन, ‘छाेराकाे बारेमा राम्रै लेखेको देख्छु म त । तर, अचेल त उसकाे बारेमा पहिलेजस्तो धेरै लेख्नै पो छोडिसके ।’ बाबुरामकाे जन्ममिति नागरिकतामा फरक परेको उनले बताए। नागरिकतामा भने ०११ असार ४ लेखिएपनि ०१० सालमा उनी जन्मिएकाे उनी बताउँछन् ।  

बाबुरामलाई कक्षा ३ सम्म गाउँकै भक्तबहादुर भुजेलले पढाए । त्यसपछिको शिक्षा उनले लुइँटेलमा क्रिस्चियन मिसनरीले चलाएको अमरज्योति जनता स्कुलबाट लिएका हुन् । 

‘दुई घन्टा हिँड्नुपथ्र्यो, स्कुल पुग्न । त्यसैले उसलाई मैले भाडा लिइदिएरै राखिदिएँ, भतिजसँगै,’ बाबुरामको पढाइबारे उनले भने, ‘दसैँमा दुई महिना बिदामा घर आउँदा पनि ऊ वस्तुभाउ चराउने वेला किताब सँगै लान्थ्यो, पढिरहन्थ्यो । चकचके त एकदमै थिएन, मेरो बाबुराम । कसैलाई केही दुःख दिएन कहिल्यै पनि ।’ 

बाबुरामले ०२६ सालमा एसएलसी दिएपछि तीन महिना नवलपुरको विद्यालयमा पढाए । तर, एसएलसीमा बोर्ड फस्ट भएको कुरा भने घरमा कसैलाई थाहा थिएन, गाउँतिर भने अलि–अलि चर्चा भइसकेको रहेछ । 

‘बेलुका अबिर लाएर रातै भएर आएको थियो । मैले त कतै लड्यो कि, चोटपटक लागेछ भन्ठानेँ,’ हाँस्दै भोजप्रसादले भने, ‘हामी बुढाबुढी र जेठी छोरी त बेँसी थ्यौँ, खेतमा । रेडियोले उसको नाम भन्या’रछ ।’ एसएलसीमा आफ्नै गाउँको केटो बोर्ड फस्र्ट हुँदा गाउँलेमा खुसीको सीमा थिएन । 

एसएलसीपछि डा. भट्टराई उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आए, त्यसक्रममा गाउँ र आफन्तबाट टाढै रहे । राजनीतिमा लागेर भूमिगत भएपछि परिवारसँग भेटघाटै थिएन । 

भोजराजको चाहना छोराले पैसा कमाओस् भन्ने थियो । छोरो डाक्टर वा इन्जिनियर बनोस् भन्ने इच्छा हुनुको पछाडि कारण थियो, तत्कालीन समाजमा यी पेसाप्रतिको सम्मान । तर, उनले छोरा बाबुरामको इच्छालाई नै आफ्नो इच्छा माने । उनीमाथि कुनै दबाब दिएनन्, मन लागेको कुरा गर्न दिए । 

‘एसएलसीपछि फागुनबाट बाबुरामले स्कुलमा तीन महिना पढाएको हो । त्यसपछि असारमा पढ्न गइहाल्यो, कहिल्यै जागिर खाएन,’ उनले छोराबारे थपे, ‘राजनीतिमा लाग्यो, तर पनि जे गर्दै छ, त्यसमा गुनासो छैन ।’

हिसिलासँगको विवाहबारे पनि उनका पिताले अन्यथा लिएका छैनन् । ‘ब्राह्मण परिवारमा गैरब्राह्मण बुहारी आउँदा बाबुरामकी आमाको भने चित्त दुखेको थियो,’ सुनाउँछन् भोजप्रसाद ।

बाबुरामलाई ऊवेला गाउँलेहरू ‘भट्टराईबाका छोरा’ भनेर चिन्थे । ‘हाम्रो बिहे ९–१० वर्ष छँदा भयो । उसले कम्तीमा पनि १५–१६ वर्षमा गर्छ जस्तो लाग्या’थ्यो, तर गर्न मानेन,’ उनले थपे, ‘पढेको मान्छेले पढेकैलाई बिहे गर्छ भन्ने थाहा थियो । ढिला बिहे गर्छ भन्ने पीर थियो ।’

जब ०५२ मा माओवादीले सशस्त्र संघर्ष सुरु गर्‍यो, माओवादीको खोजी गर्ने सुरक्षाकर्मीले गाउँमा दुःख दिन थाले । त्यसपछि भोजप्रसाद सपरिवार राजधानी आए । तर, शान्तिप्रक्रिया सुरु नहुँदासम्म काठमाडौंमा पनि उनी चैनले बस्न पाएनन् । दिनमा होस् वा राति, प्रहरी आएर सोधखोज गर्थे । भोजराज कान्छा छोरा–बुहारीसँग कोटेश्वरमा बस्ने गर्थे । प्रहरीको केरकारले हैरान बनाउँथ्यो ।

ज्योतिष परिवारमा जन्मिएका बाबुरामको पनि चिना बनाइएको थियो । त्यसवेला ‘ठूलो मान्छे बन्छ’ भनिएकाले पनि छोरोले केहीचाहिँ गर्छ भन्ने रहेछ, भोजप्रसादलाई । अहिले उनी भन्छन्, ‘प्रधानमन्त्रीसम्म भएपछि त ठूलै मान्छे भन्नुपर्‍यो नि !’

एकीकरणपछिको दलमा उनको भूमिकाभन्दा पनि उनलाई फेरि एकपटक प्रधानमन्त्रीका रूपमा देख्न चाहन्छन्, भोजराज । भन्छन्, ‘नयाँ पार्टीको पनि पालो आउँछ कि भन्ने आस छ । छोरोको प्रधानमन्त्री बन्ने पालो फेरि आइदिए हुन्थ्यो भन्ने लागेको छ ।’ 

मानुषीको नजरमा बाबुराम : उत्सुक पिता 
मानुषीलाई पिताका रूपमा बाबुरामले समय दिन नसकेको गुनासो छ भने बाबाट पाएको समय गुणात्मक हिसाबले अमूल्य रहेको उनको बुझाइ छ । 

बाबुरामलाई निरन्तर सक्रिय र उत्सुक व्यक्तिका रूपमा हेर्छिन्, छोरी मानुषी । बुबासँग पहिलोपल्ट अलि लामो समय बिताएकी थिइन्, उनले गोरखामा । ‘म सायद ८–९ वर्षकी थिएँ,’ उनी साढे दुई दशकअघि फर्किन्छिन्, ‘मलाई सन्चो थिएन । तर, बुबासँग गोरखा दरबार घुम्न जाँदा धेरै उकालो चढ्नुपरेको थियो । खुट्टा सुन्निएको थियो ।’

त्यसवेला कानुन व्यवसायी राजेन्द्र ढकालको घरमा वास बसेको सम्झिन्छिन्, उनी । ‘उहाँको कोठा याद छ, मलाई । माथि हामी बसेका थियौँ, तल रेस्टुरेन्ट थियो,’ उनले सम्झिइन्, ‘पछि थाहा पाएँ, जनयुद्ध सुरु हुने वेला ज्यानको के हुने हो, पत्तो थिएन । त्यसैले आफ्ना जग्गा नामसारीका लागि मलाई सदरमुकाम लानुभएको रहेछ ।’ 

मान्छेहरू भेट्न आइरहने, विभिन्न विषयमा छलफल भइरहने भएकाले केही–केही भने बुझ्न थालेकी थिइन् । बा–आमा राजनीतिक कार्यमा व्यस्त हुनुहुन्छ भन्ने थाहा थियो, तर त्यो भनेको के हो, के गर्नुपर्छ भन्ने उनले बाल्यावस्थामा बुझ्न सक्ने कुरै भएन । बाबुराम भूमिगत भएपछि चिठीपत्रका माध्यमबाट बा–छोरीबीच सम्पर्क हुन्थ्यो । 

उनी मावल बसिन् । आफूलाई हुर्काउन आमा हिसिलाको भूमिका बढी छ लाग्छ, उनलाई । तर, त्यसमा आमालाई बुबाले गरेको सहयोग पनि उत्तिकै महत्वपूर्ण छ । प्रायः परिवारमा आमा कोमल मनकी हुन्छिन् भने बुबादेखि डराउने वातावरण हुन्छ । 

मानुषीको हकमा भने उनले बा–आमाबाट गाली खाएको सम्झना छैन । बा–आमा सबै कुरामा एकमत राख्थे । ‘अरूको घरमा बच्चालाई एकजनाले गाली गर्ने, अर्कोले फकाउने हुन्छ । हाम्रोमा आमा–बाबीच सहमति नै भएको रहेछ, त्यसो नगर्ने,’ उनले भनिन् । 

बाल्यकालमा आमा–बा अझ बा बाबुरामसँग नजिक हुन सकिनन्, मानुषी । तर, पत्रमार्फत भने खबर आदान–प्रदान भइरहेको हुन्थ्यो । त्यसअघिका सम्झना मधुरो छन्, उनको मस्तिष्कमा । दसैँमा गोरखा जाँदा हजुरबा भोजप्रसादले पिङ लाइदिन्थे । दसैँ–तिहारको लामो बिदामा गाउँ पुग्दा मक्ख हुन्थिन्, उनी । 

बाबुरामलाई पिताका रूपमा सम्झिनुपर्दा सिनेमा हेरेका दिन पनि स्मृतिपटलमा आउँछन् । फुर्सद भएका वेला राजधानीकै सिनेमा हलमा ‘माचिस’, ‘हुतुतु’ जस्ता फिल्म तीनैजना पुगेर हेरेका छन् । 

मानुषीलाई सम्झना छ, जब बा–आमा उनलाई लिएर पार्टी कार्यालय पुग्थे, त्यतिवेला बाबुराम संयुक्त जनमोर्चाका अध्यक्ष थिए । ‘म आन्दोलन र कार्यक्रममा पनि जान्थेँ । बिस्तारै नेपालको परिवेश, आर्थिक अवस्था, राजनीतिक समस्याबारे बुझ्न थालेँ,’ उनले भनिन् । 

आफ्नो कुरामा अडान लिइरहने, यो मानुषीलाई निकै मन पर्ने बानी हो, बाबुरामको । तत्कालीन माओवादीभित्र रहँदा होस् वा पार्टीबाट अलग भएपछि । या त नयाँ दल खोल्दा होस् वा पार्टी एकीकरणमा, बाबुराम राजनीतिमा सदैव निरन्तर रहे । निरन्तरता उनको विशेषता मात्र नभई सद्गुण हो भन्छिन्, मानुषी ।

बाबुरामले पार्टीमा उचित स्थान नपाएकोमा भने उनलाई दुःख छ । गैरराजनीतिक विषयमा पनि बाबुरामको रुचि उनलाई निकै मन पर्छ । नयाँ कुरा सिक्न, चाहे त्यो राजनीतिसँग सम्बन्धित होस् वा नहोस्, बाबुराम निकै उत्साहित हुन्छन् । विज्ञान, मनोविज्ञान, मनोरञ्जनजस्ता विषयमा चाख लिन्छन् । यसले व्यक्तिगत र राजनीतिक रूपमा आफ्नो बाको उचाइ बढाएको र सहयोग गरेको मान्छिन्, उनी । 

बाबुराम अर्काको जीवनमा हस्तक्षेप बिल्कुलै गर्दैनन् । पार्टीमा पनि उनको व्यवहार यस्तै छ । आफ्ना निर्णय लाद्ने प्रवृत्ति उनमा रत्तिभर छैन । फरक विचार भए राख्छन्, तर अरूलाई जबरजस्ती आफ्नो कुरा मान्न कर गर्दैनन् । मानुषीको विवाहको बारेमा पनि बाबुराम र हिसिला दुवैको विचार यही थियो । 

उनी भन्छिन्, ‘परिवारअनुसार परिवेश फरक हुन्छ र त्यसैअनुसार सम्बन्ध र निकटता पनि । उहाँले व्यक्तिगत सम्बन्धमा निर्वाह गर्नुभएको भूमिका बुबाका हिसाबले मेरो लागि पर्याप्त र राम्रो छ ।’

छोरी मानुषी पनि पार्टीको प्रगति र बाबुरामको राजनीतिक उचाइ बढ्ने आशा राख्छिन् ।