१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ ३ बुधबार ०७:३४:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपालमा संक्रमण कुन अवस्थामा छ ? अझै पनि नियन्त्रणको उपाय के हो ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ ३ बुधबार ०७:३४:००

टेकु अस्पतालका प्रमुख डा. सागर राजभण्डारीलाई तीन प्रश्न

मंगलबार एकैदिन एक हजार १६ संक्रमित पुष्टि भएका छन्, यो अहिलेसम्मको सबैभन्दा ठूलो तथ्यांक हो । यसले नेपालमा संक्रमण कुन अवस्थामा पुगेको छ भन्ने देखाउँछ ? 

कोरोना भाइरसको संक्रमण नेपालमा अहिले समुदायस्तरमा पुगेको छ । स्थानीय संक्रमणभन्दा एक स्टेपमाथि सामुदायिक संक्रमणको चरणमा पुगेको बुझिन्छ । यति भन्दै गर्दा पनि हामी नियन्त्रण गर्न सकिने अवस्थाभन्दा बाहिर पुगिसकेको भन्न मिल्दैन । चौथो चरणमा पुग्न अझै बाँकी छ । सरकारले गम्भीरताका साथ लिएमा कोभिड नियन्त्रण गर्न सम्भव छ । तर, विगतमा जस्तो नाम मात्रैको लकडाउनले कोभिड नियन्त्रणमा अर्थ राख्दैन । कर्फ्यु लगाएर जमघटलाई रोक्नुपर्छ । अहिले जो मान्छे जहाँ छन्, १५ दिनसम्म त्यहाँबाट दायाँ–बायाँ गर्न नदिने हो भने कोभिड धेरै हदसम्म नियन्त्रणमा आउँछ । किनकि १५ दिनमा भाइरस स्वतः निष्क्रिय हुन्छ । जो संक्रमित छन् उनीहरूलाई १५ दिनसम्म हिँडडुल गर्न नदिने हो भने त्यसपछि उनीहरूबाट अरूलाई सर्दैन । यति ठूलो महामारी रोक्न १५ लिन पूर्ण बन्द गर्नु ठूलो विषय पनि होइन । त्यसरी आवागमन पूर्ण रूपमा बन्द गरिएको समयमा पुष्टि भएका केस पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको कामलाई तीव्रता दिनुपर्छ । कसैलाई ज्वरो आए तत्काल पिसिआर गर्ने र आवश्यक परेमा भर्ना गर्न सकिन्छ । त्यसो गरेमा संक्रमणलाई नियन्त्रणमा ल्याउन सकिन्छ । 

नाम मात्रैको लकडाउनले कोभिड नियन्त्रणमा अर्थ राख्दैन । कर्फ्यु लगाएर जमघटलाई रोक्नुपर्छ । अहिले जो मान्छे जहाँ छन्, १५ दिनसम्म त्यहाँबाट दायाँ–बायाँ गर्न नदिने हो भने कोभिड धेरै हदसम्म नियन्त्रणमा आउँछ । किनकि १५ दिनमा भाइरस स्वतः निष्क्रिय हुन्छ । जो संक्रमित छन् उनीहरूलाई १५ दिनसम्म हिँडडुल गर्न नदिने हो भने त्यसपछि उनीहरूबाट अरूलाई सर्दैन ।

अहिले जुन गतिमा फैलिएको छ, जुन शैलीमा काम भइरहेको छ, त्यसले आगामी एक डेढ महिनाको तस्बिर कस्तो देखिन्छ ? 

नियन्त्रण गर्न उपयुक्त उपाय अवलम्बन गर्न सकिएन भने हाम्रो गन्तव्य के हुन्छ, अनुमान गर्न सकिँदैन । केसहरू बढ्दै जाँदा एकबाट थुप्रैमा फैलने दर पनि बढ्दै जान्छ । जुन समय कल्पनाभन्दा बाहिरको हुन्छ । हामीले विगतदेखि नै भन्दै आएका छौँ, नेपालका लागि खराब अवस्था भनेको वृद्धवृद्धा र दीर्घरोगीमा समेत संक्रमण पुग्छ । अबको चरण भनेको त्यही हो । अहिले नै कोभिड अस्पताल भरिएका छन् । जुन वेला बढीभन्दा बढी व्यक्तिलाई अस्पताल आवश्यक पर्छ, त्यो समयमा व्यवस्थापन गर्न कठिन हुनेछ । सबै संक्रमितलाई घरमा बस भन्न सकिँदैन किनकि सहरमा धेरै मान्छेको आफ्नै घर छैन । दुुईवटा कोठा लिएर परिवारसँग बस्ने व्यक्तिलाई संक्रमण भयो भने लक्षण नदेखिए पनि घरमा बस भन्न मिल्दैन । त्यसो गरे त थप संक्रमण फैलाउने जोखिम हुन्छ । त्यसैले सरकारले समुदायमा आइसोलेसन सेन्टर बनाइहाल्नुपर्छ । यो काम संघीय सरकारले मात्र गरेर पुग्दैन, स्थानीय तहहरू सक्रिय हुनुपर्छ । तर, अहिले तीन तहका सरकारको समन्वय एकदमै भएको छैन । 

सरकारले निषेधाज्ञा घोषणा गरिसकेको छ, यसले कोभिड नियन्त्रणमा कति सहयोग गर्ला ? 

निषेधाज्ञाको सही पालना भएमा यसले अवश्य काम गर्छ । स्वास्थ्यका दृष्टिकोणबाट हेर्दा यसले केसहरूलाई नियन्त्रण गर्न मद्दत गर्छ । भिडले थप जोखिम बढाइरहेकाले निषेधाज्ञाले ठूलो काम गर्ने अपेक्षा हामीले गरेका छौँ । योसँगै साबुनपानीले हात नियमित धुने, मास्क अनिवार्य प्रयोग गर्न जरुरी छ । अति विपन्न मान्छेहरू नियमित मास्क किनेर लगाउन नसक्ने अवस्थामा छन् । उनीहरूका लागि मास्कको व्यवस्था राज्यले गर्नुपर्छ । त्यस्तै योबीचमा पनि मान्छेहरू घरैमा विभिन्न कारणले बिरामी हुन सक्छन्, उनीहरूलाई कुनै पनि साधन प्रयोग गरेर अस्पतालसम्म पुग्न सक्ने वातावरण मिलाउनुपर्छ । स्वास्थ्यका विविध पक्षलाई राज्यले सहजीकरण गर्नुपर्छ ।