१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गगन अयडी 
२०७५ पौष ३ मंगलबार १५:११:००
Read Time : < 1 मिनेट
प्रदेश

गौमुलमा ‘देशका लागि दुई दिन’ समृद्धिका लागि जनश्रमदान अनिवार्य

Read Time : < 1 मिनेट
गगन अयडी 
२०७५ पौष ३ मंगलबार १५:११:००

बाजुराको गौमुल गाउँपालिकाले हरेक घरलाई महिनाको दुई दिन जनश्रमदान गर्नु पर्ने निर्णय गरेको छ । ‘देशका लागि दुई दिन’ कार्यक्रमअन्तर्गत महिनाको दुई दिन जनश्रमदान गर्नु पर्ने नियम बनाइएको हो ।

देश निर्माण र समृद्धिको अभियान आफैले सुरु गर्ने उद्देश्यसहित प्रत्येक परिवारलाई गाउँपालिकाको विकासमा लगानी गर्न कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए । गाउँपालिकाकाे २५ सयभन्दा बढी परिवारले महिनाको दुई दिन अनिवार्य गाउँपालिकाको काम गर्नु पर्ने अध्यक्ष रोकायाले बताए । 

सुविधाबाट वञ्चित गरिने

काम नगर्ने र काम छल्ने परिवारलाई गाउँपालिकाले दिने सेवा–सुविधाबाट वञ्चित गर्नेछ । जनश्रमदानलाई कडाइ गरिएको गाउँपालिकाका उपप्रमुख सीता थापाले बताइन् । यो कदमले गौमुल देशकै समृद्ध गाउँपालिका हुने उपप्रमुख थापाको विश्वास छ । 

बैठकबाटै निर्णय

गाउँपालिका, संघीय तथा प्रदेश सरकारबाट निर्माण हुने योजना र स्थानीय सार्वजनिक सरोकारका काममा दुई दिन निःशुल्क काम गर्नु पर्ने निर्णय गाउँ कार्यपालिकाको २२ औँ बैठकले गरेको हो । राज्यको लगानीले मात्र गाउँ र समाजको उन्नति नहुने भएकाले सुरुवातमा कार्यक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष रोकायाले बताए । महिनाको ३० दिन काम गर्दा २८ दिनको ज्याला पाउने र दुई दिन श्रमदान गर्नु पर्ने नीतिमै उल्लेख गरिएको छ ।

लगानी र अनुदानमा बनिरहेका संरचनामा मात्र नभई गाउँ सरसफाइ, विद्यालय स्तरोन्नति, वन सुरक्षा, पानीका मुहान सफाइ आदि कार्यमा अनिवार्य जनश्रमदान गर्नु पर्ने नीति गाउँपालिकाले बनाएको वडा नम्बर १ का वडाध्यक्ष बलबहादुर रोकायाले बताए ।

समाजमा विकासप्रति अपनत्व गराउन र ‘विकास मेरा लागि हो, मैले पनि केही गर्नुपर्छ’ भन्ने भावना विकास गराउन यो योजनालाई अनिवार्य गरिएको गाउँपालिकाको भनाइ छ । गाउँपालिकामा रहेका सबै घरधुरीले श्रमदान गरे नगरेको वडा कार्यालय र वडा कर्मचारीले निगरानी राख्नेछन् ।