मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुना कुँवर काठमाडाैं
२०७७ भदौ ३ बुधबार ०६:२७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्वदेश फर्कन विमानस्थल पुगेका २३६ कामदार नलिई फर्कियो नेपाल एयरलाइन्सको जहाज, श्रमिक एयरपोर्टमै अलपत्र

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७७ भदौ ३ बुधबार ०६:२७:००

दुबईमा मजदुरको काम गर्दै आएका सचिराम रोक्काले नेपाल फर्कन तीन महिनाअघि नेपाल एयरलाइन्सको टिकट काटेका थिए । युएईको अबुधाबीस्थित एडमार्क कम्पनीमा काम गर्ने उनले नेपाल एयरलाइन्सबाट मंगलबार बिहान ३ः५५ बजे स्वदेश फर्कने टिकट खरिद गरेका थिए । सोहीअनुसार उनी दुई दिनअघि नै दुबई एयरपोर्ट आए । अबुधाबीबाट दुबई आइपुग्ने साढे २ घन्टा लाग्ने भए पनि स्वदेश फर्कने उमंगमा उनी दुई दिनअघि नै एयरपोर्ट पुगेको बताउँछन् । दुबई आएर उनले स्वास्थ्य परीक्षण पनि गराइसकेका थिए । मंगलबार उडान तालिकाअनुसार सोमबार साँझ ५ बजे उनी साथीहरूसहित विमानस्थल पुगे । तर, सोमबार राति ११ बजेसम्म पनि विमानबारे केही जानकारी आएन । एक्कासि राति १ बजे उडान रद्द भएको उनीहरूले जानकारी भए । जब कि नेपाल एयरलाइन्सको जहाज सोमबार राति १२ बजे दुबई पुगेर मंगलबार बिहान ३ बजे रित्तै फर्कियो । नेपाल फर्कने आसमा रहेका मजदुरहरूलाई विमानस्थलमा छोडेर जहाज फर्किएपछि उनीहरू अहिलेसम्म विमानस्थलमै छन् । ‘बस्ने ठाउँ छोडेर आइसकेँ, अब फर्कने ठाउँ छैन । बाहिर निस्कन पैसा पनि छैन,’ फोनमार्फत रोक्काले भने । 

दुबईको एडमार्क कम्पनीमा काम गर्ने कञ्चनपुरका लक्ष्मण चौधरी विगत आठ महिनादेखि बेरोजगार छन् । तर, लेबर कोर्टले कम्पनीबाट खानपानका लागि केही रकम दिलाइदिएको उनले बताए । सो रकमले खान र न्यूनतम खर्च गर्न पुग्ने उनको भनाइ छ । सोही कारण नेपाल फर्कन उनले घरबाटै ८० हजार मगाएका थिए । सोही रकमबाट उनले नेपाल एयरलाइन्सको टिकट खरिद गरे । मंगलबारको उडान तालिकाअनुसार अन्य आठ नेपाली श्रमिकसहित उनी पनि दुबई विमानस्थल पुगेका थिए । तर, अन्तिम समयमा उडान रद्द भएपछि उनी पनि विमानस्थलमा नै अलपत्र छन् । उनी भन्छन्, ‘विमानस्थलभित्र अब धेरै समय बस्न पाइँदैन होला । सडकमा नै बस्नुपर्छ । हेरौँ सक्ने वेलासम्म बाँचौँला, नत्र मरण यतै होला जस्तो छ ।’ 

रोक्का र चौधरीजस्तै मंगलबार बिहानको उडान (उडान नं. आरए २२९२) बाट नेपाल फर्कन दुबई विमानस्थल पुगेका २३६ नेपाली श्रमिक अहिले अलपत्र परेका छन् । नेपाल फर्कने आसमा सबै सामान र कोठा छोडेर विमानस्थल पुगेका श्रमिकहरूको अब फर्कने ठाउँ पनि छैन । कतिपय श्रमिक लामो दूरी तय गरी दुबई विमानस्थल पुगेका छन् । अहिले आफूसँग खाने पैसासमेत नभएको उनीहरू बताउँछन् । निगमलाई दुबईको विमानस्थलमा आइसकेका यात्रु ल्याउन रोकेको सरकारले टर्किस एयरलाइन्समा युरोपका विभिन्न देशबाट आएका नेपाली यात्रुलाई भने आउन अनुमति दिएको छ । टर्किस एयरलाइन्स दुई सय एक यात्रु लिएर मंगलबार दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

खाडी र मलेसियाका ३१ उद्धार उडान रद्द, टिकट काटेका कामदार अन्योलमा

सिसिएमसीको निर्णयसँगै मलेसियाबाट काठमाडौंका लागि तय गरिएको तीनवटा उडान रद्द भएका छन् । मलेसिया दूतावासले १९, २० र २१ अगस्टका लागि तय गरेको उडानका लागि श्रमिकहरूले टिकट काटिसकेका थिए । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले उडान रद्द गर्न आग्रह गरेपछि मलेसियाबाट हुने चार्टर्ड उडान रद्द भएका हुन् । मलेसियाबाट १९ अगस्टमा नेपाल एयरलाइन्सबाट २ः४५ को उडान तय भएको थियो । त्यस्तै, २० अगस्टमा नेपाल एयरलाइन्सकै बिहान ४ः४० को तथा २१ अगस्टमा हिमालयन एयरलाइन्सको बिहान ७.५५ र मालिन्दो एयरको १२.३० मा उडान थियो । 

त्यस्तै, कतारबाट १७ अगस्टमा तय भएको हिमालयन एयरलाइन्सको उडान रद्द भएको छ । २३ र २९ अगस्टमा हुने भनिएको उडानका लागि भने दूतावासले प्राथमिकता सूची भने प्रकाशित गरेको थिएन । त्यस्तै, साउदी अरबबाट काठमाडौंका लागि तय भएका सातवटा उडान रद्द भएका छन् । दूतावासले २० अगस्टमा दमामदेखि काठमाडौंका लागि हिमालयन एयरलाइन्सको उडान तय गरेको थियो । २३ अगस्टमा दमामबाट नै नेपाल एयरलाइन्सको र हिमालयन एयरलाइन्सको उडान तालिका थियो । २६ अगस्टमा नेपाल एयरलाइन्सको रियाद र हिमालयन एयरलाइन्सको दमाममा उडान तालिका रहेको थियो । २८ अगस्टमा नेपाल एयरलाइन्स रियाद र हिमालयन एयरलाइन्सको दमाम उडान तालिका तय भएको थियो । त्यस्तै, कुवेतको भने २२ अगस्टका लागि तय गरिएको तीनवटा चार्टर्ड उडान रद्द भएको कुवेतका लागि नेपालका राजदूत दुर्गाप्रसाद भण्डारीले बताए । उनका अनुसार कुवेतबाट २२ अगस्टका दिन नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, जजिरा एयरवेजको उडान तालिका निश्चित भएको थियो । 

युएईबाट १७ देखि ३१ अगस्टसम्म १५ वटा उडान तय भएका थिए । जसमा नेपाल एयरलाइन्सको ६, हिमालयन एयरलाइन्सको चार, एयर अरेबियाको दुई, फ्लाई दुबईको दुई, इतिहाद एयरवेजको एक उडान तालिका निश्चित भइसकेको थियो । सोहीबमोजिम श्रमिकहरूले समेत टिकट खरिद गरिसकेका थिए । यी उडान पनि रद्द भएका छन् । 

काठमाडौंमा पर्याप्त क्वारेन्टाइन बनेपछि उडान सुरु हुन्छ : महेन्द्रप्रसाद गुरागाईं, संयोजक, सिसिएमसी

मन्त्रिपरिषद्को निर्णयअनुसार विदेशबाट आउने नागरिकको अनिवार्य पिसिआर परीक्षण गर्नुपर्ने र त्यसका लागि सात दिन काठमाडौंमा नै बस्नुपर्ने हुन्छ । तर, काठमाडौंमा तत्काल क्वारेन्टाइनको व्यवस्थापन भइसकेको छैन । जसकारण हामीले उडान स्थगित गर्नुपरेको हो । क्वारेन्टाइनको व्यवस्थापन गर्न उपत्यकाका जिल्ला प्रशासन कार्यालयमा भनेका छौँ । सबै व्यवस्था हुनेबित्तिकै हामी परराष्ट्र मन्त्रालयलाई खबर गर्छौँ । त्यसपछि उडान फेरि सुरु हुन्छ ।