मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डा. सुरेन्द्रकुमार झा
२०७७ भदौ ३ बुधबार १४:००:००
Read Time : > 6 मिनेट
ब्लग डिजिटल संस्करण

जनता समाजवादी पार्टीको भावी कार्यदिशा

Read Time : > 6 मिनेट
डा. सुरेन्द्रकुमार झा
२०७७ भदौ ३ बुधबार १४:००:००

जनता समाजवादी पार्टी नेपाल (जसपा) देशको सबैभन्दा कान्छो पार्टी हो । जसपा नेपाल अहिलेसम्म फगत घोषणामै सीमित रहेको भन्दा अतिशयोक्ति नहोला, किनकि पार्टी निर्माणको प्रक्रिया जारी नै छ । गत वैशाख १० गते घोषणा भएको जसपा नेपाल देशको वैकल्पिक शक्ति बन्ने उद्घोष गरेको छ । हुन त यो पार्टीको निर्माण विशेष परिस्थितिमा आवश्यकताको सिद्धान्त अनुरूप भएको थियो । समाजवादी र राष्ट्रिय जनता पार्टीको एकीकरण भनिए पनि करिब एक दर्जन स–साना पार्टीको एकीकरण हो, जसपा नेपाल । तसर्थ यसको एकीकरण प्रक्रियाले अलिक समय लिने नै छ । सोचेजस्तो जादुको भरमा समायोजन कार्य सम्पन्न हुन गाह्रो छ । 

दुईवटा संरचनागत त्रुटि रहेको धर्मराउँदै गरेको र ठेचोको भरमा उभिरहेको घरहरूबीच एकीकरण भएको हुँदा दुइवटै घरहरूमा रहेको उपयोगी सामग्री र राम्रा निर्माण सामग्री एकत्रित गरी पूर्णतया जसपा नेपाल नयाँ घर निर्माण गर्नुपर्ने थियो, तर गत ४ महिनाको अनुभव एवं पहिलो केन्द्रीय कार्यकारिणी बैठकको नतिजालाई आधार मान्ने हो भने पुरानो क्षतिग्रस्त घरहरूलाई नै रंगरोगन तथा मर्मत–सम्भार गर्ने कार्यदिशा नेतृत्वले लिएको देखिन्छ । जुन वैकल्पिक शक्ति बन्ने स्पिरिटविपरीत हो । 

जसपा नेपालमा विभिन्न विचार समूहबाट शिक्षित–दीक्षित तथा अनुभव बटुलेका नेतृत्व समूहको अबद्धता देखिन्छ । लोकतान्त्रिक आन्दोलनहरूको नेतृत्व गरेका देशकै अग्रज नेता महन्थ ठाकुर, हिंसात्मक कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेका डा. बाबुराम भट्टराई, कम्युनिस्ट विचारधाराको नेतृत्व गरेका जनजाति पृष्ठभूमिका अशोक राई, कम्युनिस्ट पार्टीहरूमा काम गरेका तर मधेस आन्दोलनले स्थापित गरेका उपेन्द्र यादव, मधेस र मधेसीको अधिकारका निम्ति संघर्षरत सद्भावना पार्टीका राजेन्द्र महतोलगायत नेताहरू पार्टीको अग्रणी पंक्तिमा देखिन्छन् भने जनयुद्ध, मधेस–थरुहट आन्दोलनबाट स्थापित दर्जनौं नेताहरू दोस्रो पंक्तिमा देखिन्छन् ।

वस्तुपरक भएर विश्लेषण गर्ने हो भने जसपाको नेतृत्व वर्ग आ–आफ्नो पुरानो घर परित्याग गरी नयाँ घर निर्माण गर्दै र भत्काउँदै एकपटक पुनः जसपा नेपाल नामक चौतारी निर्माण गर्न सफल भएको देखिन्छ । गत डेढ दशकको इतिहास हेर्ने हो भने करिब–करिब प्रत्येक निर्वाचनमा एउटा नयाँ पार्टी निर्माण गरी चुनाव लड्ने र तत्पश्चात् सत्ताभोगकै लागि पार्टी फुटाउने वा विघटन गर्ने परम्परा नै कायम भएको देखिन्छ । जुन लक्ष्यका लागि पार्टी निर्माण गरिन्छ, त्यो प्राप्त नहुँदै पार्टी विघटन हुने इतिहास मधेसको राजनीतिमा देखिन्छ । तसर्थ जसपा नेपाल अहिले चौतारी मात्रै हो, घर बनिसकेको छैन । ०७९ को निर्वाचनलाई मध्यनजर गर्दै जसपा नेपाल चौतारीमै मात्र सीमित हुनुहँुदैन, यो आउने पुस्ताका लागि दीर्घकालीन कलाहरूले सम्पादित घर बन्नुपर्छ । 

जसपा नेपालको नेतृत्व तहमा देखिएको विविधता नै पार्टीको ठूलो पुँजी रहेको कुरालाई नकार्न सकिँदैन र जसपा विभिन्न विचारसमूहको मेल्टिंग पोट बन्न सक्नुपर्छ । यो हिमाल, पहाड र तराई–मधेसको विविधता झल्किने सप्तरंगी इन्द्रेणी भएर अगाडि बढ्नुपर्छ । विविधतामा एकताको परिचायक र नवोदित राष्ट्रिय एकताको प्रतीक जसपा नेपाल बन्नुपर्छ ।

अर्कोतिर, नेतृत्वमा रहेको उच्च मनोकांक्षा, स्वेच्छाचारिता, कार्यशैलीगत भिन्नता, निषेधको मनोविज्ञान हाबी भएर आयो भने यो नै जसपा नेपालको सबैभन्दा ठूलो चुनौती पनि हुनेछ । नेतृत्व वर्गको विगतको पृष्ठभूमि हेर्दा यसको सम्भावनालाई नकार्न सकिन्न । करिब दुईतिहाइ नजिकको संख्या प्राप्त नेपाल कम्युनिस्ट पार्टीको सरकार जनप्रिय हुन सकेको छैन । भ्रष्टाचारको कान्डैकान्डमा मुछिएको छ ।

जनतालाई सुशासनको प्रत्याभूति दिन सकिराखेको छैन भने अर्कोतिर प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेस नेता व्यवस्थापनमै रुमल्लिएको देखिन्छ । नीतिगत कुरामा पार्टीको धार प्रस्ट छैन । सरकारसँगै रहेको सन्देश जनतामा प्रवाहित रहेको अवस्थामा जसपाका लागि वैकल्पिक शक्ति बन्ने एउटा उर्वर परिस्थिति बन्दै आएको पनि देखिन्छ ।

जसपा नेपाल समाज रूपान्तरणको एजेन्डा बोकेर नवीन विचारहरूसाथ नयाँ नेतृत्वका साथ जनताको बीच जान सक्नुपर्छ । जसपा नेपाल नेपाली जनताको आकांक्षा पूरा गर्न सक्ने, सुशासनको प्रत्याभूति दिन सक्ने, नागरिक समानता कायम गर्न सक्ने नवीन क्षमता भएको नवीन घर हो भन्ने विश्वास जनतालाई दिलाउन सक्नुपर्छ ।

जसपाले पार्टीको दोस्रो तहको युवा नेतृत्व, जसले मुस्ताङदेखि मधेस बुझेको छ, जो राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरको आर्थिक, सामाजिक, राजनीतिक आयामहरूको दख्खल रख्छ, तिनलाई प्रोजेक्ट गर्न सक्नुपर्छ । हाल जसपाको नेतृत्वमा देखिएका अनुहारहरू नेपाली समाजका लागि नयाँ होइनन् । पटक–पटक राज्यसत्ता सञ्चालनको अभिभारा पाइसकेकाहरू नै छन् । उनीहरू कुनै न कुनै रूपले बारम्बार परीक्षण भइसकेकाहरू नै छन् । तिनै अनुहारबाट देशको जनसंख्याको करिब ५० प्रतिशत युवालाई आकर्षित गर्न सकिँदैन ।

अहिलेको पुस्ता आफ्नो प्रतिनिधित्व आफ्नै उमेर समूहका नेताले गरून् भन्ने चाहना राख्छन् । तसर्थ जसपाले पार्टीभित्र रहेका नयाँ अनुहारलाई प्रोजेक्सन गर्नमा कन्जुस्याइँ गर्नु हुँदैन । जसपाको नेतृत्ववर्गमा करिब–करिब ६५ वर्ष वा त्योभन्दा बढी उमेर समूहका नेताहरू छन्, जसले सामाजिक रूपान्तरणको नवीनतम आयामहरूको परिकल्पना गर्न सक्दैनन् भन्दा अतिशयोक्ति नहोला । परम्परागत कार्यशैली र सोचले वैकल्पिक शक्ति निर्माण हँुदैन भन्ने आत्मसात् हुनुपर्छ । 

वर्तमानमा जसपा नेपालको आधार क्षेत्र तराई–मधेस हो । मधेसको जनताको विश्वास र बलिदानीले यो पार्टीको जन्म भएको यथार्थलाई आत्मसात् गर्न आवश्यक देखिन्छ । मधेसको मतदान र बलिदानीको आधारमा थुप्रै गैरमधेसी नेताहरू सांसद भएका छन्, जुन नराम्रो पनि होइन । तर, महत्वपूर्ण कुरा के हो भने मधेसबाट प्राप्त शक्ति र त्यसको लाभांशको केही प्रतिशत मात्रै हामी गैरमधेसी नेतृत्वमा लगानी गर्न सक्छाँै, अन्यथा मधेस समुदायमाथि अन्याय हुन जान्छ ।

अर्कोतिर परम्परागत पार्टीहरूले त सदियौँदेखि मधेसलाई उपयोग गर्दै आइराखेको तितो यथार्थ हाम्रा सामु व्याप्त नै छ । तसर्थ वैकल्पिक शक्ति हुन न्यायसंगत अवसरहरूको बाँडफाँड हुनुपर्छ । मधेसको लाभांश प्राप्त गरी शक्तिमा पुगेकाहरू मधेस मुद्दाप्रति इमानदार हुन त्यत्तिकै आवश्यक छ । जसरी मधेस गैरमधेसीलाई मधेस र पार्टीमा स्थापित गराउन सफल भएको छ, ठीक त्यस्तैगरी गैरमधेसी नेतृत्व वर्गले मधेसीलाई हिमाल, पहाडमा स्थापित गर्ने सामथ्र्य देखाउनुपर्छ ।

तराई– मधेस लोकतान्त्रिक भूमि हो, जसले हरेक कालखण्डमा गैरमधेसीलाई स्वीकार गरेको इतिहास । के हिमाल, पहाडले त्यो स्वीकारोक्तिको फरासिलो मनोविज्ञान निर्माण गर्न सक्छ त ? जसपाले सक्छ भन्न सक्नुपर्छ र गरेर देखाउनु पनि पर्छ, अनि मात्रै वैकल्पिक शक्ति बन्ने लक्ष्य पूरा हुन्छ । जसपाले मधेस र मधेसीको भावनालाई शिरोधार्य गर्न चुक्यो भने यसको अस्तित्व नै धरापमा पर्ने निश्चित देखिन्छ ।

मधेसको राष्ट्रियतालाई स्थापित गर्ने अभियानमा इमानदारिता र नागरिक समानताको लडाइँलाई जसपाले अगुवाइ गर्न सकेन भने मधेसको जनसमर्थन गुमाउने निश्चित देखिन्छ । तसर्थ जसपाले मधेसको मुद्दालाई राष्ट्रियकरण गर्ने कुराको अगुवाइ गर्नुपर्छ । हिमाल, पहाड र तराई–मधेसबीच सन्तुलन ल्याउने कार्य जसपाले गर्नुपर्छ ।

जसपाको पहिलो केन्द्रीय कार्यकारिणी बैठक नुनविनाको खिचडी पकाउन सफल भएको छ । जसपाले तत्काल गर्नुपर्ने कार्यहरू यस प्रकार छन् 

क) पार्टीको केन्द्रीय संरचनाको अविलम्ब पूर्णता : पार्टीको विधानअनुरूप पार्टीले बढीमा एक महिनाभित्र केन्द्रीय संरचनालाई पूर्णता दिनुपर्छ । केन्द्रीय कार्यसमिति, सचिवालय, राजनीतिक समिति, राष्ट्रिय परिषद्, मुख्य– मुख्य भ्रातृ संगठनहरूको चयन एवं पूर्णता दिनुपर्छ । यो कार्य सम्पादन गर्दा भागबन्डा (जुन अहिले चलिराखेको छ) आधारमा नगरी दक्षता, क्षमता र संघर्षको इतिहास एवं समावेशिताका आधारमा गर्नुपर्छ । पार्टीले मान्ने संघीय संरचनाअनुरूप पार्टीको संरचनामा प्रतिनिधित्व हुने गरी यस कार्यलाई पूर्णता दिनुपर्छ । अब पनि ११ वटा पार्टीकै आधारमा अगाडि बढ्नुहँुदैन । हाल जसपामा आबद्ध सम्पूर्ण नेता–कार्यकर्ता जसपाका हुन् भन्ने ठानेर जिम्मेवारी दिनु श्रेयष्कर हुनेछ । समायोजनको खाका तत्काल तयार गरी लागू हुनुपर्छ ।

समायोजन गर्दा पार्टीको हरेक साधारण सदस्यले आफूलाई सुरक्षित अनुभूति गरोस् । प्रादेशिक, जिल्ला, क्षेत्र, पालिका र वडास्तरसम्मको समायोजन महाधिवेशनलाई मध्यनजर गरी गर्नुपर्छ । जसले गर्दा पार्टीको महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गर्न सकियोस् । अहिले ५१ जनाको केन्द्रीय कार्यकारिणी समिति मात्रै निर्माण गरी पार्टीको क्रियाकलाप अगाडि बढाउने जुन प्रयास गरिएको छ, त्यो ठीक हो । तर, यस्तो अवस्थामा लामो समय पार्टीलाई राख्नुहँुदैन । हजारौँ नेता–कार्यकर्ताले आफूलाई तिरस्कृत महसुस गर्न सक्छन्, तसर्थ समायोजनको प्रक्रिया छिटो आरम्भ गर्नुपर्छ । 

ख) सुशासनको प्रत्याभूति : जसपा नेपालले सुशासनलाई पार्टीको मूल नीतिमा राख्नुपर्छ । पार्टीभित्र र बाहिर भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ । देशमा भइराखेको भ्रष्टाचारविरुद्ध अभियान चलाउनुपर्छ । संघीय सरकारलाई जवाफदेही बनाउनुपर्छ । कोरोनाको चुनौती सामना गर्न पार्टीको सम्पूर्ण निकाय परिचालन गरी स्वयंसेवकको भूमिका निर्वाह गर्नुपर्छ । संघीय सरकारलाई सर्वसुलभ सेवा प्रदान गर्न दबाबमूलक कार्य सञ्चालन गर्नुपर्छ । जसपाले नेतृत्व गरेको प्रदेश २ को सरकारबारे जनस्तरबाटै अनियमितता, अपारदर्शिता र अलमलमा परेको अवाज उठिराखेको हुनाले पार्टीले सत्यतथ्य जनतासामु ल्याउने साहस गर्नुपर्छ । राम्रो गर्नेलाई पुरस्कृत गर्ने तथा नराम्रो गर्नेलाई दण्डित गर्न सक्नुपर्छ ।

प्रदेश २ सरकार सुशासन, पारदर्शिता र जवाफदेहिताको सन्देश प्रवाह गर्न सफल भयो भने त्यसको लाभ पार्टीले आउने चुनावमा प्राप्त गर्न सक्छ । ठीकविपरीत अहिले उठेका सवालको निरूपण राम्रोसँग गर्न सकिएन भने दुई–चार व्यक्ति धनी होलान् ,तर समग्र पार्टीलाई क्षति हुने निश्चित छ । जसपाले नेतृत्व गरेको स्थानीय तहहरूमा केही साझा कार्यक्रमको तर्जुमा पार्टीस्तरबाटै गरी लागू गर्ने निर्देशन दिनुपर्छ, जसले गर्दा जसपाको प्राथमिकताका विषयहरू जनताले थाहा पाउनेछन् । साथै यी कार्यक्रम दीर्घकालीन विकासको लक्ष्यसँग मेल खाने हुनुपर्छ । स्थानीय तहको नेतृत्वको योजना तर्जुमा, कार्यान्वयन र जवाफदेहितासम्बन्धी क्षमता अभिवृद्धिका कार्यक्रम तत्काल सञ्चालनमा ल्याउनुपर्छ । प्रत्येक स्थानीय तहमा पार्टीको प्रभारी तोक्नुपर्छ, जसले स्थानीय तहको नेतृत्व र पार्टीको नेतृत्वबीच पुलको कार्य गर्नुका साथै स्थानीय तहहरूको क्रियाकलाप नियमन गर्ने कार्य गर्नेछ । स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने हँुदा राम्रो कार्य सम्पादन गर्न सफल भए पार्टीको जनमत निर्माण हुने कार्यमा समेत सहयोगी हुनेछ ।

ग) कोरोना महामारीको चुनौती र आर्थिक रूपान्तरण : जसपा नेपालले कोरोना महामारीको चुनौतीलाई कसरी सामना गर्ने कुरालाई प्राथमिकतामा राखेर पार्टीले नेतृत्व गरेको प्रदेश २ को सरकार र जसपाको नेतृत्वमा रहेको सम्पूर्ण स्थानीय तहमा नीति एवं कार्ययोजना तर्जुमा गर्नुपर्छ, साथै जनताको हितलाई सर्वोपरी ठानेर जनकल्याणका कार्यक्रम ल्याउन सक्नुपर्छ । संघीय सरकारभन्दा राम्रो कार्य गरेर देखाउने साहस गर्नुपर्छ, जुन सम्भव पनि छ । अहिलेको आर्थिक वर्षमा दीर्घकालीन विकासभन्दा मानवको ज्यानको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्छ ।

अर्कोतिर पोस्ट पेन्डेमिक आर्थिक अवस्था के हुने र त्यसको सामना कसरी गर्ने भन्ने विषयमा समाजका हरेक क्षेत्रका व्यक्तिसँग छलफल गरी आर्थिक क्षेत्रको रिफर्मको लागि नीति बनाएर सामूहिक प्रयासबाट प्रदेश २ मा लागू गर्नुपर्छ । खास गरी प्रदेश २ ले कृषि उत्पादनलाई केन्द्रबिन्दुमा राखेर किसानसँगको सहकार्यमा रोजगारीका अवसरसमेत अभिवृद्धि गर्न सक्छ । जनतालाई भोकमरीबाट जोगाउन सकिन्छ । विश्वको अर्थतन्त्र करिब ८ प्रतिशतले खुम्चिसकेको छ । नेपालीको रोजगारीको क्षेत्र मिडिलइस्ट आर्थिक मन्दीबाट गुज्रिने निश्चित रहेको अवस्थामा बेरोजगारी वृद्धि हुने निश्चित देखिन्छ । जसपाले नेतृत्व गरेका स्थानीय तहलाई समेत कृषिक्षेत्रलाई प्राथमिकतामा राखेर योजना तर्जुमा गर्न लगाउनुपर्छ । 

घ) शिक्षाक्षेत्रबारे ठोस नीति : कोरोनाले गर्दा शिक्षाक्षेत्र पूर्णतया तहसनहस भएको छ । संघीय सरकारको शिक्षा मन्त्रालय र मन्त्री पूर्णतया अलमलमा परेको देखिन्छ । शिक्षामन्त्रीले घोषणा गरेको कुनै कार्ययोजना संघीय सरकारले लागू गर्न सकेनन् । प्रवेशिका परीक्षा र कक्षा १२ को परीक्षा सरकारले गराउन सकेन, युनिभर्सिटीहरूले समेत परीक्षा लिन सकेनन् । कतिपय कोर्सहरूको वार्षिक क्यालेन्डर नै समाप्त हुने देखिन्छ ।

निजी विद्यालय र कलेजहरूमा कार्यरत करिब १५ लाख जनशक्ति बेरोजगार भएको ५ महिना भइसकेको छ । संघीय सरकारले ठोस रूपमा कुनै नीति अगाडि सार्न नसकिराखेको अवस्थामा जसपाले विद्वत्वर्ग, निजी विद्यालयका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधि, शिक्षक र अभिभावकसँग भर्चुअल रूपमा बहस चलाई तत्काल एउटा ठोस नीति तर्जुमा गरेर लागू गर्न संघीय सरकारलाई दबाब दिनुपर्छ । निजी शिक्षाक्षेत्रमा कार्यरत जनशक्तिलाई आधा भए पनि पारिश्रमिकको व्यवस्था गर्न लगाउनुपर्छ । विद्यार्थीको शिक्षा कुनै पनि बहानामा बन्द गरिनुहँुदैन । राज्यले भर्चुअल सिकाइका लागि बन्दोबस्ती गर्न सक्नुपर्छ । कोरोनाबाट मुक्त हुने कहिले हो भन्ने निश्चित नभएको अवस्थामा शिक्षाक्षेत्र तहसनहस हुनबाट जोगाउनुपर्छ । 

झा जसपा नेपालका केन्द्रीय सदस्य हुन् ।